मंसिर १ गतेदेखि रुपन्देहीको तिलोत्तमामा व्यापार मेला हुने – Nepal Press

मंसिर १ गतेदेखि रुपन्देहीको तिलोत्तमामा व्यापार मेला हुने

रुपन्देही । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सव हुने भएको छ । सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ वयापार मेला आयोजना गर्न लागिएको हो ।

मंसिर १ गतेदेखि मेला सञ्चालन हुने तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक गुणनिधि भण्डारीले बताए ।

प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायिकीकरण, पर्यटनको सम्भावनासँगै पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने संघका अध्यक्ष भण्डारीले बताए ।

मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयां प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्वन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया गरिने अध्यक्ष भन्डारीले जानकारी गराए । मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३ सय स्टल रहने छन् ।

मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकारहरुको सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिता हुनेछन् ।

मेला संचालनका संघका अध्यक्ष गुणनिधी भन्डारीको संयोजकत्वमा ५५५ सदस्यीय मुल समिति, सल्लाहाकार समिति र विभिन्न उपसमिति गठन गरिएको छ । तिलोत्तमा–५ मणिग्राममा संचालन हुने महोत्सवका लागि प्रदर्शनी स्थलमा सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्टल, गेट तथा अन्य निर्माणको काम भैरहेको छ । मेलामा ३ सय स्टल रहने बताइएको छ ।

१२ दिनसम्म चल्ने मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड आर्थिक कारोवार हुने आयोजकहरुले बताएका छन् । १२ दिनसम्म सञ्चालन गरिने मेलाको प्रमुख आकर्षणको रुपमा विगतमा जस्तै परम्परागत शैलीको उखु पेल्ने र खुदो वनाउने उपकरण राखिने छ ।

मेला अवलोकनका लागि ८० रुपैंयाँ टिकट शुल्क निर्धारण गरिएको छ भने बिद्यार्थीलाई परिचय पत्रको आधारमा ४० र ७० वर्ष माथिका ज्येष्ठ नागरिक र ५ वर्षमुनिका बालबालिका तथा अपाङ्गता भएका नागरिकलाई निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ ।

सरकारले तिलोत्तमा नगरपालिका घोषणा गरेलगत्तै २०७१ सालमा स्थापित तिलोत्तमा उद्योग बाणिज्य संघले २०७३ सालमा पहिलो पटक र २०७६ सालमा दोस्रो औद्योगिक व्यापार मेला गरेको थियो । त्यसको अनुभव र सिकाईबाट संघले अहिले त्यसैको परिस्कृत रुपमा तेस्रो औद्योगिक व्यापार मेला गर्न लागेको हो ।

स्थायी मेला स्थलका लागि तिलोत्तमा उद्योग वाणिज्य संघले नगरपालिकासंग माग गरिएको छ । स्थायी मेला स्थल नहुँदा स्टल लगायतका संरचना निर्माणमा निजी क्षेत्रको लाखौं रुपैयां खर्च हुने गरेको अध्यक्ष गुणनिधि भण्डारीले बताए । निर्माणका क्रममा हुने यो खर्च कम गर्नका लागि पनि स्थायी मेला स्थलको आवश्यक्ता खड्किएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *