संघर्षमा हारेकी दीपाशा, किन मारिन् सबै आशा ?
आर्थिक समस्यामा थिइन्, भिडिओ कल गर्दागर्दै विष पिइन्


काठमाडौं । संघर्षशील पृष्ठभूमिकी कलाकार दीपाशा बीसीले अन्ततः जिन्दगीसँग हार खाइन् । ऋणको दलदलमा फसेकी उनले यसबाट उम्किने बाटो नदेखेपछि कठोर निर्णय लिएको आशंका निकटस्थहरुले गरेका छन् । यद्यपि, योमात्रै कारण नहुन सक्छ ।
दीपाशा अघिल्लो दिनसम्म म्युजिक भिडिओको सुटिङमा थिइन् । विष सेवन गरेकै दिन पनि उनले फेसबुकमा सुटिङका तस्वीरहरु शेयर गरेकी छन् । तर, उनको मनमस्तिष्क भने धेरै दिनदेखि स्थिर र शान्त थिएन । फेसबुकमा लेखेका केही स्टाटसहरुले नै उनी निराशा र हताशाबाट गुज्रिरहेकी थिइन् भन्ने बुझिन्छ ।
४-५ महिनाअघि मात्रै टुटेको प्रेम सम्बन्धले दिएको घाउ विसेक भइसकेको थिएन । तर, त्योभन्दा बढी उनलाई पिरोलिरहेको थियो आर्थिक समस्याले । उनले यसबाट निस्किने उपाय पहिल्याउन सकिरहेकी थिइनन् । धेरै जनासँग हारगुहार गरे पनि सोचे जस्तो सहयोग पनि पाउन सकिनन् । उनी दिनदिनै विक्षिप्त बनिरहेकी थिइन् ।
काठमाडौंमा भाडाको फ्ल्याटमा आफ्नो भाइ र बहिनीसँग बस्दै आएकी थिइन् दीपाशा । त्यस रात उनी आफ्नो कोठामा भिडिओ कल गरिरहेकी थिइन् । भाइ र बहिनी अर्को कोठामा थिए । दिदीले विष पिएको उनीहरुले थाहै पाएनन् ।
बुझिएअनुसार दीपाशा उमेश लम्सालसँग भिडिओ कलमा कुराकानी गरिरहेकी थिइन् । दीपाशाले काठमाडौं मलमा सञ्चालन गरिरहेको ग्लोरी ब्यूटी पार्लरका म्यानेजर हुन् उमेश । भिडिओ कलमा आर्थिक विषयमा नै कुराकानी भइरहेको थियो । दीपाशाले आफूले हार खाएको भन्दै कुराकानीकै दौरान विष पिएको पारिवारिक स्रोतले बताएको छ । पार्लर बेचेर ऋण तिर्न उनले उमेशलाई भनेकाे दाबी गरिएकाे छ । यदि घटनामा प्रहरी अनुसन्धान भए याे भिडिओ कलमाथि पहिलाे छानबिन हुनसक्छ ।
विषको असरले छट्पटाउन थालेपछि भाइ र बहिनीले थाहा पाएर तुरुन्तै अस्पताल पुर्याएका थिए । सुरुमा विनायक अस्पताल लगिएको थियो । त्यहाँबाट डाक्टरहरुको सल्लाहअनुसार बिहान ५ बजेतिर मात्रै नर्भिक पुर्याइएको हो । नर्भिक लैजाँदासम्म दीपाशा बोल्न सक्ने अवस्थामै थिइन् । भेट्न आएका केही साथीले उनलाई के गरेको भनेर सोधेका थिए । उनले आफूलाई लागेको ऋणप्रति नै संकेत गरेकी थिइन् ।
दीपाशाले के प्रयोजनका लागि कति ऋण लिएकी थिइन् भन्ने स्पष्ट भएको छैन । तर, उनले चर्को ब्याजदरमा सो ऋण लिएको र तिर्न नसकेपछि ऋणदाताले फेसबुकमा लेखिदिने धम्की दिएको खुल्न आएको छ ।
काठमाडौंमा तीन वर्ष अगाडि दीपाशाले ब्युटीपार्लर खोलेकी थिइन् । सम्भवतः ऋणको केही हिस्सा यसकै लागि थियो । उक्त पार्लर पछिल्लो समय राम्ररी चलिरहेको थिएन । दोस्रो लकडाउनअघि सुरु गरेको पार्लरले सुरुमै धेरै घाटा व्यहोर्नुपरेको थियो । चर्को भाडा र अन्य खर्च धेरै भएकाले पार्लरलाई नाफामा लैजान सजिलो थिएन । बुझिएअनुसार भाडा नै मासिक एक लाख २० हजार रुपैयाँ बुझाउनुपर्थ्यो । प्रतिस्पर्धा पनि चर्को थियो ।
त्यसो त म्युजिक भिडिओमा पनि व्यस्त नै थिइन् दीपाशा । एउटा भिडिओबाट २५-३० हजार लिने गर्थिन् । अहिलेसम्म दुई सयभन्दा बढी भिडिओ खेलिसकेकी छन् । तर, म्युजिक भिडिओमा गरेको आम्दानी पनि पार्लरमै खर्च गर्नुपर्यो । यसका अतिरिक्त उनी केही महत्वाकांक्षी पनि थिइन् । अवार्ड कार्यक्रमका लागि आफैंले खर्च हालेर विदेश जाने गर्थिन् । हालैमात्र उनी क्यानाडा गएर आएकी हुन् । उनीसँग क्यानाडाको पाँच वर्षको भिसा थियो । यद्यपि, उनको सोच चाहिँ अमेरिकामा सेटल हुने थियो ।
दीपाशाकी आमा र एक बहिनी वैदेशिक रोजगारीका लागि विदेशमा छन् । दुबईमा रहेकी आमा दीपाशाको निधनपछि नेपाल फर्केकी छन् । दीपाशा सानै हुँदा आमाले अर्को बिहे गरेकी थिइन् । बुवाले पनि पछि अर्को विवाह गरे । बुवा अहिले भारतमा छन् । छोरीको निधनपछि आए–नआएको थाहा भएको छैन ।
निकटस्थका अनुसार दीपाशाको पनि सानैमा विवाह गरिदिएकी थिइन् आमाले । तर, उनको वैवाहिक सम्बन्ध अगाडि बढ्न सकेन । विवाहको केही समयमै उनले श्रीमानसँग डिभोर्स गरिन् । त्यसपछि कलाकारितामा संघर्ष गर्ने मनसायसहित काठमाडौं आइन् । उनले सुर्खेतबाटै गोपीकृष्ण टीभी फिल्मीको ‘को बन्छ कलाकार’ नामक रियालिटी शोमा अडिसन दिएकी थिइन् । अडिसनबाट छानिएर काठमाडौं आएकी उनी टप २० बाट बाहिरिइन् । तर, कलाकारिताको चस्का पसिसकेको थियो ।
उनलाई ‘दुलही रानी’ नामक फिल्ममा ब्रेक मिल्यो । त्यसपछि थप एक-दुई फिल्म खेलिन् । फिल्ममा आशातित सफलता प्राप्त गर्न सकिनन् । तर, म्युजिक भिडिओहरुबाट अफर आउन थाले । म्युजिक भिडिओमा भने उनलाई फलिफाप नै भइरहेको थियो । कलाकारितामा व्यस्त हुन थालेपछि उनले पार्लरको जिम्मेवारी कर्मचारीहरुलाई छोडेकी थिइन् ।
दीपाशा आर्थिक संकटबाट गुज्रिरहे पनि यसकै कारणले आत्महत्या गरेकी हुन् भनेर निष्कर्षमा पुग्न सकिने अवस्था छैन । किनकि उनले चाहँदा विभिन्न बाटोहरु खुल्न सक्थे । पार्लर बेचेर ऋण तिर्न सक्थिन् र कलाकारितामै फोकस्ड हुन सक्थिन् । अरु कुनै उपाय थिएन भने उनीसँग क्यानाडाको भिसा थियो । उतै सेटल हुन सक्थिन् । क्यानाडा जाँदा उनलाई निकटका केही साथीले उतै बस्न सुझाव पनि दिएका थिए । तर, उनी फर्किनुले आर्थिक संकटबाट निस्कन सक्ने आत्मविश्वास थियो भन्ने अनुमान गर्न सकिन्छ ।
दीपाशाको हिजो अन्त्येष्टि पशुपति आर्यघाटमा भएको छ । अहिलेसम्म उनको मृत्युलाई लिएर प्रहरीमा कुनै उजुरी परेको छैन भने पोस्टमार्टमबाहेक प्रहरीले कुनै अनुसन्धान पनि गरेको छैन । पारिवारिक स्रोतका अनुसार १३ दिनको अन्तिम संस्कार सकेपश्चात उनलाई टर्चर दिने व्यक्तिको खोजी गरेर आत्महत्या दुरुत्साहनमा जाहेरी दिने मनसायमा आमा छिन् ।
खद खबर 🙁
गठबन्दनको प्रचन्ड राजमा जिविका गरेर बस्ने र आफ्नु श्रीजना बेचेर खाने सामान्य मान्छेहरु बाच्नै नसक्ने भए !!
चन्डाल चतुरे हुन पर्यो : ठग्न सक्ने, लुट्न सक्ने, धम्क्याएर खोस्न सक्ने, कि हुन पर्यो पावर लगाएर मन लागेको गर्न सक्ने र पाउने !! अरु बाच्नु को अर्थ रहेन, बाँच्न सक्ने अवस्था पनि रहेन 🙁🙁