प्रधानमन्त्रीलाई गगनको आग्रह- फजुल खर्च रोकेर संसदीय विकास कोषको ८ अर्ब पुनर्निर्माणमा लगाउनुस्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको करिब ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा लगाउन आग्रह गरेका छन् । भूकम्पपछिको पुनर्निर्माणमा ठूलो खर्च हुने भएकाले सरकारबाट भइरहेका फजुल खर्च रोक्न आग्रह गरे ।
उनले फेशबुकमा लेखेका छन्, ‘भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठूलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पुर्याएका हजारौँ त घर मात्र बनाउनु पर्नेछ । सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ । त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेरै दुई वटा कुरा तत्काल गर्न भनेका छौँ ।
एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस् । अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ ।
दुई, ’संसदीय कोष’ भनेर चिनिने ’संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस् । सरकारले आफैँले तत्काल गर्न सक्ने काम सुरु गरेपछि मात्रै सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने उनको भनाइ छ ।
भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमबाट फर्केपछि महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शमाले शनिबारे प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।