यमपञ्चक अर्थात तिहार ‘दीपावली’ हुन सक्दैन
तिहार सुरु भइसकेको छ । तिहारका यी पाँच दिन मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण विषय सूचना, स्वास्थ्य, सुरक्षा, इमानदारी, श्रम, एकता, पवित्रता, घनिष्टता, धनधान्य, सम्पन्नतासहितको उज्यालो पर्व हो भन्ने बुझ्न सकिन्छ । यसमा खेलिने जुवा मनोरञ्जनका लागि मात्र हुनुपर्नेमा ऋणको भारले बिल्लीबाँठ हुने चलन मानिसको कमजोरी हो । यसबाट जोगिन र पर्वको सांस्कृतिक अन्तरवस्तु अँगाल्नुमा नै सबैको भलाइ छ ।
संस्कृतिबारे लेनिनको विचार यस्तो छ- ‘मानव जातिद्वारा सिर्जित र संग्रहित ज्ञान र विज्ञानको सम्पदालाई आत्मसात नगरिकनै कम्युनिष्ट बन्न सकिन्छ भन्ने सोच्नु भयंकर भूल हुनेछ । मानव जातिद्वारा सिर्जना र विकास गरिएको ज्ञान, विज्ञान, सम्पदाबाट नै सांस्कृतिक सम्पदाको निर्माण हुन सक्छ ।’ यिनै सन्दर्भमा तिहारको संस्कृतिलाई पनि लिन आवश्यक छ ।
कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि सुरु भई कात्तिक शुक्ल पक्षको द्वितीयामा सम्पन्न हुने यमपञ्चक आजदेखि प्रारम्भ भयो । तिथि घटबढका कारणले यो पर्व कहिलेकाहीं कम दिनमा अर्थात् जम्मा ४ दिनमा पनि सकिन्छ । यमी (यमुना)का दाजु यम आफ्नी बहिनी यमीको घरमा बसेको पाँच दिनलाई यमपञ्चक भन्ने मान्यता छ । यी पाँच दिनलाई नेपाली जनजिब्रोले तिहार भन्ने गरेको छ । कतिपय विद्वानहरूका अनुसार तिहार भनेको हिन्दीमा भनिने त्योहार-त्यौहारको अपभ्रंश हो । त्योहारको अर्थ पर्व वा उत्सव हो । संस्कृतमा ‘पर्व’ शब्दले जोड्ने अर्थ पनि राख्छ । यो यमपञ्चक वा तिहार पर्वले दाजुभाइ-दिदीबहिनीलाई जोड्छ । अर्थात्, सम्बन्धलाई थप आत्मीय, सुमधुर र सुदृढ बनाउँछ भन्ने आसय वहन गरेको छ ।
यमपञ्चकका यी पाँच दिन पर्वमय भए । यसलाई जीवनसँग जोड्ने प्रयास गरियो । यी पाँचै दिन तिहार भए- काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार । भाइ तिहार यस अर्थमा कि संस्कृत भाषामा दाजु र भाइलाई एउटै ‘भ्रातृ’ शब्द प्रयोग हुन्छ, जसबाट भ्राता बन्दछ । ‘भ्राता’बाट भाइ बन्न र भन्न सजिलो भएर यो शब्द प्रचलित भएको हो । संस्कृतमा ‘भ्रातृ द्वितीया’ र तराई क्षेत्रमा ‘भैया दूज-भाइ दूज’ भनिन्छ ।
तिहारको पहिलो दिन आज काग (कतैकतै कौआ-कौवा पनि भनिन्छ) तिहार मानिन्छ । काग या कौवालाई संस्कृतमा काक भनिन्छ । कागलाई नेपाली समाजमा सन्देशवाहक पक्षी मानिन्छ । कागलाई संस्कृतमा वायस पनि भनिन्छ । शास्त्रमा ‘वायसात् पञ्च शिक्षेत् अर्थात् कागबाट पाँच गुण सिक्नू’ भनिएको छ । कागबाट सिक्नुपर्ने पाँच वटा विषय हुन्- लुकेर मैथुन गर्नु, सितिमिति कसैलाई नटेर्नु, सावधान रहनु, अतिरिक्त सञ्चय–संग्रह नगर्नु, समयानुसारका वस्तुहरूले काम चलाउनु । सापेक्ष भएर यी पाँच विषयमा ध्यान दिँदा मानव सभ्यताका लागि महत्वपूर्ण योगदानका रूपमा लिन सकिन्छ ।
यसै दिन (त्रयोदशी) धनका देवता मानिने कुबेरको जन्म दिन र आयुर्वेदका प्रवर्तक प्राचीन चिकित्सा विज्ञानका प्रतिष्ठाता धन्वन्तरी जयन्ती पनि पर्छ । यो थप विशेषताले यमपञ्चक-तिहारलाई थप विशिष्ट बनाएको छ । समय क्रममा यस्ता विशेषता थपिँदै गए तापनि मूल विषय छोडेर थपलाई मात्र अँगाल्नु उचित हुँदैन ।
यमी (यमुना)का दाजु यम आफ्नी बहिनी यमीको घरमा बसेको पाँच दिनलाई यमपञ्चक भन्ने मान्यता छ । यी पाँच दिनलाई नेपाली जनजिब्रोले तिहार भन्ने गरेको छ । कतिपय विद्वानहरूका अनुसार तिहार भनेको हिन्दीमा भनिने त्योहार-त्यौहारको अपभ्रंश हो । त्योहारको अर्थ पर्व वा उत्सव हो । संस्कृतमा ‘पर्व’ शब्दले जोड्ने अर्थ पनि राख्छ ।
हिन्दू धर्मग्रन्थहरूमा कागलाई काकभुसुण्डी आदिको उच्चताको बयानसँगै यसलाई नीच पक्षीको रूपमा पनि वर्णन गरिएको छ । भनिएको छ, ‘काकः पक्षिषु चाण्डालः अर्थात् पक्षीहरूमा काक निकृष्ट हो ।’ तर, यसलाई गरिने सम्मान उच्चताका कारणले हो । यसबाट खराबमा पनि असल हुन्छ र खराबभित्रको पनि असल पक्षको सम्मान गर्नुपर्छ भन्ने शिक्षा लिन सकिन्छ । मौसम परिवर्तन, सर्प आदिको अगमनको सूचना-संकेत गर्ने, फोहोर खाइदिएर सफा वातावरण दिने आदि कागका गुण त हामी सबैले देखे जानेकै छौं । खराबमा पनि असलको खोजी गर्ने र पहिल्याउने पुर्खाको योगदानको सम्झना गर्न पनि काग पूजाको औचित्य देखिन्छ ।
तिहारको दोस्रो दिन कुकुरको पूजा हुन्छ । यस दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरको पूजाको मन्त्रबाट थप केही स्पष्ट हुन सकिन्छ । भनिएको छ, ‘द्वौ श्वानौ श्यामशबलौ वैवस्वतकुलोद्भवौ…..। अर्थात्, वैवस्वत कुलबाट जन्मिएका दुई कालो र टाटेपाटे कुकुरहरूले हिंसाबाट जोगाऊन् भनी तिनीहरूलाई यो अन्न दिन्छु-खान दिन्छु । मानिसले आफ्नो हितका लागि कुकुरलाई आफ्नो सहयोगी र रक्षक बनाएको देखिन्छ । अहिले घरघरमा पालिने कुकुरलाई घर पालुवा कसले र किन बनायो ? स्पष्ट छ, हाम्रा पुर्खाले अन्य घरमा पालिएका पशुहरूलाई अन्य हिंस्रक पशुहरूबाट जोगाउन प्रशिक्षित गरेर मानिसका निकट र हितैषी बनाए । यति मात्र होइन, कुकुरबाट ६ वटा शिक्षा (षट् शून) लिन सकिन्छ भनिएको छ । यो योगदान कहिले स्मरण गर्ने ? कुकुर तिहार वा कुकुर पूजासँग पुर्खाको योगदान र कुकुरको गुणको सम्मान जोडिएको छ । कुकुरको पूजा वा सम्मानसँग उसको उपयोगिताको विषय त छँदैछ, यसमा पुर्खाको क्षमता तथा दूरदर्शिताको सम्मान जोडिएको छ ।
तिहारको तेस्रो दिन अर्थात् कात्तिक कृष्ण पक्षको औँसीको दिन गाई तिहार हुन्छ । यस दिन गाईको पूजा गरिन्छ । गाईलाई हिन्दू धर्मशास्त्रमा माता-आमा भनिएको छ । ‘गावो विश्वस्य मातरः अर्थात् गाई विश्वकै आमा हुन् । वेदमा गाईलाई मानिसको मुख्य सम्पत्तिका रूपमा वर्णन गरिएको छ । गाईका विषयमा ठूल्ठूला युद्ध भएका छन् । महाभारतमा पनि यस्तो प्रसंग पढ्न पाइन्छ । गाईका धेरै गुण छन् । यस विषयमा खासै उल्लेख गर्नुपर्ने आवश्यकता छैन । पौष्टिक गोरस, खेती तथा वृक्ष-वनस्पतिका लागि मल (गोबर) दिने, औषधि हुने मूत्र दिने, हलो तान्ने बलियो बाछो (बहर)-गोरु जन्माउने बहुउपयोगी गाईलाई सुस्वास्थ्य, धनधान्य, समृद्धि दिने लक्ष्मीका रूपमा पूजा गरिन्छ । यस औँसीको रात्रिलाई सुखरात्रि भनिन्छ । धनधान्यकी देवीको स्वागतार्थ लामबद्ध-लस्कर बत्ती बालिन्छ । त्यसैले यसलाई दीपावली भनिन्छ । कतिपय मानिसहरूले यही एक दिनको झिलिमिलीलाई मात्र लक्षित गरेर सिंगो पाँच दिनको महत्वपूर्ण पर्वलाई ‘दीपावली’ मात्र भनेर छोट्याउने गर्छन् । यस्तो गर्नु अनुचित हो ।
यमपञ्चकको चौथो दिन गोरु तिहार मानिन्छ । गोरु तिहार भनेको गोरुको पूजा गर्ने दिन हो । कृषि क्षेत्रका लागि गोरुको महत्व कति छ भनिरहन पर्दैन । खन्ने जोत्ने अन्य स्वचालित औजार उपकरण नहुँदा पुर्खाले आविष्कार गरेको हलो तान्ने शक्तिका रूपमा गोरुको उपयोग भएको हो । बलिया पशुलाई साधेर मानिसको नियन्त्रणमा राखी मेलो हिँडाउने पुर्खाको ज्ञान बुद्धि र गोरुको बल दुवै महत्वपूर्ण छन् । यद्यपि, गोरुले प्रकारान्तरले माया गरेको बुझ्छ होला । तर, पूजै गरेको बुझ्दैन । तथापि गोरुको पूजा गरिनुको अर्को आसय देखिन्छ, कसैले बुझोस् या नबुझोस्, मागोस् या नमागोस्, योगदानको कदर गर्नैपर्छ । गोरु पूजाले दुर्खाको आविष्कारी सोच, आविष्कार र बोल्न नसक्ने प्राणीको पनि योगदानको सम्मान हुनुपर्छ भन्ने भाव व्यक्त गरेको देखिन्छ ।
कागलाई नेपाली समाजमा सन्देशवाहक पक्षी मानिन्छ । कागलाई संस्कृतमा वायस पनि भनिन्छ । शास्त्रमा ‘वायसात् पञ्च शिक्षेत् अर्थात् कागबाट पाँच गुण सिक्नू’ भनिएको छ । कागबाट सिक्नुपर्ने पाँच वटा विषय हुन्- लुकेर मैथुन गर्नु, सितिमिति कसैलाई नटेर्नु, सावधान रहनु, अतिरिक्त सञ्चय-संग्रह नगर्नु, समयानुसारका वस्तुहरूले काम चलाउनु ।
गोरु (तिहार)पूजाकै दिन गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन पनि छ । गोठमा गोवर्द्धन पर्वतको प्रतीक गोबरको थुप्रो बनाइ त्यसलाई सिँगारेर गोवर्द्धन पूजा गरिन्छ । यो एकतामा शक्ति छ, शक्तिमा विजय निर्भर छ भन्ने संकेत हो । श्रीमद्भागवत तथा अन्य पौराणिक कथाअनुसार द्वापर युगमा पृथ्वीका मानिसहरूबाट स्वर्ग र देवताका राजा इन्द्रले बलि (भाग-कर) लिने गर्थे । भगवान श्रीकृष्णले त्यसको अवज्ञा गरे । फलस्वरूप इन्द्रले ठूलो पानी पारिदिए । श्रीकृष्णले गोकुलवासीहरूलाई संगठित गरेर गोवर्द्धन पर्वत उचाली इन्द्रको प्रतिकार र पानीबाट सुरक्षित हुने तरिका सफल पारेका थिए । यो सन्दर्भ अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
यम र यमीको सन्दर्भ र भाइ तिहारको विषय हाम्रो यति बेलाको सामाजिक सभ्यताको दृष्टिले महत्वपूर्ण रहेको छ । एउटा पर्वले, त्यससँग सम्बन्धित वैदिक, पौराणिक र सामाजिक पात्र तथा घटना सन्दर्भले दिने सन्देश महत्वपूर्ण हुने गर्छ । एउटा सन्दर्भले अन्य विषय क्षेत्र पनि आकर्षित गरेको हुन्छ । यस सन्दर्भमा यहाँ संक्षिप्त चर्चा गरिन्छ ।
त्वाष्ट्री संज्ञां मनुं पुत्रं यमलौ यमुनां यमम् । छाया संज्ञां च सावर्णिं मनुं वैवस्वतं सुतम् ।
शनिं च तपतीं विष्टिं संज्ञायां चाश्विनौ पुनः ।
अर्थात्, संज्ञा (सूर्यकी पत्नी) विश्वकर्माकी छोरी हुन् । उनको गर्भबाट मनु एवं यम र यमुना नामका जुम्ल्याहा सन्तान जन्मिए । छायासंज्ञाबाट सावर्णि मनु र शनैश्चर नामका छोराहरू र तपती एवं विष्टि नामका छोरीहरू जन्मिए भन्ने उल्लेख पाइन्छ -अग्निपुराण, २७३ औं अध्याय । यसबाट यम र यमी को थिए भन्ने स्पष्ट हुन्छ । सँगसँगै मनु, यम, यमी, विश्वकर्माको सम्बन्ध पनि स्पष्ट हुन्छ । यसरी स्पष्ट हुनु भनेको हाम्रो समाजमा तथाकथित दलित- शूद्र बनाइएका विश्वकर्मा को हुन् र नेपाली समाजमा रहेको छुवाछूतको निरर्थकताबाारे स्पष्ट हुन सकिन्छ ।
तिहारको सन्दर्भको मूल जरो यम र यमी (यमुना) को संवाद ऋग्वेदमा रहेको छ । ऋग्वेदकालीन समाजमा वा त्यस परिवारमा दाजु-बहिनीबीच शारीरिक सम्बन्धको अपेक्षा रहने गरेको देखिन्छ । सिंगो समाजमा थियो कि त्यो त्यस परिवारको वा तिनीहरूको मात्र हो, स्पष्ट छैन । तर, यम र यमीको संवादको निष्कर्षका रूपमा आएको यो सभ्य सम्बन्ध हाम्रो सभ्यताको विकासमा निकै ठूलो महत्वको देखिन्छ ।
धनधान्यकी देवीको स्वागतार्थ लामबद्ध-लस्कर बत्ती बालिन्छ । त्यसैले यसलाई दीपावली भनिन्छ । कतिपय मानिसहरूले यही एक दिनको झिलिमिलीलाई मात्र लक्षित गरेर सिंगो पाँच दिनको महत्वपूर्ण पर्वलाई ‘दीपावली’ मात्र भनेर छोट्याउने गर्छन् । यस्तो गर्नु अनुचित हो ।
ऋग्वेदको दसौं मण्डलको दसौं सूक्तमा रहेको त्यो संवादमा १४ ऋचा-मन्त्र छन् । त्यो यसरी सुरु हुन्छ:
यमी यमसँग भन्छिन्- ‘ओ चित् सखायं सख्या ववृत्यां तिरः पुरू चिदर्णवं जगन्वान् । पितुर्नपातमा दधीत वेधा अधि क्षमि प्रतरं दीध्यान । अर्थात, हे यम ! विशाल आकाशको एकान्त स्थानमा म तिमीसँग साथीका रूपमा मिलन चाहन्छु । डुंगा जस्तो भएर संसाररूपी समुद्र तर्न पिताका नातिका रूपमा हाम्रा असल सन्तान उत्पन्न गराउन हामी परस्पर सङ्गत होऔं भन्ने विधाताको इच्छा छ ।’ (ऋग्वेद १०/१०/१)
बीचका मन्त्र-ऋचाहरूमा यमीको आग्रह र यमको अस्वीकृतिका विषयमा संवाद रहेको छ । अन्त्यमा यस कथनपछि संवाद टुंगिएको छ:
यम यमीसँग भन्छन्- ‘अन्यमूषु त्वं यम्यन्य उ त्वां परिष्वजाते लिबुजेव वृक्षम् । तस्य वा त्वं मन इच्छा स वा तवाधा कृणुष्व संविदं सुभद्राम् । अर्थात्, हे यमी ! तिमीसित यस कुरा जानकारी छ भने तिमी पनि अर्कै पुरुषलाई रुखलाई लहराले बेरे झैं आश्रय लिएर पतिका रूपमा स्वीकार गर । आपसमा एकले अर्कालाई मन परेको व्यवहार गर र त्यसैबाट मङ्गलकारी सुख प्राप्त गर ।’ (ऋग्वेद १०/१०/१४)
यी सन्दर्भलाई ध्यान दिँदै अहिले प्रचलित तिहार हेर्दा यहाँदेखि सामाजिक अवस्थामा ठूलो परिवर्तन प्रारम्भ भएको मान्न सकिन्छ । तिहार दाजुभाइ-दिदीबहिनीबीच पवित्र, सुमधुर, आत्मीय सम्बन्ध स्थापना भएको र त्यसप्रति प्रतिबद्धताको निरन्तरताका लागि सुरु गरिएको महान चाड हो । ‘दीपावली’ले यति धेरै विविधता र महत्वलाई सम्बोधन गर्न सक्दैन ।
हामीले कुनै पर्वका माध्यमबाट यी विषयको सम्झना राखेनौं भने पुर्खाले आफ्ना पछिल्ला सन्तानका लागि गरेको योगदान मेटिनेछ । अहिले संसार बन्नमा पुर्खाको योगदान मेटिनु राम्रो मान्न सकिन्न । अर्को, हामीले पनि भावी सन्ततिका लागि केही गर्नैपर्छ भन्ने युगीन दायित्वबोध गर्न पनि हामीले प्राचीन-पुर्ख्यौली परम्पराबाट चलिआएका प्रवन्धहरूको ससम्मान स्मरण गर्न आवश्यक हुन्छ । पर्वहरूले हामीलाई यस्तो शिक्षा दिइरहन्छन् र आनुवंशिक स्मरणशीलता कायम राख्न मद्दत गर्छन् ।