कुखुराको मासुको मूल्य : किसानलाई घट्यो उपभोक्तालाई घटेन, बिचौलियाको रजाइँ – Nepal Press

कुखुराको मासुको मूल्य : किसानलाई घट्यो उपभोक्तालाई घटेन, बिचौलियाको रजाइँ

रुपन्देही । दशैंको बेलामा ४ सय ४० रूपैयाँसम्म पुगेको कुखुराको मासु अहिले घटेको छ । अहिले ४ सय रूपैयाँ प्रतिकिलोमा मासुको बिक्री वितरण गर्ने गरी मूल्य निर्धारण गरिएको रूपन्देही मासु व्यवसायी संघले जनाएको छ । यद्यपि अझै केही व्यवसायीहरूले भने पुरानै मूल्य ४ सय ४० मा बिक्री गर्दै आएका छन् ।

बुटवल १९ का उपभोक्ता दीपक क्षेत्रीले बजारमा मूल्य घटेको सुने पनि आफूले खरिद गरेको पसलमा ४४० रुपैयाँ दिनुपरेको बताए ।

कुखुराको मूल्य उत्पादकका लागि घटाइए पनि बिचौलियाको रजाइँका कारण उपभोक्ताका लागि भने मूल्य घटेको छैन ।

मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष चुरामणी घिमिरेका अनुसार अहिले मूल्य घटाएर ४ सय निर्धारण गरिएको छ । किसानले पाउने मूल्यभन्दा पनि आफूहरूले होलसेल व्यवसायीबाट कुखुरा लिएर बिक्री गर्ने भएको कारण किसानहरू ले पाउने मूल्य कमी भएको बताउँछन् ।

उनले होलसेल व्यवसायीहरूबाट प्रति किलोमा १ सय २० देखि १ सय १४० को अन्तरमा बजार मूल्यमा लिन पाउने गरी सम्झौता भएको सोही अनुसार कार्यान्वयन भएको बताउँछन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का किसान बाबुराम कार्की कुखुरा पालक किसान हुन् । उनले कुखुरालाई जिउँदो २ सय २५ रूपैयाँमा बिक्री गर्दै आएका छन् । होलसेल व्यापारी उनको फार्ममा नै आएर ब्रोइलर कुखुराको खरिद गर्दै लैजाने गरेका छन् ।

उनले बिक्री गर्ने मूल्य भनेको २ सय २५ रूपैयाँ हो । अहिले बजारमा प्रतिकिलो मासुको मूल्य ४ सय छ । यसमा बीचमा करिब १ सय ७५ रूपैयाँ फरक पर्दछ ।

प्रतिकिलो जिउँदो कुखुरा काट्दा केही प्रतिशत मात्रै मासु कम हुन्छ । तर होलसेल व्यापारीको रूपमा रहेका बिचौलियाहरूले भने सस्तोको कुखुरा उठाएर मासु काटेर बिक्री गर्न व्यवसायीहरूलाई दिँदै आएका छन् ।

उनीहरूले बिक्री गर्ने मूल्य भन्दा १ सय २० रूपैयाँदेखि १ सय ४० रूपैयाँ मात्रै अन्तर बनाउने मासु व्यवसायी संघको सम्झौता छ ।

तर होलसेल व्यवसायीहरूले भने विक्री मूल्यभन्दा १ सय ४० प्रतिकिलोको हिसाब गर्दा बजार मूल्य ४०० मा १ सय ४० घटाउँदा २ सय ८० देखि २ सय ६० रूपैयाँमा जिउँदो कुखुरा मासु काटेर बिक्री गर्ने व्यवसायीहरूलाई दिँदै आएका छन् ।

किसानबाट २ सय २५ रूपैयाँमा लिएको कुखुरा होलसेल व्यवसायीहरूले प्रतिकिलोमा जिउँदै २ सय ८० देखि २ सय ६० मा बिक्री गर्दै आएका हुन्। यसमा किसानबाट ३५ देखि ५५ रूपैयाँ प्रतिकिलोमा नाफा खाँदै आएको पाइएको छ ।

चाडपर्व आएपनि भारतबाट अवैध रूपमा सस्तोमा कुखुरा लुकिछिपी आउने गरेको कारण नेपाली किसानहरू मर्कामा परेको कुखुरा पालक किसान बाबुराम कार्कीको भनाइ छ । उनी भन्छन्, ‘बजार झनै डामाडोल छ, भारतबाट आएका कुखुराको कारण थप मर्कामा परेका छौ ।’

कुखुराको दानाको मूल्यसमेत अहिले बढेको कारण किसानले भने अनुसार, लागतअनुसारको भाउ नपाएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “कुखुराको मासुको मूल्य : किसानलाई घट्यो उपभोक्तालाई घटेन, बिचौलियाको रजाइँ

  1. सरकार नै दलालहरूको छ । सुन तस्करी गर्छ । अनिकहाँबाट किसानले कुखुराको मूल्य पाउनु ? बिचौलियासँग पैसा खाएका छन मन्त्रीहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर