४ वर्षमै थन्किए प्रदेश सरकारकाे ६ करोडका १६ एम्बुलेन्स – Nepal Press

४ वर्षमै थन्किए प्रदेश सरकारकाे ६ करोडका १६ एम्बुलेन्स

डोटी । ‘अत्याधुनिक र सुविधाजनक’ भन्दै सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा वितरण गरेका एम्बुलेन्सहरु ४ वर्षमै थन्किएका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयले खरिद गरी २०७६ साल कात्तिक २० गते विभिन्न स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका १६ वटा एम्बुलेन्स काम नलाग्ने भएका हुन् ।

प्रदेश सरकारले एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सामाजिक विकास मन्त्रालयले सो एम्बुलेन्स खरिद प्रक्रिया पूरा गरी २०७६ असार ३१ गते करिब ६ करोड २५ लाख १२ हजारमा ‘टाटा ४०७’ मोडेलका १६ वटा एम्बुलेन्स खरिद गरेको थियो ।

खरिद गरिएका एम्बुलेन्समध्ये कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललाई एकएक वटा हस्तान्तरण गरिएको थियो । यस्तै अछाममा ४, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा दुईदुई वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । बाजुरा र डोटी जिल्ला अस्पताललाई एक÷एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

तर, पछि खरिदकै क्रममा कमिसनको बार्गेनिङ चलेको भन्दै आलोचना भएको थियो । उत्पादन बन्द नै भइसकेको टाटा कम्पनीको ४०७ मोडेलको मिनिट्रकलाई एम्बुलेन्स बनाएर खरिद गरिएको भन्दै आलोचना भएपछि मन्त्रालयले खण्डन गरेको थियो ।

एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर, फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरणको सुविधा रहेको भन्दै हस्तान्तरण गरिएको थियो ।

तर, अधिकांश एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डरबाहेकका सुविधा नभएको आरोप लागेको थियो ।


प्रतिक्रिया

One thought on “४ वर्षमै थन्किए प्रदेश सरकारकाे ६ करोडका १६ एम्बुलेन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *