हराउँदै देउसी भैलोका परम्परागत नाच, सांस्कृतिक विचलन आउन थालेकोमा चिन्ता
रुपन्देही । तिहार नेपालीहरूको महान चाड हो । विभिन्न समूह व्यक्ति व्यक्तिका घर आगनमा गएर देउसी भैलो खेल्ने गर्दछन् ।
देउसी भैलो लक्ष्मी पूजाको दिनदेखि भाइटीकाको दोस्रो दिनसम्म र केही ठाउँमा एकादशीसम्म खेल्ने प्रचलन छ । तर पछिल्लो समय मौलिक परम्पराका यस्ता नाचहरु बिस्तारै बिस्तारै हराउँदै जान थालेका छन् ।
आधुनिक प्रविधि, पुस्तान्तरण हुँदा संस्कृति हस्तान्तरण नहुनु, बसाईसराईका कारण गाउँ खाली हुनु र युवाशक्ति विदेश पलायनसँगै गाउँका संस्कृतिप्रेमीहरु पलायन भएका कारण यस्तो भएको चिन्ता गर्न थालिएको छ ।
पहिले घरका दैलोमा पुगेर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने सांस्कृतिक मौलिक परम्परा आजभोलि नयाँ पुस्ताले अनुसरण गरेका छैनन् ।
संस्कृतिविद् घनश्याम कोइरालाका अनुसार तिहारको परम्परागत सांस्कृतिक महत्व कमजोर हुनुको मूलभूत पक्ष भनेको तिहार, देउसी, भैलोको अन्तर्वस्तुबारे नबुझ्नु र नबुझाइनु भएको र यिनलाई केवल रङ्ग रमाइलो (रामरमाइलो) का रूपमा मात्र बुझ्नु हो ।
उनी भन्छन्, ‘मानिस निरन्तर नयाँ चाहन्छ । नयाँ सिर्जनाबाट प्राप्त हुन्छ । तर सबै मानिस सिर्जनशील हुँदैनन् । यस्तो अवस्थामा मानिसहरूका लागि नक्कल गर्नु सजिलो बाटो हो । मानिसहरूले पछिल्लो बाटो समाते । अरुले गाएका गीत, अरुले बजाएका बाजा प्रयोग गर्नु मानिसका लागि सजिलो बाटो भयो ।’
‘उपभोक्तावादी प्रवृत्तिले यसतर्फ डोहोर्यायो । एउटा पक्ष यो हो भने अर्को र चाडपर्वमा रमाइलो हुन्छ, रमाइलो गरिन्छ, रमाइलो गर्नुपर्छ तर यसका अन्तर्वस्तु बुझ्नु बुझाइनुपर्छ, रोजगारी र अध्ययनका लागि देशबाहिर गएकाहरू बाहिरी कुराबाट प्रभावित भए’, कोइरालाको विश्लेषण छ ।
कोइरालाले यी पर्वहरूलाई धर्मका नाममा सम्प्रदायसँग जोडियो र विभेदकारी करार गरिएका कारण पनि केही विषय ओझेलमा परेका हुन् ।
बूढापाकाहरु पुरानो भाकाले देउसी भट्याउँछन् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरी आ–आफ्नै भाकाले देउसी खेल्छ्न् । तर पछिल्ला समय देउसी भैलो लोप हुनुका साथैै मौलिकता हराउँदै गएको छ ।
भाषा, सस्कृति भेषभूषामा आधुनिकता आउँदै गएको कारण पनि त्यसको असर देउसी भैलोसमेत पर्न गएको र नयाँ पुस्ताले मौलिकता नै हराउने गरी खेली रहेको विश्लेषण गर्न थालिएको छ ।
तिहारमा खेलिने देउसी भैलोको महत्व ठूलो भए पनि हिजो आज केबल मनोरञ्जनको रुपमा हर्ने थालिएको छ । यसको महत्व नयाँ पुस्ताले बुझ्न नसक्दा र पुरानो पुस्ताले सिकाउन नसक्दा यो विकृत बन्दै गएको छ ।
देउसी भैलो खेल्दा भट्याइने शब्दहरु पनि हिजो आज विकृत बन्दै गएको छ । अघिल्लो पुस्ताले आफुसंग भएका कुरा नयाँ पुस्तालाई सिकायो भने मात्र संस्कृतिले निरन्तरता पाउने संस्कृति प्रेमिहरु बताउछन् ।
तर हाम्रो समाजमा संस्कृति सिकाउने कुरा कम भएको पाइएकाले पहिले संस्कृति जगेर्ना गर्न देउसी भैलो खेलेको उनीहरु बताँउछन् । तिहारमा खेलिने देउसी भैलोले अहिले टोल टोल र गाउँ गाउँ गुञ्जिरहेको छ ।
तर हिजोआजको देउसीभैलो विकृत बन्दै गएकोमा संस्कृति प्रेमीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । परम्परागत देउसी भैलो लोप हुने अवस्थामा पुगेकोले यसलाई फेरि जीवन्त बनाउन जरुरी रहेको उनीहरुको सुझाव छ ।
देउसी भैलोको मौलिकता हराउदैं जाँदा सरकारी पक्ष भने खासै जोगाउन तिर सक्रिय भएको पाइदैंन । सस्कृतिलाई जोगाउन सरकार पक्ष बाट कुनै योजना तथा कार्यक्रम आउने गरिएको देखिदैंन ।
देउसी भैलोलाई लोप हुन तथा यसको मौलिकता हराउन नदिन समाजको पहिलो भूमिका हुने भए पनि स्थानीय सरकारले पनि मौलिकता बचाउन विभिन्न जनचेतनामूलक कार्यक्रम ल्याउनु नसकेको भन्दै सामाजिक सन्जालमा आलोचना हुन थालेको छ ।
अध्यापक दलबहादुर गुरुङका अनुसार पुराना संस्कृति हराउनुमा पहिलो कुरो गाउँमा मान्छे नै कम भएका कारण यस्तो भएको बताउँछन् ।
उनका अनुसार दोस्रो कुरो आधुनिक प्रविधिले गर्दा सामाजिक सञ्जाल) का कारण भुल्ने बाटाहरु प्रशस्त भेटिनु तेस्रो कुरा पुराना पुस्ताबाट संस्कृति पुस्तानन्तर भएनन् । जसको कारण नयाँ पिँढीमा ढंग भएन भने चौथो कारण संस्कृति, सभ्यता र संस्कारका बारेमा जानकारी गराउने र आवश्यकता जनाउने काम नै हुन सकेन र पाँचौ कारण, किन संस्कृति संरक्षण ? कसका लागि ? बुझ्ने युवाहरको अभावकाले यस्तो भएको हो ।
विश्लेषक महेन्द्र थापाका अनुसार पुराना संस्कृति हराउने मुख्य कारण वसाई सराई मुख्य कारण हो भने अर्कोतर्फ युवा शक्ति विदेश पलायन हुनु र अघिल्लो पुस्ता बूढो भएर नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण नभएकाले पनि यस्तो समस्या भएको हो ।
धेरैजसो सहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलीमा अन्य गीतहरु गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलीमा नेपालीपन मासिँदै जाने जोखिम देखिएको देउसीभैलोमा लामो समयदेखि नाच्दै आएका कलाकार रामबहादुर सुनारको चिन्ता छ ।
संस्कृतिविद् डा गोविन्द टन्डन तिहारको महत्व बुझाउनका लागि राज्यले पाठ्यपुस्तकमा विस्तृतरूपमा राख्ने, अन्य कार्यक्रम आफैले आयोजना गरेर मौलिकपनलाई जोगाइ राख्नुपर्ने बताउँछन् । ऐतिहासिक र पुरानो शैलीलाई छाड्दै गएर अन्य गीतमा नाच्नु संस्कृति विचलन भएको उनको भनाइ छ ।
के हो देउसी भैलो ?
अग्रजहरुका अनुसार लक्ष्मी पूजाको दिन घर घरमा लक्ष्मी पूजा गरेपछि रातभर गाइने गाथालाई भैली भनिन्छ भने लक्ष्मी पूजाको भोलि पल्ट गोवर्धनपूजा सकेपछि देउसी खेल्ने गरिन्छ ।
तर आजभोलि परम्परागत देउसीभैली हराउँदै जान थालेको छ । पहिले देउसीभैलीमा महिला तथा किशोरी गुन्यु चोलीमा हुन्थे, पुरुष दौरा सुरुवाल हुन्थे । साथमा मादल, झ्याली, झ्याम्टा, बासुरी आदि हुन्थ्यो ।
युग परिवर्तनसँगै पोशाक पनि परिवर्तन हुँदै गएको छ । गुन्यु चोलीमा दौरा सुरुवाल त आजभोलि तेही तिहारका बेला सार्वजनिक हुने गीतमा मात्र देख्न पाइन्छ ।
देशभरको सस्कृतिलाई जोगाउन गाउँ समाजमा रहेका पुराना पुस्ताले नयाँ पुस्तालाई सिकाउनु जरुरी रहेको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन सकेन भने संस्कृति मर्दै जान्छ ।
आजभोलिको पुस्ताले देउसीभैलो पैसा कमाउने स्रोतको रुपमा बुझ््दा यसको मौलिकता घट्न गएको जानकारहरु बताउछन् । समाजमा मनाइने देउसी भैलोको बारे पुरानो पुस्ताले बुझाउन नसक्दा पुराना पुस्ताका देउसी र अहिलेका पुस्ताको देउसीमा फरक आएको हो ।
आजकाल मौलिक र सिर्जनशील तरिकाले देउसी भैली खेल्न छाडिएको छ । स्पीकरमा गीत बजाएको भरमा देउसी भैली चल्न थालेको छ । घरघर गई देउसी भट्याउनुको साटो नयाँ नयाँ हिन्दी गीतहरुमा रमेको देख्न सकिन्छ ।
देउसी र भैलीको रोचक पक्ष भनेको कथा हो । भट्याउनेले भट्याउँदा कथा भन्दै जान्छ । कथा विभिन्न हुनसक्छन् । भट्याउनेको खुबी कस्तो छ भन्नेले देउसी भैली टोलीको प्रभावकारिता निर्धारण हुन्छ । भट्याउने क्रममा कथा र लोकको गाथा भन्ने चलन हराउँदै गएको छ ।
देउसी भैलो आशिष दिने तरिका अझ प्रभावकारि हुँदै जानुपर्नेमा आजकाल विधि पुराउन मात्र आशिष दिइन्छ ।
बजार तथा गाउँ घरमा गाइने देउसी भैली तेही पुराना गाथा समेटिएर आउने पाइन्छ । देउसी भैलीको मुख्य उद्देश्य नै आशिष दिनु हो भन्ने तथ्य नयाँ पुस्तालाई सिकाउनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।