एमालेको मध्य पहाडी लोक मार्ग पदयात्राको तयारी सुरु
कैलाली । नेकपा एमालेले मंसिर १४ गतेबाट गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको सुदूरपश्चिम प्रदेशमा तयारी सुरु गरिएको छ । आज बसेको प्रदेश पदाधिकारी बैठकले सुदूरपश्चिम प्रदेशमा शुभारम्भ हुने पदयात्राको तयारी सुरु गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा सहितको बैठकले बैतडीको गोठलापानीमा आयोजना गरिने जनसभा तथा डडेल्धुरा डोटी र अछामको राजमार्गमा पर्ने स्थानमा सरोकारवालाहरूको उपस्थिति गराउने निर्णय गरेको हो ।
झुलाघाट (बैतडी) देखि चिवाभन्ज्याङ (पाँचथर) सम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पूरै पदाधिकारी, सचिवालय, परिभाषित जिम्मेवारी तोकिएका कमिटी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित डेढ सय बढीले २१ दिनको पदयात्रा गर्नेछन् ।
१ हजार ८ सय ७९ किलोमिटर पदयात्रामा उक्त टोलीले जनतासँग साक्षात्कार गर्ने, समस्या र गुनासो सुन्ने र समाधानको लागि पहल गर्ने बताइएको छ । उक्त कार्यक्रमको तयारी र व्यवस्थित गर्न लगायतका निर्णय गरिएको प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले जानकारी दिए ।
प्रदेश पदाधिकारी बैठकले पार्टी कार्यालयमा लेखा समितिको लागि स्थान र फर्निचर व्यवस्थापन गर्ने, जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितहरूको लागि राहत पार्टीको केन्द्रीय कोष मार्फत पठाउने जिन्सी प्रभावित जिल्लाको कमिटी र स्थानीय प्रशासनसँग समन्वय गरेर पठाउने लगायतको निर्णय गरिएको हो ।
हार्दिक बधाई तथा शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछाैँ, यस अभियानमा प्रवेश, एकता, एकजुट, समेत्ने पनि हुन सक्नेछ ? जयहोस् ।