संघमा पनि कोशीजस्तै सहमतिको सरकार आवश्यक छ : शेखर कोइराला (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै सङ्घीय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
शनिवार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनैतिक दलहरू मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।
उनले लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै विरोधमा उठेका आवाजहरूलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने बताए ।
डा. शेखर कोइरालाले संविधानमा उल्लेख भएका अधिकारहरू प्रदेशलाई नदिइएका कारण सङ्घीयता बदनाम हुँदै गएको धारणा व्यक्त गरे ।
उनले कर्मचारी समायोजन ऐन र प्रहरी समायोजन ऐन छिट्टै ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताए । उनले राजनीतिक दलका नेताहरूको एकात्मक सोचका कारण सङ्घीयता बदनाम भइरहेको बताए ।