सिन्धुपाल्चोकको दुर्गम तेम्बाथानमा सडकसँगै आयो खुसी – Nepal Press

सिन्धुपाल्चोकको दुर्गम तेम्बाथानमा सडकसँगै आयो खुसी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको दुर्गम जुगल गाउँपालिकाको तेम्बाथानसम्म सडक पुगेको छ । गाउँमा पहिलो पटक सडक पुग्दा स्थानीय नर्बु शेर्पालाई पत्यार नै लागेको छैन ।

‘तिनै तहको सरकारले उपेक्षा गरेको हाम्रो ठाउँमा यही जुनीमा सडक आउँछ जस्तो लागेको थिएन, तर सडक आयो’, उनले खुसी भावमा भने ।

बर्खाको चार/पाँच महिना प्राकृतिक घेराबन्दीका कारण बस्तीबाट बाहिर नै आउन नसक्ने आफूहरूको लागि सडक देख्न एक दिन हिँडेर आउनुपर्ने बाध्यता भएपनि अहिले गाउँमा नै सडक पुग्दा खुसी लागेको शेर्पाले बताए ।

नेपाल-चीन सीमा क्षेत्रको तेम्बाथान हुँदै अन्तिम मानव बस्ती दिपुसम्म सडकको ट्रयाक पुगेपछि तेम्बाथान र दिपुबासी खुसी भएका हुन् । तेम्बाथानसम्मको सडकको ट्रक त्यस क्षेत्रमा निर्माण हुन लागेको जलविद्युत आयोजनाको अग्रसरतामा खोलिएको हो । जुगल गाउँपालिका-३ गुम्बाको नेशम खोलमा निर्माण हुल लागेको ब्रम्हायणी तथा अपर ब्रम्हायणी जलविद्युत आयोजनाको लगानीमा दिपुसम्म सडकको ट्रयाक खनिएको हो । गत वर्षदेखि नै सडकको ट्रयाक खन्न सुरु गरिएपनि वर्षाका कारण रोकिएको थियो ।

हिउँद लागेसँगै अहिले सडक खनेर दिपुसम्म पुर्‍याइएको जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत नारायणकाजी श्रेष्ठले जानकारी दिए । वर्षाको कारण सडक भत्किएकाले इन्धन ढुवानीमा समस्या भएको र अहिले तीव्र गतिमा सडक खन्ने काम सुरू भएकाले एक महिनाभित्रै तेम्बाथानसम्म सवारीसाधन पुग्ने उनको भनाइ छ ।

यहाँ सडक सुविधा नहुँदा दैनिक उपभोग्य वस्तुसमेत दिन माया मारेर गुम्बा वा क्यासिङदेखि पिठ्यूँमा बोकेर ल्याउनुपर्ने अवस्था थियो ।

‘सबैभन्दा समस्या महिला र बालबालिकामा थियो, सडक पुग्दा खुसी लाग्यो । अब भारी बोकेर ल्याउने अवस्था अन्त्य भएको छ, हामीले पनि गाडी देख्न पाउने भयौं’, गुम्बा तेम्बाथानकी स्थानीय छिडोमु शेर्पाले बताइन् ।

बिरामी हुँदा उपचारमा लैजान हेलिकप्टरबाहेक अरु विकल्प नभएको भन्दै स्थानीय कर्मु शेर्पा त्यो पनि धनीको मात्र पहुँच हुने अरु धामीझाँक्रीको भरमा बस्नुपरेको पीडा सुनाउँछन् ।

‘हाइड्रो नभएको भए सडक हाम्रो सधैँको लागि सपना नै हुने थियो तर अहिले गाउँमा सडक पुगेको छ, हामी गाउँबासी खुसी छौं’, उनी भन्छन् । भुकम्पपछिको पुननिर्माणमा निर्माण सामग्रीको ढाड सेक्ने गरीको भाडाले लागत धेरै भएको स्थानीय बताउँछन् । स्थानीइ कृषि सामग्री सडक अभावमा त्यत्तिकै खेर गइरहेको थियो ।

कसरी भइरहेछ काम ?

नेशम खोलाको दोभानदेखि दिपुसम्म करिब १५ किलोमिटर सडक ट्रयाक केही दिनमा पूरा हुने जलविद्युत आयोजना निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिए । त्यहाँ तीन वटा ठूला एक्साभेटर परिचालन गरिएको छ ।

पराजुलीका अनुसार अप्ठ्यारो ठाउँमा विस्फोटक पदार्शमार्फत ट्रयाक खुलाइएको छ । सडक निर्माणको चुनौती अब सकिएको र केही महिनाभित्रै पावर हाउस निर्माण हुनेछ ।

इन्टिग्रेटेड हाइड्रो फण्ड नेपालले जुगल गाउँपालिकाको २ र ३ वडामा ब्रम्हायणी जलविद्युत आयोजना ३५ दशमलब ४७ मेगावाट र अप्पर ब्रम्हायणी १५ दशमलब १५ मेगावाटको दुइ जलविद्युत आयोजना निर्माण भइरहेको छ । तल्लो ब्रम्हायणीको कुल लागत ७ अरब ३४ करोड रहेको छ भने अपर ब्रम्हायणीको कुल लागत ३ अरब १२ करोड रहेको छ ।

आयोजनास्थल सम्म पुग्ने पहुँचमार्ग निर्माण अन्तिम चरणमा पुगेको र २०८२ भित्र नै जलविद्युत आयोजनाको निर्माण कार्य पूरा हुने आयोजनाका अध्यक्ष पराजुलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर