नेपालमा ३ लाख १ हजार ४९० परिवारसँग छैन शौचालय – Nepal Press
विश्व शौचालय दिवस

नेपालमा ३ लाख १ हजार ४९० परिवारसँग छैन शौचालय

काठमाडौं । आज १९ नोभेम्बर । अर्थात् विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदै छ ।

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ ।

हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमका साथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ ।

मानव समुदायलाई मानवजन्य दिसापिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगव्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो ।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्‍याउनमा प्रगति भने सुस्त गतिमा छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो ।

राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाब गर्छन् । खुला दिसापिसाबका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्ष मात्र बाँकी छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरेको थियो ।

नेपालमा शौचालय प्रयोग गर्नेहरूको संख्या

वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन् । यो परिवार संख्या ६ लाख ५३ हजार ७१० रहेको छ ।

फ्लस (सेफ्टिक ट्यांकी) भएको शौचालय प्रयोग गर्नेको संख्या सबैभन्दा बढी ५५.१ प्रतिशत रहेको छ । अर्थात् यो संख्या ३६ लाख ६७ हजार ७८० हो ।

त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको संख्या २० लाख ५ हजार ४८० रहेको छ । यो प्रतिशतमा हेर्दा ३०.१ रहेको छ ।

त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ रहेको छ । यो संख्या ३२ हजार ३८१ हो । त्यतै शौचालय नहुनेको संख्या नेपालमा ४.५ प्रतिशत अर्थात् ३ लाख १ हजार ४९० रहेको छ ।


प्रतिक्रिया

One thought on “नेपालमा ३ लाख १ हजार ४९० परिवारसँग छैन शौचालय

  1. कुन नैतिकताले सरकारले खु दि मु घोषणा गर्यो? 😅

Leave a Reply

Your email address will not be published. Required fields are marked *