भारतसँग भिड्ने अस्ट्रेलियाका ७ जना खेलाडीसँग यसअघि विश्वकप जितेको अनुभव – Nepal Press

भारतसँग भिड्ने अस्ट्रेलियाका ७ जना खेलाडीसँग यसअघि विश्वकप जितेको अनुभव

नयाँ दिल्ली। एकदिवशीय विश्वकपको १३ औँ संस्करणको उपाधिका लागि आइतबार घरेलु टोली भारत र सर्वाधिक ५ पटकको विजेता अस्ट्रेलिया भिड्दै छन्।

विश्वकपको फाइनलमा भारत १२ वर्षपछि र अस्ट्रेलिया ८ वर्षपछि भिड्न लागेको हो। संयोग के छ भने अन्तिम पटक फाइनल खेल्दा यी दुवै टोलीले विश्वकप जितेका थिए।

अस्ट्रेलियन टोलीमा रहेका करिब आधा खेलाडीसँग यसअघि विश्वकप जितेको अनुभव रहेको छ। सन् २०१५ मा न्युजिल्यान्डलाई हराएर विश्वकप जित्दा अस्ट्रेलियन टोलीमा रहेका ७ खेलाडी अहिले पनि विश्वकप खेलिरहेका छन्।

कप्तान समेत रहेका प्याट कुमिन्स, डेभिड वार्नर, मिचेल स्टार्क, स्टिभन स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल मार्स र जोस हेजल उड अस्ट्रेलियाको १६ सदस्यीय टोलीमा छन् जसले सन् २०१५ को पनि विश्वकप खेलेका थिए।

यी सबै खेलाडी अहिले अस्ट्रेलियन टोलीमा पहिलो रोजाइका हुन्। उनीहरू सबैले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए ।

यसबीचमा स्मिथले लामो समय अस्ट्रेलियाको कप्तानी गरेका थिए। हेजलउड र वार्नरले पनि केही खेलमा कप्तानी गरेका थिए।

भारतीय टोलीमा भने दुई खेलाडीसँग मात्र विश्वकप जितेको अनुभव छ। विराट कोहली र रविचन्द्रन आश्विनले सन् २०११ को विश्वकप खेलेका थिए ।

कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक पुरा गर्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुलकरको नाममा रहेको ४९ शतकको विश्व कीर्तिमान तोडेका थिए ।

भारतीय टोलीमा रहेका आश्विनले एउटा मात्र खेल खेलेका छन् । लिग चरणमा उनले अस्ट्रेलियाविरुद्ध खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर