सुरुका ४ खेलमा भारतको प्लेइङ-११ मा ठाउँ नपाएका सामीले थप्न सक्नेछन् कीर्तिमान
नयाँ दिल्ली । आइतबार दिउँसो हुने एकदिवशीय विश्वकपको फाइनलमा भारतीय तेज बलर मोहम्मद सामी अस्ट्रेलियाका लागि टाउको दुखाई बन्न सक्नेछन् ।
सामीले जारी विश्वकपमा ६ खेल खेल्दै २३ विकेट लिएका छन् र उनी सर्वाधिक विकेट लिने बलर हुन् । दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका एडम जाम्पाले १० खेलमा २२ विकेट लिएका छन् ।
सामीले चालु विश्वकपका सुरुका ४ खेलमा खेल्ने मौका पाएका थिएनन् । शार्दुल ठाकुरको ब्याटिङ पनि गर्न सक्ने क्षमता र हार्दिक पान्ड्या नियमित अलराउन्डर भएकाले सामीलाई प्लेइङ-११ मा राखिएको थिएन ।
अस्ट्रेलिया, अफगानिस्तान, पाकिस्तान र बंगलादेशसँगको खेलमा उनले खेल्न पाएनन् ।
अक्टोबर २२ तारिखमा न्युजिल्यान्डविरुद्ध भएको खेलले सामीको भाग्य खुल्यो । उनले त्यस खेलमार्फत जारी विश्वकपमा डेब्यु गर्दै ५ विकेट लिएका थिए ।
शार्दुल ठाकुरको स्थानमा टोलीमा समावेश गरिएका सामीले ५ विकेट लिएपछि न्युजिल्यान्ड २ सय ७३ रनमा सीमित भएको थियो। भारतले यो खेल ४ विकेटले जित्यो ।
त्यसयता सामी लगातार प्लेइङ-११ मा रहेका छन् ।
सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भिड्नुअघि उनले लिग चरणका ५ मध्ये २ खेलमा कम्तीमा ५/५ विकेट लिएका थिए ।
सेमिफाइनलमा उनले ७ विकेट लिएपछि ३ सय ९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३ सय १७ रनमा अलआउट भएको थियो।
उक्त प्रदर्शनले उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने भारतीय बलर बने। यस्तै एउटै विश्वकपमा सर्वाधिक विकेट लिने भारतीय बलर पनि भएका छन् ।
सेमिफाइनलसम्म आइपुग्दा उनले २३ विकेट लिएका छन् । यसअघि जाहिर खानले सन् २०१९ को विश्वकपमा २१ विकेट लिएर नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
विश्वकपको एकै संस्करणमा सर्वाधिक विकेट लिने कीर्तिमान भने अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको छ। उनले सन् २०१९ को संस्करणमा २७ विकेट लिएका थिए ।
सामीसँग अब स्टार्कको कीर्तिमान तोड्ने अवसर रहेको छ । सन् २०१५ को विश्वकपमा पनि सर्वाधिक विकेट लिने बलर भएका स्टार्कले जारी संस्करणमा १३ विकेट हात पारेका छन् ।
सामी विश्वकप इतिहासमा सर्वाधिक विकेट लिने भारतीय बलर पनि भइसकेका छन् । उनले विश्वकपका ३ संस्करण खेल्दै १७ खेलमा ५४ विकेट लिएका छन् ।
उनीभन्दा अगाडि रहेका अस्ट्रेलियाका ग्लेन म्याग्राले ३९ खेलमा ७१ विकेट, श्रीलंकाका मुथ्यैया मुरलीथरनले ४० खेलमा ६८ विकेट र स्टार्कले २७ खेलमा ६२ विकेट लिएका छन् । श्रीलंकाका लासिथ मालिंगाले २९ खेलमा ५६ र पाकिस्तानका वासिम अक्रमले ३८ खेलमा ५५ विकेट लिएका थिए ।
विश्वकपमा यसअघि एकै संस्करणमा कुनैपनि बलरले ३ भन्दा बढी पटक कम्तीमा ५ विकेट लिएको छैन । सामीले न्युजिल्यान्डविरुद्ध ७ विकेट लिएपछि स्टार्कका नाममा रहेको ३ पटकको कीर्तिमान बराबरी गरेका थिए ।
सामीले सन् २०१३ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।