टिकटक समाज: एक ‘फेक’ समाज – Nepal Press

टिकटक समाज: एक ‘फेक’ समाज

सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि त्यसको पक्ष र विपक्षमा चर्को बहस भएको छ । टिकटक एक चिनियाँ निजी व्यापार कम्पनी हो । तर, चीनले नै टिकटकको उपयोग गर्दैन । टिकटक पक्षका एकथरी मानिस के भन्दैछन् भने बाहिरी दुनियाँले चीनलाई आशंका नगरोस् भनेर चीनमा टिकटक बन्द गरिएको रे ! टिकटकमार्फत विश्वका सरकारी वा वैयक्तिक सूचना चिनियाँ सरकार वा सेनासम्म पुग्छ भन्ने सोच्लान् कि भनेर त्यसो गरिएको रे !

यस्तो कुरा टिकटकले कहिल्यै आधिकारिक भनेको छैन । तर, टिकटकप्रेमीले यही दलिल गरेका छन् । टिकटकलाई ‘तिम्रै देशमा किन छैनौ भाइ ?’ भनेर सोध्ने मानिस धेरै छन्, उत्तर पाएका छैनन् । उसले आफ्नै कम्पनीको बैटडान्स भन्ने एप्स चिनियाँ नागरिकलाई बाँडेको छ रे, जसमा आफ्नो आधिकारिकताको तीन पुस्ते नभरी सुखै छैन रे ! तर, संसारका कसैले टिकटक खोल्न आफ्नो सामान्य परिचयसम्म दिनुपर्दैन । अरु देशका टिकटक उपयोग सन्दर्भ त ती देशकै कानून, नीतिको कुरा भयो । नेपालमा भने टिकटक अनधिकृत चलिरहेको छ/थियो ।

विश्व पूँजी बजारको कुन कम्पनीले, कसरी मानिसको पैसा धुतौं भनेर एउटा सामाजिक नामको निजी मिडिया खोल्दिन्छ, त्यसलाई कुनै पनि सार्वभौम देशले किन मान्दिनुपर्ने ? इन्टरनेटको विश्व छ, ल मानिदिऊँ ! त्यो कम्पनी नेपाल सरकारको कानून, नीतिमा चल्ने कि नचल्ने ?

चल्ने भए त्यसले यहीको कानून-नीतिअनुसार आफ्नो नियमलाई ‘अपडेट’ गर्ने कि नगर्ने ? कतिपयले फेसबुक, म्यासेन्जर, ट्विटर वा एक्स, इन्स्टा, युट्युब जस्ता सञ्जाल झन बढी विकृतिपूर्ण भनेका छन् । टिकटकभन्दा बढी साइबर उजुरी तीबाट परेको तथ्य देखाएका छन् । सबै सामाजिक सञ्जालमा विकृति छन् । तर, विकृतिविरुद्धको कानूनी उपचार गर्न सञ्जालीकृत मानिसको पहिचान पनि त हुनुपर्‍यो ! तिनलाई खोज्न जब त्यो सञ्जाल नै सहयोगी हुँदैन भने त्यसले आन्तरिक अराजकतामा झुमेर पैसामात्र असुल्ने मक्सद राखेको हुन्छ । कानूनी उपचारमा अरु सञ्जाल सहयोगी हुनु, टिकटक भने संस्थागत नै पन्छिनुको कारणले पीडित उकुसमुकुसमा छन् । सयमा नब्बे जस्तै सामाजिक सद्भावविरोधी, उत्तेजक र अश्लील प्रस्तुति होस् वा त्यसविरुद्धको उजुरी तथा निरुपण, सबै आधारबाट हेर्दा टिकटक नेपालको बजार साँढे भएको छ/थियो ।

विश्व पूँजी बजारको कुन कम्पनीले, कसरी मानिसको पैसा धुतौं भनेर एउटा सामाजिक नामको निजी मिडिया खोल्दिन्छ, त्यसलाई कुनै पनि सार्वभौम देशले किन मान्दिनुपर्ने ? इन्टरनेटको विश्व छ, ल मानिदिऊँ ! त्यो कम्पनी नेपाल सरकारको कानून, नीतिमा चल्ने कि नचल्ने ?

अब प्रश्न आउँछ, टिकटकले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएर ‘कन्भिन्स’ गर्न खोजे झैं,

एक, के सरकारले नियमनको प्रयासविना नै टिकटक बन्दको निर्णय लिएको हो ?

दुई, टिकटकका प्रतिनिधिले औपचारिक वार्तामै नेपालका सबै कानून र अदालतका निर्देशन मान्न आफूहरू तयार रहेको जनाएको हो ?

तीन, सामाजिक सद्भाव खलल पार्ने वा कसैको मानमर्दन गर्ने भिडिओहरू हटाउन टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई ‘यूआरएल’ (लिंक) उपलब्ध गराएको र त्यसमार्फत आउने अनुरोधहरूलाई तदारूकतासाथ कारबाही गर्ने बताएको हो ?

प्रधानमन्त्री प्रचण्डका एक स्वकीय सचिव गोकर्ण भट्टले भनेका छन् कि सरकारले छ-सात महिनादेखि नै टिकटकलाई नियमन गर्न खोजेको हो । ‘उसले नियमनका लागि डाटा उपलब्ध गराउन नसक्ने भन्यो । उसको सिस्टमअनुसार हाम्रो माग पूरा हुँदैन । ‘फेक आईडी’ जति पनि सजिलै बनाउन पाइने तर ‘आईडी लोकेसन डिटेल’ दिन नसक्ने ! नियमन हुने भए काठमाडौं महानगर प्रमुख बालेन शाहको ‘फेक आईडी’ अहिलेसम्म चलिराख्ने थिएन ।’ उनको यो भनाइले टिकटकको दाबीलाई पूरै खण्डित गर्छ ।

वास्तवमा अन्य सामाजिक सञ्जालका विषयवस्तु, प्रयोगकर्ताको गलत प्रस्तुति वा कार्यलाई नियमन तथा स्वनियमन गर्न सकिने प्रावधान छन् । तर, टिकटकमा सजिलै ‘फेक आईडी’ खोल्न सकिने र जे पायो त्यही सामग्री राख्न सकिने सुविधा छ । सरकारले प्रयोगकर्तालाई सभ्य बन्न आग्रहसम्म गर्ने हो । टिकटकका प्रतिनिधिलाई नै बोलाएर छलफल गरे पनि कुनै निकास ननिस्किएपछि र टिकटक झनै छाडा हुन थालेपछि प्रतिबन्धको विकल्प सायदै हुन्थ्यो ? आफ्नै विकृति भजाएर रमाउने छुट कुनै देश वा सरकारलाई छैन पनि ।

केही मुठ्ठीभर तर सार्वजनिक देखिने, सुनिने मानिसहरूले अभिव्यक्ति स्वतन्त्रताको आलोकमा टिकटक प्रतिबन्ध प्रकरणलाई हेरेका छन् र सरकारको चर्को आलोचना गरेका छन् । १२ भाइले चलाएका विभिन्न मिडियाको आलोचना गर्ने रवि लामिछानेदेखि स्वयं ती १२ भाइसम्म र राप्रपा–राजावादी वा अरु नयाँ भाइहरूसमेत त्यही स्वरमा छन् । कैयौं नयाँ/पुराना टपरटुइँयाहरूको यसैमा आवाज मिलेको छ । कुन दिन विश्वको पूँजी दोहन गर्ने ‘कर्पोरेट’ले एउटा कम्पनी खोल्ला, त्यसको सुतीसुती वा उठीउठी उपयोग गरौंला र त्यो विकृत भएर बन्द गरिएको दिन बन्द गर्ने ‘अथोरिटी’को धज्जी उडाउँला भने जसरी तिनको ‘रेडिमेड’ धारणा बनेको छ ।

चिनियाँ निजी कम्पनीको टिकटक प्रतिबन्ध गरेर सरकारले भारत, अमेरिकाको भलाइ सोच्यो भन्नेहरू पनि रहेछन् । चीन, भारत र अमेरिकाको त कुरै छाडौं, युरोपको कुनै सानो देशमा पानी पर्दा पनि काठमाडौंमा छाता ओढ्ने तथाकथित राष्ट्रवादी यत्रतत्र छन् । स्वतन्त्र र सार्वभौम देश हो, आफ्नै संघीय लोकतान्त्रिक/गणतान्त्रिक संविधान छ, वर्तमान प्रचण्ड सरकारले सन्तुलित वैदेशिक सम्बन्ध निर्माणमा धेरै आयाम थपेको छ ।

‘२०८४ मा देश कब्जा गर्छु’ भन्नेहरू कति सतही छन्, तिनले आम सरोकार हेरैकै छैनन्, हेर्नै सक्दैनन् भन्ने यो एक गतिलो उदाहरण हो । किनकि बहुसंख्यक जनता टिकटक प्रतिबन्धकै पक्षमा छन्- प्रतिबन्ध विपक्षका मिडियाले गरेको सर्वेक्षणमा होस् वा घरघर, बजार, चोक र सवारीसाधनमा भेटिने जनताको आवाजमा होस् ।

विश्लेषक केशव दाहालले भने जस्तै पत्रु खाना रोक्नुलाई खाना खाने अधिकार कुण्ठित गरेको मानिँदैन । र, अर्का विश्लेषक कोमल भट्टराईले भने जस्तै नेपालको संविधानको धारा १७ (२) (क) अनुसार प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता छ । टिकटक बन्द हुँदैमा कुनै पनि नागरिकबाट यो खोसिँदैन । बरु सदाबहार दुरुपयोग हुने यस्ता दूषित सञ्जालको प्रतिबन्धले संवेदित सञ्चार/पत्रकारितालाई नै मलजल गर्नेछ र संवेदित कलाकारितालाई समेत । प्रायोजित वा स्वउक्साहटमा कैयौं वकिलहरू यसविरुद्ध सर्वोच्च अदालत पुगिसकेका छन् । तर, भीपीएनबाट आओस् वा अदालतबाट आओस्- नेपालमा टिकटक एक असामाजिक सञ्जाल सावित भैसकेको छ ।

चिनियाँ निजी कम्पनीको टिकटक प्रतिबन्ध गरेर सरकारले भारत, अमेरिकाको भलाइ सोच्यो भन्नेहरू पनि रहेछन् । चीन, भारत र अमेरिकाको त कुरै छाडौं, युरोपको कुनै सानो देशमा पानी पर्दा पनि काठमाडौंमा छाता ओढ्ने तथाकथित राष्ट्रवादी यत्रतत्र छन् । स्वतन्त्र र सार्वभौम देश हो, आफ्नै संघीय लोकतान्त्रिक/गणतान्त्रिक संविधान छ, वर्तमान प्रचण्ड सरकारले सन्तुलित वैदेशिक सम्बन्ध निर्माणमा धेरै आयाम थपेको छ । सबैलाई सापेक्ष विश्वासमा लिएको छ । यसलाई सामरिक पक्षधरताको ‘लेबल’ दिने कुरा आफ्नै नेतृत्वमाथिको अविश्वास हो ।

अझ कम्युनिष्ट भनेका त सामाजिक सञ्जाल न अरु, सबैखाले पूँजीवादी कमाउधन्दाका विरोधी हुन् । सामूहिक र संस्थागत संरचनाका पक्षपाती हुन् । टिकटक के, अरु कुनै पनि पूँजीवादी (अ)सामाजिक सञ्जालको भरपर्दो आफ्नै मौलिकताको सामाजिक मिडिया विकल्पमा जोड दिनुपर्छ तिनले । मानिसको स्वरोजगारको चिन्ता हो भने आजको इन्टरनेट युगमा विकृत टिकटकबाहेक पनि स्वरोजगारको विज्ञापन गर्ने धेरै माध्यम छन् । चीनको सञ्जाल हुँदैमा त्यो दूधले धोएको हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *