कांग्रेस पदाधिकारी बैठक : भूकम्पप्रभावितलाई थप सहयोग गर्नेबारे छलफल – Nepal Press

कांग्रेस पदाधिकारी बैठक : भूकम्पप्रभावितलाई थप सहयोग गर्नेबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा थप सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको पदाधिकारी बैठकमा राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र प्रभावित जनतालाई थप सहयोग कसरी गर्न सकिन्छ भन्ने बारे छलफल भएको पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रूपैयाँ आज जिल्ला तहमा पुग्ने उनले जानकारी दिए । महतका अनुसार प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरूले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पनि बैठकमा छलफल भएको छ ।

उहाँले भन्नुभयो, ‘भूकम्पप्रभावित क्षेत्रमा सरकारले ५० हजारको दरले हरेक क्षति भएका घरका परिवारलाई दिने अस्थायी आवासको लागि भनेको छ । त्यो चाँडै पुग्नुपर्ने र आज जिल्ला तहमा पुग्छ र जिल्ला विपद् कोषले गाउँपालिकामार्फत सम्बन्धितकोमा पुग्छ, त्यसपछि अस्थायी आवास बनाउनुहुनेछ । पार्टीले त्यहाँ स्वयंसेवक बेसिसमा सहयोग गर्न चाहनेहरुलाई परिचालन गर्ने कुरा भएको छ ।’

मन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रूपमा हेरिरहेको बताए ।

उहाँले भन्नुभयो, ‘हामी लोकतन्त्रमा विश्वास गर्ने सरकार र पार्टी हो । संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको छ । अभिव्यक्ति, विरोध, माग गर्ने स्वतन्त्रता सुनिश्चित छन् । तर, एकै ठाउँमा दुई पक्षीय उपस्थित हुने, त्यसबाट आउनसक्ने समस्याहरूका बारेमा सरकारले नजिकबाट हेरिरहेको छ । सडकको परिस्थिति आउन नदिने, कुरामा सरकार सचेत छ । समाज बाहिर गएर कुनैपनि गतिविधि हुनु हुँदैन । अहिले सामाजिक सञ्जालदेखि हरेक माध्यमको प्रयोग गरेर आफ्नो अभिव्यक्ति दिइरहेका छन् । त्यो त लोकतन्त्रले दिएको हो । अधिकारको लागि जुन पार्टीहरु लडे, जनताहरु लडे, त्यहाँबाट आएको हो । अधिकार प्राप्तिको स्वतन्त्रताका लागि हामी भोलि पनि लड्छौँ । हामीले पाएको अधिकारको प्रयोग गरेर त्यही अधिकारको निषेध गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिनु हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर