कर्णलीका भूकम्प प्रभावितसँग दुःख साट्दै सुदूरका समाजसेवी रिता र लक्ष्मी – Nepal Press

कर्णलीका भूकम्प प्रभावितसँग दुःख साट्दै सुदूरका समाजसेवी रिता र लक्ष्मी

डोटी । बाजुराको बुढीगंगा नगरपालिका–३ कि रिता शाही अचेल कर्णाली प्रदेशमा व्यस्त छिन् । सामाजिक सेवामा समर्पित रिता जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुसँग सुखदुःख साट्दै छन् ।

रितासंगै भूकम्प पीडितको पीडामा मल्हम लाउने काम गर्दै छन् कैलाली, गौरीगंगा नगरपालिका–६ कि लक्ष्मी बोगटी कुँवर ।

कात्तिक १७ गते राती ११ वजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु वनाएर गएको ६.४ म्याग्निच्यूटको भूकम्पबाट पीडितहरुको उद्दार तथा राहातका लागि रिता र लक्ष्मी कात्तिक १९ गते त्यसतर्फ लागिन् । बिभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा संकलन गरेको राहात सामग्रीसंगै पिडितहरुलाई परामर्श गर्दै आईरहेकी छन् उनीहरु ।

‘तत्काल राहात बितरण गर्नुका साथसाथै पिडीतहरुलाई परामर्श दिनु पनि आवश्यक छ’ नर्सिङ्ग पृष्ठभूमीकी रिताले भनिन् ‘गर्भवती र सुत्केरी महिलाहरुलाई मानसिक असर नपरोस भनेर स्वास्थ्य परामर्श दिईरहेका छौं’, रिता थप्छिन,् ‘विपत्तिको बेला नियमित स्वास्थ चेकचाज गर्ने, नियमित सुई लागाउने, पोषण जस्ता कुरामा कसैको ध्यान हुँदैन ।’

चिसोको समयमा पीडितहरुले खुला आकाशमूनी रात बिताउनु पर्ने भएकाले धेरैको स्वास्थ्यमा समस्या देखिएको रिता वताउँछिन् । उनी भन्छिन् ‘बालकालिकाहरुमा निमोनिया देखिएको छ, जेष्ठ नागरिकहरुमा दमको समस्या देखिदैछ ।’ भूकम्प पीडितहरुको चिसोका कारण ज्यान गईरहेको रिताले बताइन् ।

आफुहरुले पीडितहरुसंग भेट गर्दै उनीहरुको तत्कालको आवश्यक अनुसार राहात सामग्री वितरण गर्ने गरेको लक्ष्मी बताउँछिन् । ‘देश विदेशमा बस्ने विभिन्न व्यक्तिहरुको सहयोगमा करिब ६७० परिवारलाई राहात बितरण गरेका छौं’ लक्ष्मीले भनिन् ‘जाजरकोट र रुकुममा गर्भवती र सुत्केरी महिलालाई नगद पनि सहयोग गरेका छौं ।’

विपद्को समयमा आफुहरुले गरेको सानो सहयोगले कसैलाई राहात पुगोस् भन्ने सोचेर आफुहरु भूकम्प पीडित क्षेत्रमा आएको रिता र लक्ष्मी बताउँछिन् । ‘हामी धेरै ठुलो सहयोग त गर्न सकदैनौं’, रिता भन्छिन्, ‘तर पीडितहरुले आफ्ना पीडा साट्दैछन्, सक्दो केही सहयोग पनि गर्दैछौं ।’

पीडित परिवारलाई आवश्यकता अनुसार खाद्यान्न ,त्रिपाल, ओड्ने ओछ्याउने, बालिकालाई चिसोमा लगाउने न्यानो लुगा, पि–फमहरु घरमै गएर हस्तान्तरण गरेको लक्ष्मी बताउँछिन् ।

सञ्चारमाध्यममा भूकम्प प्रभागित क्षेत्रमा धेरै सामग्री गएको भन्ने समाचार आईरहेपनि बास्तविक भूकम्प पीडितहरुले राहात सामग्री नपाएको रिताको अनुभव छ ।

‘सडक पुग्ने, सजिलो ठाउँमा आएर राहात बाढ्ने गरेका छन्’ रिताले भनिन् ‘दुर्गममा गएर उनीहरुको वास्तविक आवश्यकता बुझेर राहात बितरण भईरहेको छैन ।’ चिसोका कारण बिरामी हुनेको संख्या बढ्दै गएको तर कतिपय ठाउँमा सिटामोल समेत नपाईने अवस्था रहेको रिताले वताईन् । रिता थप्छिन् ‘राहात बितरणमा पनि दलीय र व्यक्तिगत स्वार्थ पुरा गर्ने जस्तो देखिएको छ ।’

पीडितहरुको दुःख हेर्दा उनीहरुसंग आफु पनि रुने गरेको वताउँछिन् लक्ष्मी । ‘आफन्त गुमाएका छन्, घर गुमाएका छन्, सम्पत्ति गुमाएका छन्’ लक्ष्मी भन्छिन् ‘एकातिर के खाने कहाँ बस्ने भन्ने चिन्ता छ, अर्कोतिर आफन्त गुमाएको पीडा छ ।’ राज्यले राहात बितरणलाई व्यवस्थित गर्न नसकेको लक्ष्मीको भनाई छ ।

उनले थपिन् ‘चिसोको समयमा ज्यान जोगाउन सक्ने गरी व्यवस्थापन हुनु जरुरी छ ।’

सामाजिक अभियान्ता रिता र लक्ष्मी विगत लामो समयदेखि देशका विभिन्न ठाउँमा प्रकोपमा सहयोग गर्दै आइरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *