विज्ञलाई प्रश्न- नेपालमा टेलिभिजन हेर्ने दर्शक घटेका कि व्यवसायिक बन्न नसक्दा धराशायी भए ? (भिडिओ) – Nepal Press

विज्ञलाई प्रश्न- नेपालमा टेलिभिजन हेर्ने दर्शक घटेका कि व्यवसायिक बन्न नसक्दा धराशायी भए ? (भिडिओ)

काठमाडौं । आज २१ नोभेम्बर यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरू हेर्न सकिने अवस्था आएको हो ।

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । टेलिभिजन दिवसको सन्दर्भ पारेर नेपालमा टेलिभिजनको अवस्था, कन्टेन प्रस्तुतीकरण, सुधारका लागि गर्नुपर्ने कामलगायतका विषयमा विज्ञहरूसँग कुराकानी गरेर न्यूज एजेन्सी नेपालले तयार पारेको सामग्री-

अहिले पनि टेलिभिजनको महत्व कम नभएको बताउँछन् भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहाल । नेपाली टेलिभिजनमा प्रशारण हुने कन्टेन्टहरूको (विषयवस्तु) स्तर खस्केको बताउँछन् । कन्टेन्ट राम्रो भएसम्म टेलिभिजनको महत्व नघट्ने उनले बताए । दाहालले प्रशारणको शैली र आम दर्शकमा पुग्ने माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्व छैन भन्न नहुने बताए । उनले मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नहुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको बताएका छन् । नक्कल गरेर विषयवस्तु पस्किने प्रचलनले पछिल्लो समय सञ्चारमाध्यमको महत्व खस्किँदै गएको उनको भनाइ छ ।

दाहालले भने, ‘मिडिया खुला भएपछि प्रतिष्पर्धामा जाँदा त्यसको आधार, मूल्यांकन, क्षमताको आँकलन नै नगरी सबै दौडिएको जस्तो देखिन्छ । टेलिभिजन सञ्चालन हुनु पहिलाको जस्तो अब रहेन । एउटा कोठाबाट मात्रै पनि टेलिभिजन सञ्चालन हुनसक्छ । हाम्रोमा मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नभएको देखिन्छ । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किनुपर्छ । हाम्रोमा एउटाले एउटा कन्टेन निकाल्यो भने त्यस्तै कन्टेनहरु कपी गरेर राख्ने प्रचलन छ । हाम्रोमा राम्रो न्युज च्यानल नै बन्न सकेका छैनन् ।’

टेलिभिजनको गुणस्तर उच्च बनाउनुपर्नेमा उनले जोड दिए । राम्रोसँग व्यवस्थापन हुनसके नेपालमा विज्ञापनको अभाव हुने अवस्था नरहेको दाहालको भनाइ छ ।

‘सबै पाटो हेरेर न्युजलाई सेलेबल बनाउनुपर्छ । समाचारको गुणस्तर उच्च राख्नुपर्छ । विश्वमा यति धेरै सामग्रीहरु उत्पादन भइरहेका छन्, तिनको बजारीकरणका लागि विज्ञापन एउटा ठूलो आधार हो । हाम्रोमा विज्ञापनको अभाव हुनुपर्ने अवस्था देखिँदैन । हुन दिएको देखिन्छ । नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने त्यो उद्योगप्रतिको इमान्दारिता कति छ हेर्नुपर्छ । हाम्रोमा राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नै देखिँदैन । राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेको देखिन्छ’, उनी भन्छन् ।

नेपालमा टेलिभिजनलाई मात्रै नभएर समग्र मिडियालाई नै हेर्ने दृष्टिकोण कमजोर हुँदै गएको बताउँदै दाहालले आफ्नो स्वार्थका लागि मिडियाको प्रयोग गर्ने हो भने सञ्चारमाध्यमको भूमिका कमजोर बन्दै जानेतर्फ सचेत गराए ।

विज्ञ दाहालले सञ्चारमाध्यमलाई उपयोग गर्ने साधनमात्रै बनाउन नहुने बताएका छन् ।

योजनाविना लगानीले एक वर्ष नपुग्दै टेलिभिजन बन्द हुने अवस्थामा : डा. अर्याल

वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्यालले कमजोर लगानीमा योजनाविना टेलिभिजन स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको बताएका छन् । सरकारले कुनै योजनाविना टेलिभिजन अगाडि बढाउँदा सबै भन्दा सस्तामा उत्पादन (प्रोडक्सन) भएका मनोरञ्जनका सामग्रिमा टेलिभिजनहरु केन्द्रित भएको उनको भनाइ छ ।

अर्याल भन्छन्,‘टेलिभिजनहरूले गीत संगीत र हल्लाका कन्टेनहरू बजाउने काममात्रै भएका छन् । सरकारले कन्टेन बनाउनको लागि गाइडलाइन बनाउनुपर्ने थियो । सटेन खालका टेलिभिजनहरुलाई यति उत्पादन गर्नैपर्छ भन्नुपर्ने थियो । केही न केही गाइड लाइन हुनुपर्ने थियो । तर अहिलेसम्म छैन । अहिले नेपाल टेलिभिजन नै अप्ठ्यारो स्थितिमा छ ।’

सहप्राध्यापक अर्यालले गणतान्त्रिक मुलुकमा सरकारले टेलिभिजन चलाएर बस्न नपर्ने बताएका छन् । उहाँले वर्तमान सरकारले नेपाल टेलिभिजनलाई पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने भन्दा पनि रेडियो र टेलिभिजन मर्ज गर्ने कुरा गर्नु गलत भएको उनको धारणा छ ।

अर्यालले भने, ‘सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने प्राइभेट क्षेत्रलाई पनि टेलिभिजन चलाउने दिने तर दुईबीचको अन्तर वा भूमिकामा फरक हुनुपर्छ । नेपाल टेलिभिजनलाई सरकारको ठाडो निर्देशनमा नराखौं संसदप्रति उत्तरदायी बनाऊँ, पब्लिक सर्भिस बोर्ड कास्टिङ बीबीसी र एनएचकेले गरेको जस्तो गरौं भनेर बनाएको योजना कहाँ पुगिसक्यो । यतिका वर्षसम्म हरायो, हुँदा हुँदा अहिलेको सरकारले बुझेको के रहेछ भन्दा रेडियो र टेलिभिजनलाई मर्ज गर्ने भनेको छ । गणतान्त्रिक व्यवस्थामा राज्यले टेलिभिजन चलाएर बस्नुपर्दैन ।’

प्राइभेट क्षेत्रका टेलिभिजन पनि योजनाविहीन रहेको उनको टिप्पणी छ । ठूलो लगानीमा हल्लाखल्ला गरेर खुलेका नयाँ टेलिभिजन पनि एक/डेढ वर्षमै बन्द भएको उनी बताउँछन् ।

‘योजनाविना टेलिभिजनहरु स्थापना गरी सञ्चालन गर्दा श्रमजीवीका समस्याहरु आइरहेका छन् । भने त्यो भन्दा डर लाग्दो कुरा अपारदर्शिता भइरहेको छ । लगानी कहाँबाट आएको छ भन्ने कुरा पनि सोच्ने चलन छैन । टेलिभिजनहरुमा धेरै विकृतिहरु छन्’, अर्याल भन्छन् ।

पछिल्लो समय नेपाली दर्शकहरु भारतीय मिडियाका चर्चित कार्यक्रमले तानेको भन्दै नेपाली मिडिया उद्यमीहरुले पनि त्यही अनुसार सोच्नुपर्ने बेला आएको बताए ।

उनले थपे,‘पत्रकारहरुले मिडियाका उद्यमीहरुलाई असाध्यै माया गरे । मिडिया उद्यमीको घरमा कसैले ढुङ्गा कसैले ठोक्दा पत्रकारहरु धर्ना बस्न पुगे तर त्यो उद्यमीको सम्पति थियो । तर पत्रकारहरुले सार्वजनिक सम्पति भनेर माया गरे । तर, आज मिडिया हाउसबाट मानिसहरु रुँदै निस्किरहेका छन् । अहिले मिडियाका मालिकहरु पनि असाध्यै अव्यवसायिक आफू के काम गर्दैछु भन्ने कुरा नबुझेका रहेछन् ।’

मिडिया लगानी गर्नु भनेको अरुमा लगानी गर्नुभन्दा फरक हो भन्ने कुरा मिडिया उद्यमीहरूले नबुझ्दा मिडिया हाउसमा वर्तमान विभिन्न समस्या देखिएको अर्यालको भनाइ छ ।

टेलिभिजनलाई सामाजिक सञ्जालले निकै दबाबमा राखेका छन्ः हुमागाईं

आम सञ्चार तथा प्रशारण विज्ञ लक्ष्मण हुमागाईं नेपालको टेलिभिजन उद्योग कतै कमजोर बनेको हो कि भन्ने महसुस हुन थालेको बताउँछन् । टेलिभिजनलाई छुट्टै संरक्षणको नीति आवश्यक परेको भन्दै उनले टेलिभिजनको बजार सकिँदैछ वा टेलिभिजनलाई सामाजिक सञ्जालले निकै दबाबमा राखेको हो की भन्ने आशंका उब्जिएको बताएका छन् । सामाजिक सञ्जालको दबाब विश्वभर नै परेको बताउँदै हुमागाईंले सामाजिक सञ्जाल मिडिया भने नभएको बताए ।

उहाँले भन्नुभयो, ‘नेपाललाई मात्रै नहेरेर विश्वको सन्दर्भलाई हेर्दा सामाजिक सञ्जालको दबाब विश्वभर नै बढेको छ । सामाजिक सञ्जाल मिडिया होइन, माध्यम मात्रै हुन् । यी आम सञ्चारका माध्यम होइनन्, व्यक्तिगत माध्यम हुन् । सामाजिक सञ्जालको कारणले गर्दा विज्ञापन बजारमा केही प्रभाव परेको छ । केही विज्ञापन सामाजिक सञ्जालतिर गएका छन् । आज पनि विश्वमा टेलिभिजनको विज्ञापन एक नम्बरमा पर्छ, त्यसपछि मात्रै सामाजिक सञ्जालमान जाने विज्ञापन हेरिन्छ ।’

टेलिभिजनको महत्व अहिले नघटेको बरु बढ्दै गइरहेको उनको दाबी छ । मिडियाको नियमन निकायमा सरकार चुकेको उनको टिप्पणी छ ।

उनले भने, ‘ हामीले यति पैसा बुझाऊ, लाइसेन्स लैजाऊ भन्ने रुपमा टेलिभिजन खोल्न अनुमति दियौँ, जसको कारणले विकृति बढेको छ, लगानी, प्लान, केही हेरेनौँ, सामान्य प्राविधिक कुरालाई हेरेर रेडियो र टेलिभिजनलाई अनुमति दियौँ, जसको परिणाम अहिले मुलुकले भोग्दैछ । जति सकिन्छ छिटो, आम सञ्चारमाध्यमको नियामक निकाय गठन गरौँ, त्यसले प्राविधिक विषयका साथै योजना, लगानी, श्रोत र उद्देश्य नहेरी सञ्चारमाध्यमलाई जथाभावी स्वीकृति दिनबाट रोकौँ । जति सकिन्छ छिटो आमसञ्चारमा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पठाउनु पर्छ ।’

सञ्चारमाध्यमको नियमन गर्ने पाटो अहिलेसम्म कुनै निकायले नसोचेको हुमागाईँले बताए । यो समस्या बढ्दै जाने हो भने लोकतन्त्रमाथि र स्वतन्त्रतामाथि प्रहार हुनसक्ने उनको भनाइ छ ।

हुमागाईँले भने, ‘मिडिया कन्टेन निःशुल्क पाइन्छ भन्ने जुन हामी कहाँ एउटा भ्रम छ, त्यो त्याग्नुपर्छ । त्यसबाट मुक्त हुनुपर्छ । कन्टेन राज्यले पनि निःशुल्क दिने होइन । निजी क्षेत्रले आफ्ना कुनैपनि कन्टेन निःशुल्क दिने भन्ने हुँदै हुँदैन । निजी क्षेत्रका टेलिभिजनले जतिसक्दो छिटो तिनलाई पेमा कन्भर्ट गर्नुपर्छ । जतिपनि अनलाइन छन् तिनीहरुले जतिपनि कन्टेन क्रिएट गरेका छन्, तिनलाई प्रिमियममा कन्भर्ट गर्ने र पेमा लैजानुपर्छ ।’

निःशुल्क कन्टेन दिएर विज्ञापन बजारबाट चल्छु भनेर नेपालमा सञ्चालनमा आएका मिडियाको रोडम्याप नै गलत रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर