लघुवित्तबाट लिएको ऋण तिर्दैनौं, घर नफर्कने गरी फागुनबाट धर्नामा बस्छौं: लघुवित्त पीडित – Nepal Press

लघुवित्तबाट लिएको ऋण तिर्दैनौं, घर नफर्कने गरी फागुनबाट धर्नामा बस्छौं: लघुवित्त पीडित

काठमाडौं । लघुवित्त संस्थाबाट प्रभावितहरुले सातै प्रदेशमा फेरि विरोध प्रदर्शन गर्ने भएका छन् ।

लघुवित्तका प्रभावितहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातै प्रदेशमा प्रदर्शन गर्ने बताएका हुन् ।

लघुवित्तका ऋणीहरुले आफूले संस्थाबाट दुःख पाएको भन्दै सरकारसमक्ष ऋण मिनाहादेखि मुआब्जासम्मका माग राखेका छन् । उनीहरुले लघुवित्तमार्फत लिएको ऋणसमेत नतिर्ने चेतावनी दिएका छन् ।

ऋणीहरुले लघुवित्त तथा वितीय संस्थाहरु खारेज हुनुपर्ने, लघुवित्त संस्थाहरुबाट लगाइएको सामूहिक ऋण मिनाहा, सर्वसाधारण र गरिबहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था, समाजवादी अर्थतन्त्रको विकास, जनपक्षीय मजुदर खेती र मौद्रिक नीति कायम गर्नुपर्ने, कालोसूची तथा धितो लिलामी फुकुवा र भूमि ऐन तथा वित्तीय शोषणका पीडितहरुलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

सामाजिक आन्दोलनमार्फत बैकल्पिक प्रणालीको विषयमा कुरा उठाउन खोजिएको पीडितहरुको दाबी छ । संसदीय व्यवस्थाले राम्रो काम गर्न नसकेको भन्दै लघुवित्त पीडितहरुले राष्ट्र बैंक घेराउ केन्द्रित अभियान चलाउने बताए । जसअनुसार मंसिर ५ गते काठमाडौंलगायतका जिल्लाहरुमा प्रदर्शन हुनेछ ।

त्यस्तै मंसिर १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, २६ गते राष्ट्र बैंक केन्द्रित आन्दोलन, प्रदेश सम्मेलन सुदूरपश्चिमबाट सुरु गर्ने, पुस ३ गते कर्णाली, ८ गते लुम्बिनी, १३ गते गण्डकी, १७ गते बाग्मती, २४ गते मधेश र माघ ७ गते कोशी प्रदेशमा प्रदर्शन हुने पीडितहरुले बताएका छन् ।

त्यसैगरी माघ १६ र १७ गते राष्ट्रिय सम्मेलन गर्ने र फागुन १ गते काठमाडौं केन्द्रित अनिश्चितकालीन धर्ना तथा विरोध प्रदर्शन गर्ने उनीहरुले घोषण गरेका छन् । फागुन १ गतेदेखि घर नफर्कने गरी धर्नामा बस्न पीडितहरु राजधानीमा आउने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *