२२ जिल्लाका एचआईभी संक्रमित आदिवासी महिलाबारे अनुसन्धान हुने – Nepal Press

२२ जिल्लाका एचआईभी संक्रमित आदिवासी महिलाबारे अनुसन्धान हुने

काठमाडौं । देशका २२ जिल्लाका एचआईभी एड्स संक्रमति आदिवासी जनजाति महिला तथा युवतीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे अनुसन्धान हुने भएको छ ।

एचआईभी एड्सको क्षेत्रका काम गर्दै आएको भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले नेपालका ७ वटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे अनुसन्धान गर्ने भएको हो ।

एचआईभी एड्स संक्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मा सूचीकृत महिला तथा युवतीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले जानकारी दिए ।

उक्त अनुसन्धान प्रतिवेदनको आधारमा एचआईभी एड्स संक्रमित आदिवासी जनजाति महिला तथा युवती लक्षित कार्यक्रमसमेत अघि बढाइने उनले बताए ।

क्यानाडास्थित कम्युनिटिज एलाइन्स एण्ड नेटवर्क (क्यान) काे सहयाेगमा यस्तो अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्याण्डमा एकैपटक सुरु हुने कार्यकारी प्रमुख दिदियाले बताए ।

‘नेपालमा एचआईभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन भएको छैन’, उनले भने, ‘त्यसैले यो अनुसन्धान गर्दैछौं । अनुसन्धानपछि संक्रमित महिला तथा युवतीको लागि उपचार तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउँछौं ।’

उक्त अनुसन्धानको लागि सुरुवातले मंगलबार दुई दिने अनुसन्धान सहायकहरुको तालिम सञ्चालन गरेको छ । भक्तपुरमा सुरु भएको तालिममा २० जना सहभागी छन् । तालिमपछि सहभागीहरु सम्बन्धित जिल्लामा परिचालन हुने कार्यक्रम अधिकृत अनुप अधिकारीले जानकारी दिए ।

तालिम कार्यक्रममा ग्लोबल फण्डका लागि नेपालस्थित कन्ट्री काेअर्डिनेशन मेकानिकजम (सीसीएम)की उपाध्यक्ष दीक्षा रिमालले एचआईभी एड्स संक्रमणबाट हुने क्षति न्यूनीकरण गर्न अनुसन्धानको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताइन् ।

उनले नेपालमा एचआईभी एड्सको क्षेत्रमा तथ्यांक र लक्ष्यमा मात्रै अलमलिँदा उपचार तथा पुनःस्थापनामा बेवास्ता भइरहेको अनुभूति भएको बताइन् ।

एचआईभी संक्रमित महिलाको महासंघकी अध्यक्ष सारा थापामगरले एचआईभी संक्रमित समग्र महिलाकै यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको क्षेत्रमा समस्या रहेको औंल्याइन् ।

उनले अनुसन्धानले समग्र एचआईभी संक्रमित महिला, युवती र बालिकालाई समेट्नुपर्ने सुझाइन् ।

कार्यक्रममा सुरुवातका कोषाध्यक्ष ईश्वरकाजी खाइजू र रिसर्च सहसंयोजक ज्ञानु महर्जनले एचआईभी संक्रमति आदिवासी तथा जनजाति महिला र युवतीहरुको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था उजागर गर्न अनुसन्धानले सघाउने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर