रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी
रुपन्देही र कपिलवस्तुका खोलानालामा माछाको संख्या बढाउन छाडियो हजारौँ भुरा
रुपन्देही । रुपन्देही र कपिलवस्तुका अधिकांश खोला नालामा जथाभाबी रासायनिक र प्लाष्टिक जन्य फोहोर मिसाइएकाले माछाको संख्यामा कमी आएको छ । यसले जलाशयहरूमा जलीय जीव र जलचरको संख्या कम मात्रै भइरहेको छैन वातावरणीय प्रभावसमेत बढाएको छ ।
पछिल्लो समय रुपन्देही र कपिलवस्तुमा व्यावसायिक रूपमा माछा पालन गर्नेहरू बढे पनि पुराना खोलानाला र ताल तलैयामा माछाको संख्या कम भएको भन्दै वातावरणविद्हरूले चिन्ता गर्न थालेका छन् ।
यहीँ चिन्ता बढेपछि वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ माछा पालक किसान र माछासँग सम्बन्धित कार्यालयहरूले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् ।
मङ्गलवार जैविक विविधताको संरक्षण गर्ने ध्येयका साथ रुपन्देहीको तिनाउ खोलामा ५० हजार माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको छ । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले माछाका भुरा दानव खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
बाढी, पहिरो र अत्यधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको छ । यसले जलचर र जलीय जीवको संंख्यामा क्रमिक रूपमा असर गरिरहेको छ ।
त्यसैमा बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइएको छ । यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेश सिंह कुँवरले बताए ।
पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा आउँछ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिँचाइका लागि उपयुक्त मानिने मत्स्य शुद्ध नस्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र, रुपन्देहीका प्रमुख महेशचन्द गुप्ताले बताए ।
अब प्रदेश सरकारले अन्य मन्त्रालयहरूको सहकार्यमा चाँडै वातावरण सम्बन्धी कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने मन्त्री भण्डारीलाल अहिरले बताए । वातावरणीय सन्तुलन कायम राख्न जैविक विविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ । त्यसैले सबै प्राणी र वनस्पतिको वातावरणलाई सन्तुलनमा राख्न आआफ्नो भूमिका हुन्छ ।
रुपन्देहीमा माछा मारेर जीविका चलाउने हजारौँ परिवार छन् । माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ । उनीहरूको सहजताका लागि पनि हरेक वर्ष खोलाहरूमा माछाका भुरा छोड्ने गरिएको छ । जैविक विविधताको संरक्षण गर्न मानव प्राणी बढी सचेत हुन आवश्यक छ । नत्र जीव, वनस्पति सबैको जीव चक्रमा गम्भीर समस्या उत्पन्न हुने विज्ञहरू बताउँछन् ।
जगदीशपुर तालमा छाडियो १० हजार माछाको भुरा
विश्व मत्स्य पालन दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा हालिएको छ । ‘जलीय जैविक विविधताको संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौँ’ भन्ने नारासहित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले तालमा स्थानीय र विकासी जातका माछाका भुरा हालेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, जगदशीपुर जलाशय व्यवस्थापन बहुरोकार मञ्चका अध्यक्ष ललित गुरुङ, विज्ञ केन्द्रका प्रमुख डाक्टर परबेज आलमलगायतले तालमा भुरा हालेका थिए ।
तालमा कमन, सिल्भर, रहु र नैनी ढाई ढाई हजारका दरले भुरा हालिएको विज्ञ केन्द्रका प्रमुख आलमले बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले व्यावसायिक माछा पालनमा कृषकहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।
उत्पादन गरेका माछाको बजारीकरणका लागि सरकारले पहल गर्नुपर्ने बताउँदै उनले भारतबाट अवैधरुपमा आयात हुने माछालाई रोक्न सीमा नाकामा नै कडाइ गर्नुपर्ने बताए । बहु सरोकार मञ्चका अध्यक्ष ललित गुरुङले मनोरम तालमा विज्ञ केन्द्रले माछाको भुरा हाल्नु राम्रो काम भएको बताए ।
उनले १ सय ५७ हेक्टरमा फैलिएको तालमा धेरै माछा र विभिन्न पंक्षीहरु रहेको र तालमा रहेको माछालाई व्यवस्थापन गर्न ध्यान दिनुपर्ने माग गरे । सिमसारको नाममा माछा मार्न नहुने भन्ने कुरा गलत भएको भन्दै उनले माछाको व्यवस्थापन हुनुपर्ने धारणा राखे ।
विज्ञ केन्द्रका प्रमुख आलमले माछामा प्रोटिनको मात्रा बढी पाइने, आयआर्जनको माध्यम, औषधीय गुणले भरिपूर्ण रहेको तथा पर्यटन र मनोरञ्जनको साधन भएकाले माछा महत्त्व रहेको विषय सबैलाई जानकारी दिनुपर्ने बताउँदै तालमा रहेका माछाको संरक्षण र प्रवद्र्धनका लागि भुरा हालिएको जनाए ।
माछाको व्यावसायिक प्रवर्द्धन गरी आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउँदै उनले देशमा ९१ हजार ८३२ र कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताए ।
मत्स्य विकास अधिकृत रामकेश यादवले माछा उत्पादनमा जिल्ला आत्मनिर्भर रहेको बताए । उनका अनुसार जिल्लामा ३७ वटा ताल तलैया र ४ सय ८० हेक्टर प्राकृतिक जलाशय रहेका छन् ।
प्राकृतिक जलाशयबाट जिल्लाको कुल उत्पादनमध्ये ३० प्रतिशत हिस्सा त्यहीबाट आउने गर्छ । उनले कपिलवस्तुलाई माछाको पकेट क्षेत्र बनाउनका लागि कृषकहरूलाई माछा पालनतर्फ आकर्षित गराई अनुदान दिनुपर्ने योजना ल्याउन आग्रह गरे ।