बढुवा भएका पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान – Nepal Press

बढुवा भएका पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका पाँच जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बढुवा समितिले सिफारिस गरेका पाँच जना एसपी मंसिर ५ गते गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपीमा बढुवा भएका थिए । जसमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा भएको हो ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै आइजिपी कुँवरले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

बढुवा भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य राख्दै एसएसपी बसन्त रजौरेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई राष्ट्र, समाज र नागरिकको हितमा समर्पित भई अझ उत्कृष्ट ढंगबाट कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी), प्रहरी नायव महानिरीक्षक(डीर्आजीपी), वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत एवं जवानकोसमेत उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *