प्रहरीले हाम्रा समर्थकलाई पिटिरहेको देखेपछि खेल्नुभन्दा ड्रेसिङ रुम जानु उत्तम ठान्यौं: मेस्सी
काठमाडौं । विश्वकप छनोटअन्तर्गत बुधबार बिहान ब्राजिलसँग भएको खेलमा गम्भीर दुर्घटना टरेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बताएका छन् ।
दुई देशका दर्शकबीच कुटाकुट भएपछि खेल करिब आधा घन्टा रोकिएर सुरु भएको थियो । खेल सुरु हुन लाग्दा दर्शक दीर्घामा प्रहरीले लाठीचार्ज गरिरहेको देखेपछि अर्जेन्टिनी खेलाडीहरुले सुरुमा त्यतातिर लागेर सम्झाउन खोजेका थिए । पछि उनीहरु ड्रेसिङ रुमतर्फ लागे ।
‘यो निकै नराम्रो थियो । किनकि प्रहरीहरु मानिसहरुलाई पिटिरहेका थिए । प्रहरीले बारम्बार लाठ्ठी हानिरहेका थिए । त्यसैले हामी लकर रुमतर्फ लाग्यौं । किनभने स्थिति शान्त बनाउन यो नै उत्तम विकल्प थियो । नत्र ठूलो दुर्घटना हुन सक्थ्यो’, मेसीले भनेका छन् ।
ब्राजिलको माराकानामा भएको यो खेल अर्जेन्टिनाले १–० ले जित्यो ।