फूली र मुन्द्री नदिएपछि घाँटी न्याकेर वृद्धाको हत्या, भारत भागेका महेशसहित यसरी पक्राउ परे ६ जना – Nepal Press

फूली र मुन्द्री नदिएपछि घाँटी न्याकेर वृद्धाको हत्या, भारत भागेका महेशसहित यसरी पक्राउ परे ६ जना

कैलाली । कञ्चनपुरमा ६५ वर्षीया नारुदेवी जोशीको हत्याको कारक आफैंले लगाएको गहना भएको पुष्टि भएको छ । गत कात्तिक १९ गते शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको नजिकैको जङ्गलमा शव फेला परेको थियो । घटनाको करिब १८ दिनपछि प्रहरीले हत्यामा संलग्न स्थानीय महेश डगौरा रहेको ठहर गरेको हो ।

डगौरा लागू औषध प्रयोगकर्ता हुन् । उक्त दिन जोशी घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी थिइन् । कान र नाकका सुनका गहना लगाएकी वृद्धाको पछि लागेको डगौराले घाँस काट्न सहयोग गर्ने भन्दै नजिक भएको पछि गहना मागेको र नदिएपछि घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

डगौरा वृद्धको हत्यापछि सुन लुटपाट गरेको र सुन बिक्रीका लागि धनगढी पुगेका थिए । हत्या गरेकै दिन डगौरा सुन बिक्री गरेर धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई बैङ्गलोर भागेका थिए । धनगढीका तीन पसलमा ४६ हजारको सुन बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । वृद्धको हत्यापछि एक दशमलव ५० आनाको फुली, एक दशमलव ६९ को मुन्द्रा र दुई दशमलव ७०० आनाको अर्को मुन्द्रा लुटपाट भएको थियो ।

प्रहरीले वृद्धाको हत्या भएको ठहर गरे पनि संलग्नहरूलाई पक्राउ गर्न सकेको थिएन । यस क्रममा २० जना भन्दा बढिलाई सोधपुछ गरेको थियो । त्यस अघि पनि साइकल चोरी गरेको र भारतीय नागरिकहरूलाई कुटपिट गरेको व्यक्ति गाउँमा नभएको जानकारी स्थानीयले दिएपछि प्रहरीको अनुसन्धान डगौरामा केन्द्रित भयो ।

प्रहरीले नेपालमा अनुसन्धान गर्दा डगौरा भारतमा थिए । घटना डगौराबाट भएको पक्का तथ्य प्रहरीले पाएपछि उनको आमा मार्फत डगौरालाई नेपालमा बोलाएर प्रहरीले पक्राउ गरेको हो ।

घटनाको १८ दिन पछि नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुर्याउन सुन खरिद गर्ने समेत गरि ६ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । श्रीमती बिरामी भएकाले सुन बिक्री गरिएको थियो ।

महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसल धनी विरुद्धमा गैर कानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको प्रहरीले छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर