केपी ओली कपका लागि सुदूरपश्चिमको टिम बन्द प्रशिक्षणमा, आजै अन्तिम १४ को टुङ्गो लाग्ने
कैलाली । पोखरामा आजबाट सुरु भएको केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेशको टोली बन्द प्रशिक्षणमा रहेको छ ।
मङ्सिर २ गतेदेखि धनगढीको फाप्ला खेल मैदानमा खेलाडीहरू अभ्यास गरिरहेका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घ धनगढीले सुरुवातमा प्रदेशका क्यानमा आबद्ध ८ ओटै जिल्लाका २६ खेलाडीहरूलाई बन्द सत्रमा बोलाएको थियो ।
४ दिनको लगातार प्रशिक्षणपछि हिजो २६ खेलाडीबाट १८ खेलाडीको नाम सार्वजनिक गरिएको प्रशिक्षक सन्तोष भट्टले बताए । उनले सुदूरपश्चिमको टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका अनुभवी खेलाडी र युवाहरूको वर्चस्व रहेकाले टोलीले राम्रो नतिजा ल्याउने बताए ।
त्यस्तै सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले खेलाडीहरूले ५ दिनसम्म एक अर्काबाट धेरै कुरा सिक्ने मौका पाएको भन्दै सुखद नतिजा आउने विश्वास व्यक्त गरे ।
फाप्ला खेलमैदानमा अहिले अन्तिम १४ जना खेलाडी छनोटको तयारी भइरहेको छ । बन्द प्रशिक्षणको अन्तिम १८ मा राजु रिजाल,नारायण जोशी,खडक बोहरा र वसन्त सिंह कार्की जस्ता अनुभवी खेलाडीहरू रहेका छन् ।
त्यस्तै सुरज तिरुवा,खगेन्द्र जोशी, आयुब चन्द,किरण कुमार ठगुन्ना,वीरेन्द्र बम,विकास आग्री,नरेन साउँद,वसन्त खत्री,भरत चन्द,कैलाश ऐर,सुशील रावल,गजेन्द्र बोहरा,अबिशेक पाल र भोजराज भट्ट रहेका छन् ।
प्रतियोगिताको लागि सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले पूर्व खेलाडी सन्तोष भट्टलाई प्रशिक्षक एवं अनिल कुँवरलाई म्यानेजर बनाएको छ । सुदूरपश्चिम प्रदेश प्रतियोगिताको समूह सी मा रहेको छ । समूह सी मै नेपाल पुलिस क्लब र मधेस प्रदेश रहेका छन् ।
मङ्सिर ११ गते सुदूरपश्चिमले पहिलो खेल मधेस प्रदेशसँग खेल्ने छ ।