घोडाघोडीको संरक्षणमा पर्यटनमन्त्री धामीको चासो, प्रदेशबाट विकास गर्न स्थानीयको माग
कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको संरक्षण र प्रचारप्रसार पर्याप्त हुन नसकेको बताएका छन् ।
बिहीबार आकस्मिक निरीक्षणका क्रममा घोडाघोडी पुगेका मन्त्री धामीले पर्याप्त सम्भावना हुँदाहुँदै पनि ताल क्षेत्र ओझेलमा परेको बताए ।
‘पर्यटकीय क्षेत्रको दृष्टिकोणले हेर्दा घोडाघोडी सुदूरपश्चिमकै पहिलो पर्यटकीय क्षेत्र हो’, मन्त्री धामीले भने, ‘घोडाघोडीमा बहुआयामिक क्षेत्रहरू छन् । यो क्षेत्र सुदूरपश्चिममै पहिलो प्राथमिकतामा पर्छ । यसको विकासका लागि सबै स्थानीय एकजुट हुन आवश्यक छ ।’
घोडाघोडी आर्थिक रुपमा पनि निकै महत्त्वपूर्ण रहेको उनले बताए । ‘आन्तरिक स्रोतहरू छन्, त्यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ । राज्यको लगानी भएको छ । तर, एकद्वार प्रणालीबाट व्यवस्थित भएको देखिँदैन’, मन्त्री धामीले भने ।
अनुगमनका क्रममा स्थानीय राजनीतिक दल तथा अगुवाहरूले घोडाघोडीलाई प्रदेश मातहत ल्याएर विकासका काम अघि बढाउन मन्त्री धामीलाई सुझाव दिए ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य तारा सुवेदीले माथिल्लो निकायले घोडाघोडी ताललाई नियमन गरेर सङ्घीय सरकारको समन्वयमा प्रदेशले नै पर्यटकीय विकास बोर्ड गठन गर्नुपर्ने बताए ।
घोडाघोडीको विकासका लागि धेरै रकम खर्च गरेर मास्टर प्लान बनिसकेको बताउँदै माओवादीका घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले भने, ‘सोही मास्टर प्लानअनुसार प्रदेश सरकारले लगानी गर्नुपर्छ र विकास गर्नुपर्छ ।’
सामुदायिक वन उपभोक्ता महासंघ घोडाघोडी नगर अध्यक्ष रमेश बस्नेतले एकद्वार प्रणालीबाट घोडाघोडीको विकास गर्नुपर्ने बताए ।
कस्तो छ घोडाघोडी ?
कैलालीको घोडाघोडी ताल प्राकृतिक सौन्दर्यसँगै जैविक विविधताको अपार सङ्गम हो । सयौं थरी चराचुरुङ्गीको चिरविराहट, जङ्गलको आफ्नै सुसेली अनि सयौं प्रजातिका जीवजन्तुको पृथक लवजको धुनले यहाँ पुग्ने जो कोहीलाई ऋषि महर्षिहरूको तपस्थली अर्थात् तपोवन जस्तै भान हुन्छ ।
हत्केला आकारमा फैलिएको यो ताल सुदूरपश्चिम प्रदेशको मात्र होइन, देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । वैभव हो । तराई क्षेत्रको सबैभन्दा ठूलो प्राकृतिक ताल पर्यटकीय दृष्टिले जति आकर्षक र रमणीय छ, पौराणिक तथा धार्मिक मान्यताका आधारमा समेत उत्तिकै महत्त्वपूर्ण छ ।
योगी नरहरिनाथले विभिन्न खोज र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा यो ताल महाभारत कालभन्दा पहिलेदेखि नै एक पवित्र तीर्थस्थल भएको उल्लेख गरेका छन् । यस तालको इतिहास यहाँका थारु समुदायसँग जोडिएका विभिन्न किंवदन्ती रहेका छन् ।
१३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । यस आसपासमा रहेका अन्य १३ वटा तालसमेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल २४८ हेक्टर रहेको छ ।
पूर्व पश्चिम राजमार्गको छेउमा रहेको ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित वासस्थान पनि हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौं रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणकै कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको हो ।
विश्वभरका एक हजार ३१४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्त्वपूर्ण छ ।
४५० प्रजातिका वनस्पति पाइने यो क्षेत्रमा साल प्रजातिमा निकै बहुमूल्य मानिने र औषधिका रूपमा पनि प्रयोगमा आउने सतिसाल, साज, खयरको घना जङ्गल यहाँको अर्को विशेषता हो ।
रामसारको प्रावधानअनुसार विश्वका ८ मध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । २० हजारभन्दा बढी रैथाने तथा आगन्तुक चराको बसोबास रहेको यस क्षेत्रमा दक्षिण एसियाको एक प्रतिशत हरिहाँस यही बसोबास गर्ने गरेको पाइएको छ ।
हरिहाँस, बगाले सिमकुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेका छन् । यहाँ हरिहाँस, मगर गोही र बन धान सूचक प्रजातिको रुपमा छन् । विश्वव्यापी रुपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, हाज हलाचे, आज धनेसलगायत चराहरू यहाँ बसोबास गर्छन् । अझ रोचक कुरा त यस क्षेत्रमा प्रत्येक वर्ष साइबेरियालगायत मुलुकबाट हजारौं चराहरू आउने गर्छन् ।
चराहरूको महत्त्वपूर्ण बासस्थल भएको हुँदा २०७८ फागुन २८ मा घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा गरिएको थियो । त्यसपछि यहाँ थप पर्यटकहरूको चहलपहल बढ्यो ।
सयौं प्रजातिका चराचुरुङ्गीका साथै विश्वकै दुर्लभ प्रजाति अजिङ्गर, सालक, पानी ओत, कछुवासमेत यहाँ पाइन्छ । त्यस्तै चितुवा, रतुवा, घोरल, बँदेल, चित्तल, खरायो, बाँदर, मुसा, सुन गोहोरो, सर्प, नीलगाई जस्ता जनावरले यहाँको जैविक महत्त्व विश्वव्यापी बनाएका छन् ।
यहाँ १ हजार ६७० हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा २४ वटा ताल छन् । २ हजार ५६३ हेक्टर क्षेत्रफल रामसार क्षेत्रले ओगटेको छ । ६४७ प्रजातिका बोटबिरुवा, ३१ प्रजातिका माछा, ३१३ प्रजातिका चरा, ३२ प्रजातिका पुतली र ११ प्रजातिका शंखेकीरा पाइने यो ठाउँ संरक्षण तथा जैविक विविधताको क्षेत्रमा खोज गर्नेहरूका लागि विश्वविख्यात अध्ययन केन्द्रसमेत हो ।
यहाँ ३४ प्रजातिका स्तनधारी जनावर र ७ प्रजातिका घिस्रेर हिँड्ने जनावरसमेत पाइन्छ । घोडाघोडी ताल छेउमा भगवान शिवको प्रसिद्ध मन्दिर रहेकोले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा स्थापित छ ।
माघे सङ्क्रान्ति, शिवरात्रि, मङ्सिर पञ्चमीलगायत पर्वमा लाग्ने धार्मिक मेलाका कारण धार्मिक पर्यटनको महत्त्व बढ्नु स्वाभाविक हो ।