प्रणाली असफल भएपछि उदाउने प्रवृत्तिहरु
हरेक सिस्टम बलियो हुन र सफल हुन एउटा अलिखित जेनेरेशन सम्झौता र अनुशासन महत्वपूर्ण हुन्छ । त्यो भनेको के हो भने नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिक्ने र त्यही सिकेको नैतिक उद्देश्यलाई असल विचारहरुसँग जोड्ने, मोरल र नैतिक अनुशासन समाजमा लागू गर्ने । यदि त्यस्तो हुन सकेन भने जतिसुकै भाषणबाजी गरे पनि सिस्टमलाई जोगाउन सकिँदैन । नैतिक उद्देश्यलाई असल विचारहरूसँग जोड्ने थुप्रै राज्यहरूले चमत्कारहरू हासिल गरेका छन् ।
तर, नेपालमा २०४६ सालपछि हाम्रो सिस्टमले अनुशासन र नैतिकता सिकाउन सकेन । नेतृत्वमा पुगेकाहरुले आजको भोलि मुलुकमा चमत्कार हुन्छ भन्ने नक्कली भाषण गरेर आफूलाई नितान्त आफ्नो स्वार्थ क्यासमा परिणत गरे । २०६३ सालपछि सिस्टमलाई साधन होइन साध्य हो भने जस्तो गरी प्रस्तुत गरिरहेका छन् ।
जब सिस्टम असफल हुँदै जान्छ तब बाह्य शक्तिहरु बलिया हुँदै जान्छन् । नयाँ शक्तिहरुको उदय पनि हुँदै जान्छ र सिस्टमलाई झनभन्दा झन कमजोर र खोक्रो बनाउँदै लैजान्छ, समाजभित्र एकताको भावना हराउँदै जान्छ । राज्य र समाज यो चरणमा पुगेपछि समाजले नयाँ शक्तिको उदय खोज्छ । किनभने मानिस सामाजिक प्राणी हो र यसले कतै न कतै समूहसँग जोडिने बाटो खोजिरहेको हुन्छ । यस्तो अवस्थामा विद्यमान राजनीतिक शक्तिहरुलाई चुनौती दिन कसैले हुँकार दिन्छ । हो, यही भएको हो रवि लामिछानेको उदय, बाबुराम भट्टराईको अहिलेको अवस्था, बालेन शाह र हर्क साम्पाङ तथा दुर्गा प्रसाईं र गोविन्द केसीको उदय ।
रवि लामिछानेको उदय
रवि लामिछानेको राजनीतिक उदयलाई हेर्ने हो भने उनी भुईंफुट्टा राजनीतिबाट उदाएका हुन् । उनको उदय अहिलेका विद्यमान राजनैतिक पार्टीहरुकै कारणले भएको हो । उनको उदय हुनुलाई मैले व्यक्तिगत रुपमा सकारात्मक लिएको छु । किनभने हाम्रा विद्यमान पार्टीहरुले जनतालाई बाँडेका आश्वासनहरु पुर्याउन नसकेपछि स्वाभाविक रुपमा नयाँ शक्तिको उदय हुन्छ र जनताको समूह त्यतैतिर आकर्षित हुन्छ ।
नेपालमा २०४६ सालपछि हाम्रो सिस्टमले अनुशासन र नैतिकता सिकाउन सकेन । नेतृत्वमा पुगेकाहरुले आजको भोलि मुलुकमा चमत्कार हुन्छ भन्ने नक्कली भाषण गरेर आफूलाई नितान्त आफ्नो स्वार्थ क्यासमा परिणत गरे । २०६३ सालपछि सिस्टमलाई साधन होइन साध्य हो भने जस्तो गरी प्रस्तुत गरिरहेका छन् ।
तर, उनको अहिलेसम्मको राजनैतिक अवस्था हेर्दा उनी पनि आफ्नो राजनीतिक विचारप्रति प्रस्ट छैनन् । उनी भन्छन्- उनको पार्टीमा कोही कार्यकर्ता हुँदैन सबै सदस्य हुन्छन् । पञ्चायतले पनि यस्तै भन्थ्यो- सबै पञ्च नेपाली, सबै नेपाली पञ्च । पञ्चायतमा पनि कार्यकर्ता थिएनन् । अर्कोतिर उनी अहिलेसम्म पनि संघीयताको सवालमा प्रस्ट छैनन् । उनका भाषणबाजी र तर्कहरुबाट के बुझ्न सकिन्छ भने उनले कहींकतै संघीयतालाई स्वीकार गरेका छैनन् । तर पनि उनले युवा शक्तिमा जोस, जाँगर र हलचल ल्याएका छन् । उनले पपुलिजम स्टण्ड लिएर आफू र आफ्नालाई निर्वाचन जिताउन सक्छन् ।
तर, दुर्भाग्य उनलाई साथ दिइरहेका उनका सदस्यहरुलाई यो थाहा छैन कि रवि लामिछानेको यो गन्तव्य प्रस्ट नभएको यात्रा कहाँ पुगेर ठोक्किइने हो । किनभने अहिले उनले ल्याएका जति मत छ, त्यसमध्ये कमसेकम पनि ७५ प्रतिशत उनले राम्रो गर्छन् भनेर भन्दा पनि विद्यमान पार्टीहरुलाई स्वाद चखाउन दिएको असन्तुष्ट मत हो । अर्कोतिर आँखा चिम्लेर उनको पछि लागेकाहरुले जब रविको यो गणतन्त्र/संघीयताबारेको अस्पष्ट यात्राको आभाष गर्छन् तब उनीहरुमा आक्रोश पैदा हुनसक्छ । जसरी अहिले उनीहरु विद्यमान पार्टीहरुप्रति आक्रोशित छन् ।
अस्थिर बाबुराम
बाबुराम भट्टराईलाई के थाहा छ भने प्रचण्डले भने जस्तो एक वा दुई वर्षभित्र मुलुकमा कायापलट हुन सक्तैन । उनले भारतीय राजनीतिको गहिरो जानकारी राख्छन् । उनलाई यो पनि थाहा भएको हुनुपर्छ कि हामीकहाँ लागू गरिएको सिस्टम असफल भयो । सिस्टम असफल गराउनेमा उनी पनि एक प्रमुख जिम्मेवार छन् । उनले प्रचण्डसँग मिलेर ल्याएको समाज फुटाउ र राज्य गर भन्ने सिद्धान्तअनुरुप हाम्रो समाज विभाजित भएको छ । हाम्रो समाजको विभाजनले मुलुकमा नयाँ डरमात्र पैदा गरेकोमात्र छैन कि हाम्रो एकतालाई समेत धम्की दिइरहेको छ । जब मानिसहरुमा नयाँ डर र नयाँ क्रोध पैदा हुन्छ तब उनीहरु राजनीतिमा परिवर्तनको खोजी गर्छन् । यही नै बाबुरामको राजनीतिक नयाँ डर हो र उनले छिनछिनमा राजनैतिक दल परिवर्तन खोजिरहन्छन् । किनभने उनले हाम्रो समाजलाई फुटाउन गरेको अपराधले उनलाई माफी दिइरहेको छैन ।
दुर्गा प्रसाईंको अराजकता र गोविन्द केसीको इगो
दुर्गा प्रसाईं र गोविन्द केसीको उदय हुनुमा पनि हाम्रो विद्यमान पार्टीका नेताहरुको महत्वपूर्ण हात रहेको छ । जब राजनीतिक पार्टीहरुले व्यक्तिगत र पार्टीगत स्वार्थका लागि कुनै व्यक्तिलाई काखी च्याप्न थाल्छन् तब अराजकता सुरु हुन्छ । किनभने त्यो व्यक्तिले आफूलाई सुरक्षित ठान्छ र उसमा दम्भको विकास हुन्छ । पार्टीको संरक्षणमा उसले सबै कुरा गर्नसक्छु भन्ने हिम्मत राख्छ । नेपालप्रेसका सम्पादक चिरञ्जीवी पौडेलले लेखे जस्तै सबैभन्दा स्मरणीय कुरा के हो भने दुर्गा प्रसाईं एमालेबाटै पालितपोषित व्यवसायी हुन् । पार्टीमा हुँदासम्म एमालेले आर्थिक पाटोबाट उनलाई दुहुनसम्म दुहेको हो । अध्यक्ष केपी ओलीले प्रसाईंसँग कुम जोडेर मञ्चमा बसेको, उनको गुणगान गाएका भिडिओहरु अहिले खोज्दा पनि बग्रेल्ती भेट्न सकिन्छ । चुनावी अभियानमा ओलीलाई हेलिकोप्टर चढाएर ठाउँठाउँ पुर्याउने, भीड जम्मा गराइदिने उनै दुर्गा प्रसाईं थिए । अहिले उनै दुर्गा प्रसाईं मानौं एमालेका ‘प्रधान शत्रु’ भएका छन् । जसरी माओवादीबाट एमालेमा आएपश्चात उनी प्रचण्डलाई तथानाम गाली गर्थे । आजको यो दुर्गा प्रसाईंको अराजक कार्य हाम्रो सिस्टम असफल भएकै कारणले हो ।
दुर्गा प्रसाईं र गोविन्द केसीको उदय हुनुमा पनि हाम्रो विद्यमान पार्टीका नेताहरुको महत्वपूर्ण हात रहेको छ । जब राजनीतिक पार्टीहरुले व्यक्तिगत र पार्टीगत स्वार्थका लागि कुनै व्यक्तिलाई काखी च्याप्न थाल्छन् तब अराजकता सुरु हुन्छ ।
उता अर्का अराजक मुलुकलाई जतिसुकै नोक्सान होस्, मुलुकका युवाहरु शिक्षा हासिल गर्न जतिसुकै समस्या भोगोस्, उनीलाई बाल मतलब ! मतलब छ त उनको इगो । अनि अनसन बस्छन् । राज्यलाई शक्तिहीन बनाउँछन् । तर पनि राज्य यस्ता अराजक व्यक्तिहरुलाई अनुशासित गराउन र नियन्त्रणमा राख्न असफल हुन्छ । किनभने यस्ता यी अराजक व्यक्तिहरुलाई के थाहा छ भने हाम्रो सिस्टम असफल भैसकेको छ र नाममात्रका राज्य सञ्चालकहरु शक्तिविहीन छन् । हामीलाई थाहा छ, दूधमा पानी मिसाए पातलो हुन्छ, चिनी मिसाए गुलियो हुन्छ, नून मिसाए नुनिलो हुन्छ र कागती मिसाए बिग्रिन्छ । हाम्रा सिस्टमहरु पनि यस्तै हुन् । सिस्टम साध्य होइन, यो साधन हो र यसलाई कसरी प्रयोग गर्ने भन्ने प्रयोगकर्तामा निहित हुन्छ ।
प्रसंग बालेन शाह र हर्क साम्पाङको
निःसन्देह उनीहरुले प्रस्ट जनताका इच्छा र चाहनाअनुसार काम गरिरहेका छन् । तापनि उनीहरुले सिस्टमलाई च्यालेन्ज गरिरहेका छन् । हामी आधुनिक पूँजीवादको नैतिक कमजोरीबाट सुरु गर्छौं, समाज नैतिकताविना पनि बाँच्न सक्छ । किनभने स्वार्थले हामीलाई मानव समृद्धिको निर्वाणमा ल्याउँछ, यदि त्यो स्वार्थ सामूहिक हो भने । स्वार्थ वा लोभ हुनु राम्रो हो । किनभने जति बलियो चाहना हुन्छ, मानिसहरूले त्यति नै कडा मेहनत गर्छन् । जस्तैः बालेन र हर्कले त्यही गरे ।
निष्कर्ष
मैले माथि भनिसकें कि हामी सामाजिक प्राणी हौं, परमार्थवादी सन्तहरूका अनुसार हामी आर्थिक समलिंगी हौं । हामी आफूलाई सामाजिक मूल्य र मान्यताअनुसार हेर्न सिकौं र मात्र हाम्रो नैतिक मूल्यहरूलाई बल दिनेछ । अनि मात्र अराजक शक्तिहरुसँग तर्क गर्न र जुध्न सकिनेछ ।
हाम्रा आवश्यकता, चाहना र मानहरू हाम्रा लागि महत्त्वपूर्ण छन् । किनभने उनीहरूविना हामी हाम्रा कार्यहरू, हाम्रा दायित्वहरू, हाम्रा आवश्यकताहरू पूरा गर्न सक्तैनौं । चाखलाग्दो कुरा के छ भने हामीले हाम्रा मूल्य र मान्यताहरूको यस सीमित भण्डारबाट व्यवहारिक रूपमा असीमित प्रतिबद्धताहरू सिर्जना गर्न सक्नुपर्छ । हो, मुलुकले धेरै उपलब्धि हासिल गरेको छ र यी हासिल भएका उपलब्धिको संरक्षणविना हामी समृद्ध हुन सक्दैनौं । तर, अहिलेको अवस्था र व्यक्तिगत स्वार्थमा मात्र भर परेर हामीसामु देखापरेका नयाँ सामाजिक विभाजनहरूमध्ये कुनै पनि हटाउन सकिने छैन ।