केपी ओली कप टी-२० क्रिकेट: राष्ट्रिय खेलाडीले सुसज्जित एपीएफ गण्डकीसँग पराजित
पोखरा । कास्कीको पोखरामा भइरहेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टीमका खेलाडीले सुसज्जित सशस्त्र प्रहरी बल (एपीएफ) गण्डकी प्रदेशसँग पराजित भएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा एपीएफले दिएको १०२ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्दै गण्डकीले चार विकेटकाे जित निकालेको हो ।
गण्डकीका लागि मुकेश थापाले सर्वाधिक २५ रन जोडे । दिनेश बुढामगरले २४, गौरव विक र अभिषेक थापाले ११-११ रनको योगदान दिए ।
बलिङतर्फ एपीएफका अविनाश बोहराले २ विकेट लिए ।
यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित १८ ओभर ४ बलमा १०१ रनको योगफल तयार गरेको थियो । गण्डकीका बलरसामु एपीएफका कुनै पनि ब्याटर टिकेर खेल्न सकेनन् ।
एपीएफका कप्तान प्रदीप ऐरी २०, आसिफ शेख १२, लोकेश बम १२, भुवन कार्की १४ र सुमित महर्जन १४ रन बनाएर आउट भए ।
बलिङतर्फ गण्डकीका कप्तान विपीन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले २-२ विकेट लिए । दिनेश बुढामगर र सुदीप अर्यालले समान १-१ विकेट लिए ।
एपीएफमा नेपाली राष्ट्रिय टीमका भरपर्दा ब्याट्सम्यान आसिफ शेखसँगै सन्दीप जोरा र बलर अविनाश बोहरा तथा लोकेश बम रहेका छन् ।