कृष्णपुरमा च्याउको बीउ लिन किसानको घुइँचो – Nepal Press

कृष्णपुरमा च्याउको बीउ लिन किसानको घुइँचो

कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउन किसानलाई च्याउको बीउ हस्तान्तरण गरेको हो ।

शुक्रबार नगरपालिका परिसरमा यहाँका ९ वटै वडाका किसानहरू बीउ लिन पुगेका थिए । आज एक सयभन्दा बढी किसानलाई नगरपालिकाको कृषि विकास शाखाले कन्ये च्याउको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

नगरपालिकाले एक हप्ता अगाडि च्याउ खेती गर्न चाहने किसानका लागि बीउ वितरण गर्ने सूचना जारी गरेको थियो । सोहीअनुसार शुक्रबार किसानको भीड लागेको हो ।

नौ वटै वडाबाट आएका किसानहरूलाई उपमेयर द्रोपती रानाले कन्ये च्याउको बीउ हस्तान्तरण गरेकी छन् ।

‘हामी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन चाहन्छौं’, बीउ हस्तान्तरण गर्दै उनले भनिन्, ‘अहिले च्याउको बीउ दिएका छौं । बिस्तारै अन्य तरकारी र फलफूलका बीउ पनि उपलब्ध गराउनेछौं ।’

नगरपालिकाले व्यक्तिगत रुपमा खेती गर्ने किसानलाई ४ पोका र सहकारी अथवा समूहमा खेती गर्ने किसानलाई ६० पोका च्याउको बीउ वितरण गरेको छ । कृषि शाखाले च्याउको बीउसँगै प्लास्टिक पनि वितरण गरेको छ ।

च्याउको बीउ अर्को हप्तासम्म वितरण गरिने कृषि शाखा प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

व्यवसायिक खेती गर्ने किसान बढ्न थालेपछि नगरपालिकाले हरेक वर्ष अनुदानमा च्याउलगागत अन्य खेतीका बीउ वितरण गर्दै आएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर