‘नेपालकी प्रथम महिला पत्रकार योगमाया पुत्री नैनकलालाई किन नमान्ने ?’
बेइजिङ । नेपालमा पत्रकारिताबाट सरकारी जागिरमा जानेहरु धेरै छन् । अमृता लम्साल चैं नेपाल राष्ट्र बैंकको जागिर छोडेर पत्रकारितामा जोडिएकी ‘अल्टर’ अनुहार हुन् । नेपालमा पहिले पत्रकारिता गर्ने र पछि पत्रकारिताको तालिम लिने चलन छ । लम्सालले चै कान्छी बहिनी बबिताको साथी बन्ने क्रममा २०४८ मा नेपाल प्रेस इन्स्टिच्युटमा जोडिएर पहिले पत्रकारिता तालिम लिइन् । अनि क्रमशः लेख्दै गइन् । पत्रकारितामा तीन दशक बढी सक्रिय भएकी लम्साल नचपाइ र नाफाघाटा नहेरी आफ्नो विचार राख्ने अनुहारको रुपमा परिचित छिन् । महिलाका विषयमा ज्यादा केन्द्रित भएर आफ्ना सामग्री दिने लम्सालको पहिलो पुस्तक ‘हजुरआमाको कथा’ हो । उक्त किताब २०७८ बाट त्रिविको मानवशास्त्र विषयको एमफिलको पहिलो वर्षको ‘जेण्डर, रिलेसनसिप र फेमिनिजम’मा समेत समेटिएको छ । उनै लम्साल दोस्रो किताब लिएर आएकी छन् ।
अक्षर क्रिएसन्स नेपालले लम्सालको पुस्तक ‘मिडिया महिला र म’ बजारमा ल्याएको छ । यो किताब लम्सालको कथा हो । नेपाली महिला आन्दोलनको कथा हो । नेपाली महिला पत्रकारिताको इतिहासको एक कथा हो ।
काठमाडौंको रैथाने शिक्षित परिवारमा जन्मेकी लम्सालको घर महिलामैत्री नै थियो । उनका पिताले उनलाई राम्रोसँग पढाए । घरमा पुरुष र महिलाको काम भनेर धर्को कोरेनन् । घरमा उनले महिलामाथिको विभेदका कुनै किस्सा महसुस गरिनन् । १६ वर्षको उमेरमा पद्मकन्या क्याम्पस पढ्दापढ्दै काठमाडौंको ‘धनाढ्य’ परिवारसँग विवाह भएपछि भने उनले महिला हुनुको सकस महसुस गरिन् । पठित महिला भए पनि बुहारीको रुपमा चौघेरामा सीमित हुँदा उनलाई सह्य भएन । उनले त्यसबाट उम्कन २०४१ सालबाट नेपाल राष्ट्र बैंकमा जागिर सुरु गरिन् । लम्सालले महिलाका मुद्दामा संवेदनशील बनाउने दुई घटना पुस्तकमा उल्लेख गरेकी छन् । पहिलो घटना २०५१ सालको हो । त्यो साल अमेरिकाबाट विश्व नारीवादी रविन मोर्ग्यान काठमाडौं आएर तालिम दिएको वर्ष थियो ।
दोस्रो घटना हो– २०५४ वैशाख २८ को । त्योे दिन काठमाडौं मैतीदेवीकी सरस्वती अधिकारीको बोक्सीको आरोपमा यातना दिएर हत्या गरिएको थियो । यी घटनाले उनी महिलाका मुद्दामा ज्यादै संवेदनशील हुन पुगिन् । पेशागत जीवनमा पनि उनले महिलाका मुद्दाहरुमा ज्यादै असंवेदनशील भएको भेटिन् । २०४७ सालका कांग्रेस गृहमन्त्री योगप्रसाद उपाध्यायले बलात्कारबाट जोगिन खोर्सानीको धूलो बोकेर हिँड्न भन्दा होस् वा २०७६ सालका कम्युनिष्ट गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कार अमेरिकामा पनि हुन्छ भन्दै सामान्यीकरण गर्दा होस्, उनलाई सत्ता महिला मुद्दामा अनुदार छ भन्ने परिरह्यो । २०५३ सालताका दाजु गोरखशमशेर राणा र आमा अम्बिका राज्यलक्ष्मी राणाले अन्नपूर्ण राणालाई छोरीको अंश दिनुपर्ने सवाल आउँदा पाठेघर र योनी जँचाउन सर्वोच्च अदालतमा मुद्दा हालेको जस्ता कुराले उनलाई झनै घोच्यो ।
२०५२ माघ १६ मा नेपाली कांग्रेसबाट मन्त्री भइसकेका दीनबन्धु अर्यालले कान्तिपुरमा ‘अलमलिएका अलमस्त अमृताहरु’ भनेर उनको साप्ताहिक पुनर्जागरण पत्रिकाको लेखलाई काउन्टर दिएर मानहानीदेखि धार्मिक धम्कीको कोणको आलेख लेखेको रोचक कुरा लम्सालले समेटेकी छन् । कान्तिपुरका तत्कालीन सम्पादक योगेश्वर उपाध्यायले प्रश्न गरेकै आधारमा सञ्चारिका समूहको स्रोत व्यक्ति बस्न नमानेकोदेखि साप्ताहिक पुनर्जागरणका सम्पादक माथवरसिंह बस्नेतले कांग्रेसको आलोचनात्मक आलेख आएपछि लेख बन्द गरेका रोचक कुरा उनले आफ्नो कथाको खण्डमा उल्लेख गरेकी छन् । २०५५ सालताका माओवादी आधार इलाकामा फिल्ड रिपोर्टिङ गरेर आउँदा तथा ३२ लाखको ‘ग्लोबल फण्ड’को पैसा आउने भएपछि सञ्चारिका समूहबाट राजनीति गरेर लम्साल र शोभा गौतमको बहिर्गमन भएको रोचक कथा किताबमा छ ।
किताबमा महिला आन्दोलनका कथाहरु पनि समेटिएका छन् । सन् १८९३ मा न्युजिल्याण्डका महिलाले मतदानको अधिकारको लागि गरेको आन्दोलनदेखि नेपालमा २००४ सालमा मंगलादेवी सिंह नेतृत्वको नेपाल महिला संघले महिलाको मताधिकारको माग गरेकोसम्मका कुरा समेटिएका छन् । २०४८ सालको चुनावमा महोत्तरीको पर्सादेवाड र गैँडाभेटपुरका महिला मतदाताहरुलाई पुरुष नेताले निषेध गरेका कुख्यात प्रकरण पनि उनले यसै क्रममा जोडेकी छन् ।
नेपाली महिला पत्रकारको इतिहास पनि लम्सालको किताबमा छ । २००८ सालमा महिलाहरु कुमारी कामक्षी र साधना प्रधान सम्पादक भएर छापिएको ‘महिला’ मासिक, २०१५ सालमा शशिकला शर्माको सम्पादनमा प्रकाशन भएको ‘स्वास्नीमान्छे’ त्रैमासिकदेखि नेपाल महिला संगठनको नाममा प्रकाशन भएको ‘महिला बोल्छिन्’ आदि अखबारहरु उनले उल्लेख गरेकी छन् । त्योभन्दा अगाडि १९९२ सालमै नर्स विद्यावतीको लेख शारदा पत्रिकामा छापिएका कुरा उनले उल्लेख गरेकी छन् । भारतीय अखबारहरुमा पौराणिक पात्रहरुको नाम पनि पत्रकारको रुपमा व्याख्या गरेर ऋषि नारदलाई पत्रकार मानिएको भन्दै लम्सालले नेपालमा योगमाया पुत्री नैनकलालाई पहिलो महिला पत्रकार मान्न सकिने तर्क गरेकी छन् । आमा योगमायाका विचारहरुलाई ‘सर्वार्थ योगवाणी’को रुपमा प्रकाशन गरेकोले नैनकलालाई पहिलो महिला पत्रकार मान्न सकिने उनले उल्लेख गरेकी छन् ।
किताबमा नेपालकी विश्वस्तरीय पत्रकारिताको अध्ययन र अनुभव लिएकी मन्जुला गिरीको पनि कथा छ । सिरहा बस्तीपुरकी गिरी वर्ल्ड प्रेस इन्स्टिच्युटको फेलोसिप पाउने पहिलो नेपाली पत्रकार महिला हुन् । उनी राससकी पनि पहिलो महिला पत्रकार भएकोदेखि हार्वडको पुस्तकमा उनको रिपोर्ट भएको पुस्तकमा उल्लेख छ । बनारसको बनारस हिन्दू विश्वविद्यालयबाट पत्रकारितामा पोस्ट ग्राजुएट डिप्लोमा गरेकी गिरीले सन् १९७५ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको अन्तर्वार्ता लिएकी छन् । पोर्चुगलकी प्रथम महिला प्रधानमन्त्री मारिया डि ल्युड्स्गको पनि उनले अन्तर्वार्ता लिएको किताबमा उल्लेख छ ।
किताबमा विचार र कथामात्रै छैनन्, कन्फेसन पनि छन् । उनले पेज २९३ मा लेखेकी छन्, ‘यो कृतिले समग्र नेपाली महिला पत्रकारको अनुभव र समयलाई पनि प्रतिनिधित्व गर्दैन ।’ यो सही हो । किनभने २०५५ सालमै यात्रा अगाडि बीमा गरेर हिँँड्ने लम्साल जस्तो स्तर अहिले पनि बहुसंख्यक नेपाली पत्रकारहरुको छैन । फिल्ड रिपोर्ट गरेर आएर प्रधानमन्त्रीलाई ब्रिफ गर्ने तहका लम्साल जस्ता पत्रकार अहिले पनि नगन्य छन् । फिल्ड रिपोर्ट गर्दा विभिन्न कार्यक्रममा सहयोगी दाता पाउने स्तरका पत्रकार अहिले पनि कम छन् । पत्रकारिताकै क्रममा चीन र अमेरिका पुग्ने अवसर धेरैको अहिले पनि छैन । स्तम्भ लेखेर बेलाबेला सोही अखबारमा रिपोर्ट गरेको तथा पैसा नदिने अखबारमा पनि काम गर्न राजी हुने लेखक लम्सालको कथाले आमश्रमजीवी पत्रकारहरुको कथा बोक्दैन । आम नेपाली महिला पत्रकारको कथा बोक्दैन । तर, उनले भोगेको कथा, लेखेको विचार र दिएका खुराक नेपाली पत्रकारहरु खासगरी महिलाहरुका प्रेरणा तथा ज्ञानका आधार भने अवश्य हुन् ।
कन्टेन्टको रुपमा किताब राम्रो भए पनि कतिपय सामान्य कुरामा समस्या छ । फेमिनिजम, एक्टिभिजम आदिलाई ‘फेमिनिज्म’, ‘एक्टिभिज्म’ आदि भनेर गलत लेखिएको छ । माओवादीलाई हेर्ने नजरिया एकै छैन । जस्तो पेज २८२ मै कतै ‘सशस्त्र संघर्ष’ त कतै ‘जनयुद्ध’ भनिएको छ । पेज ६६ मा त ज्यादै ठूलो सम्पादकीय कमजोरी छ । २०३६ सालताका पत्रकारितामा सक्रिय मन्जुला गिरीको रिपोर्ट हार्वडमा सन् १७८९ मा प्रकाशन भएको भनिएको छ । यो दुई शताब्दी फरक पर्ने कुरा भएको छ ।
पत्रकारिताका अध्येता भानुभक्त आचार्यसँगको कुरा कोट गरेर किताबमा कम्युनिष्ट पार्टीसँग जोडिएका पत्रकारका संस्थाहरुलाई ‘वामपन्थी’ पत्रकार संस्था भनिएको छ । तर, कांग्रेससँग जोडिएको पत्रकार संस्थालाई ‘दक्षिणपन्थी’ पत्रकार संस्था भनिएको छ । कम्युनिष्टलाई वामन्थी भन्नसम्म त ठीकै हो । तर, कांग्रेससँग जोडिएकालाई दक्षिणपन्थी भन्न मिल्ला र ? जबकि कांग्रेसको प्रजातान्त्रिक समाजवादीदेखि सोसिअलिस्ट इन्टरनेशनलसँगको आबद्धताले हेर्दा कांग्रेस पनि समाजवादी अर्थात् दायाँ ढल्कुवा नै हो । दायाँ ढल्कुवाभन्दा वामपन्थी भन्ने बुझिएर चित्त नबुझेमा लोकतान्त्रिक पत्रकार संस्था भन्नुसम्म ठीकै हो । दक्षिणपन्थी नै भन्दा चित्तबुझ्दो नहोला कि ?
यी र यस्ता केही देखिने कमजोरी भए पनि यो पुस्तक नेपाली पत्रकारिता, नेपाली महिला आन्दोलनको बारेमा चासो राख्नेहरुले पढ्न लायक छ । पाठकले ३०८ पेजको योे पुस्तकमा गरेकोे ७०० रुपैयाँ लगानी रत्तिभर खेर जाँदैन ।