स्वास्थ्यमन्त्री बस्नेतको आरोप- गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन् (भिडिओ) – Nepal Press

स्वास्थ्यमन्त्री बस्नेतको आरोप- गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन् (भिडिओ)

‘देशभित्र डाक्टर नर्स नपाइने अवस्था भइसक्यो,जतिबेला पनि अनसन बस्ने धम्की दिने गोविन्द केसीको अभियानमा साथ दिने स्वास्थ्यकर्मीलाई सरकारले कारवाही गर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाएका छन् ।

वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्नेकुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराए ।

उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए । नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो ।

मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने पस्ताव गरेको बताए ।

राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पटकपटक आग्रह गरे ।

मन्त्री बस्नेतले भने, ‘अहिलेको हिसावले हो भने ५ वर्ष पछि यो देशमा डाक्टर र नर्स पाइँदैन । र, मेरो प्रश्तावलाई कार्यान्वयन गर्न धेरै गाह्रो पनि छैन । यो प्रश्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरु संसार भर हामी पठाउन सक्छौं । अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाईरहेका छौं । सारा बर्बाद गरेका छौं । कोरा व्यक्तिलाई विदेश पठाएर । यसैकारण ठगिएका छन हाम्राहरु । बदनाम भएका छन् । आम्दानी राम्रो हुँदैन । तर हामीले योग्य, दक्ष मानिसहरु जाँदाखेरी त्यसको सम्मान अर्कै हुन्छ । राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ । तर हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहीँ भोकमरीमा पर्नेछौं मेडिकल शिक्षामा ।

मन्त्री बस्नेतले डा केसीले अनसन बस्छु भन्ने वितिकै डाक्टरहरु उनकै बचाउमा लाग्ने गरेको आरोप लगाए ।

मन्त्री बस्नेतले भने,‘नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो । हामी हिँडिराखेका छौं । म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ । किन हिँडेको भनेर मैले सोधे । साथीहरुले काम चाहीँ गल्ती थियो । तर हामी हिँड्नैपर्‍यो । अनि किन हिँड्या भनेको ? ज्यान जोगाई दिन मान्छे मर्न लाग्यो भनेर । त्यस्तो पनि कुरा हुन्छ । कन्भिन्स गर्नुपर्‍यो नि । यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईलाई संचालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईहरुले । होइन यो अभियान अगाडि बढ्दा तपाईहरु ओल्टेकोल्टे हुन थाल्यो भने तपाईहरुलाई पनि कारबाही हुन्छ । म भएभने त्यो हुन्छ । नभए के हुन्छ मलाई थाहा छैन । तपाईका लागि लड्ने, तपाईका लागि भिड्ने अनि तपाईले साथ नदिएर हुन्छ ? त्यसकारण यो विषयमा मैले तपाईहरुलाई अनुरोध गरेँ ।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए ।

 


प्रतिक्रिया

One thought on “स्वास्थ्यमन्त्री बस्नेतको आरोप- गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन् (भिडिओ)

  1. जिन्दगीमा पहिलोपल्ट यसले सही कुरो गर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर