टेकअफकै क्रममा रनवेमा ठोक्किएको थियो एयर इन्डियाको विमान
नियामक निकाय बेखबर
काठमाडौं । शनिबार नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको विमान टेक अफकै क्रममा धावन मार्गमा ठोक्किएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजेर २ मिनेटमा उडेको एआईसी २१६ उडान नम्बरको उक्त विमान प्राविधिक समस्या आएको भन्दै पुन: फर्काएर आकस्मिक अवतरण गरिएको थियो ।
प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरी ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले बताएका थिए ।
तर, टेक अफ गर्दै विमानको पछाडिको भाग धावन मार्गमा ठोक्किएको प्राविधिक स्रोतले बतायो ।
‘टेल टच भएका कारण विमान यहाँबाट उड्दैखेरि जोखिममा थियो । धन्न सुरक्षितरूपमा आकस्मिकरूपमा अवतरण भयो’, स्रोतको भनाइ छ । ती प्राविधकका अनुसार यस्तो समस्या (टेल टच) आउनुमा सामान्यतया जहाजलाई उडाउने क्रममा सन्तुलन मिलाउन नसक्नु पाइलटको कमजोरीले हुन्छ ।
विमानमा १२५ जना यात्रु थिए । उनीहरूलाई राति होटलमा राखिएको थियो ।
विमान २२ घण्टादेखि पार्किङ गरेर राखिएको छ । कम्पनीको प्राविधिक टोली आएपछि मर्मत गरेरमात्र पास भएपछि मात्र उडाइनेछ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता झाले एयरलाइन्सले सामान्य प्राविधिक समस्यामात्र भनेको बताए । उनले भने’, ‘हामीलाई पनि सामान्य भनेको छ । तर, उड्दै गर्दा ठोक्किएको हो भने थप बुझेर अनुसन्धान गर्छौं’ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले एयरलाइन्सको प्राविधिक समस्याबारे आफूहरूलाई थाहा नभएको बताए ।