भारत र पाकिस्तानविरुद्ध भिड्न तयार युवा टोली, गुल्शन झाको इन्ट्रीले आत्मविश्वास थपियो
काठमाडौं । आसन्न एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली युवा टीम यतिबेला प्रशिक्षणमा व्यस्त छ । पहिलो चरणमा २६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको यू-१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले जानकारी दिए ।
हाल सिनियर राष्ट्रिय टोलीमा रहेका अलराउन्डर गुल्सन झालाई पनि प्रशिक्षणमा बोलाइएको विषय अहिले चर्चामा छ । गुल्शन राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य हुन्, जो आक्रामक ब्याटिङका लागि चिनिन्छन् । उनको अनुभव यू-१९ टीममा नेपालका लागि निकै फलदायी बन्नसक्छ ।
नेपालले आसन्न यू-१९ एसिया कपमा भारत र पाकिस्तानसँग खेल्दैछ । तीन महिनाअघि सिनियर राष्ट्रिय टोलीले पहिलो पटक एसिया कप खेलेको थियो, जहाँ भारत र पाकिस्तान नै नेपालका प्रतिस्पर्धी थिए । आसन्न एसीसी यू-१९ एसियामा भने नेपालको यो पहिलो सहभागिता होइन । नेपालले यो प्रतियोगिता आठौं पटक खेल्न लागेको हो । डिसेम्बर ८ देखि यूएईमा हुने एसिया कपमा नेपालले पहिलो चरणमा भारत र पाकिस्तानबाहेक अफगानिस्तानसँग पनि खेल्नेछ ।
यसअघि सन् २०१७ को संस्करणमा नेपाली टोलीले सेमिफाइनलसम्म पुगेर ऐतिहासिक सफलता हात पारेको थियो । ८ टोलीले प्रतिस्पर्धा गरेको त्यस संस्करणमा नेपालले भारत र मलेसियालाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । भारत दोस्रो चरण पुग्न सकेको थिएन । त्यसको एक वर्षअघि बंगलादेशमा आयोजित यू-१९ विश्वकपमा नेपाल सुपर लिगमा पुगेको थियो ।
नेपाली टोली यसपटक यू-१९ विश्वकपमा स्थान बनाएर गत अक्टोबरमा एसीसी यू-१९ प्रिमियर कप खेल्न मलेसिया पुगेको थियो । त्यहाँ सेमिफाइनलमा जापानलाई हराएर नेपालले आसन्न एसिया कपका लागि स्थान बनाएको हो । फाइनलमा नेपालले यूएईलाई हराएर एसीसी यू-१९ प्रिमियर कपको उपाधि नै जितेको थियो ।
उक्त प्रतियोगिता जित्दा नेपाली टोलीमा रहेका सबै खेलाडीलाई अहिले बन्द प्रशिक्षणमा बोलाइएको छ । प्रशिक्षक टमटाका अनुसार अब दोस्रो चरणमा १८ खेलाडी छनोट गरिनेछ भने अन्तिम चरणमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा हुनेछ । नेपालले पछिल्ला २ वटा यू-१९ अन्तर्राष्ट्रिय प्रतियोगिता देव खनालको कप्तानीमा खेलेको थियो । देवसँग सिनियर राष्ट्रिय टोलीबाट समेत खेलेको अनुभव छ ।
कतिपयले गुल्शन झाको आगमनसँगै उनलाई कप्तानी दिइन सक्ने अनुमान गरे पनि त्यो सम्भावना न्यून रहेको स्रोत बताउँछ । क्यान स्रोतले भन्यो, ‘देवको कप्तानीमा नेपालले विश्वकप र एसिया कपमा स्थान बनाएको हो । उनको व्यक्तिगत प्रदर्शन पनि उत्कृष्ट छ । त्यसैले उनैले एसिया कपमा टोलीको नेतृत्व गर्नेछन् ।’
देवले गत एसीसी यू-१९ प्रिमियर कपमा दुइटा शतक बनाएका थिए । यसअघि यू-१९ विश्वकप क्वालिफायरमा पनि उनले शतक हानेका थिए । नेपालका ओपनर अर्जुन कुमाल, स्पीनर दीपेश कँडेलले पनि शानदार प्रदर्शन गरिरहेका छन् ।
प्रशिक्षक टमटा सिनियर टोलीबाट खेलेका गुल्सनको आगमनले टीम अझ बलियो हुने र गुल्सनलाई पनि फाइदा हुने बताउँछन् ।
‘भारत र पाकिस्तानसँग खेल्न लागेकाले खेलाडीका लागि राम्रो एक्सपोजर हुनेछ । गुल्सनले यसअघि सिनियर टोलीबाट यी दुवै टोलीसँग खेलेका छन् । उनको उपस्थितिले टीमको आत्मविश्वास बलियो हुनेछ’, प्रशिक्षक टमटा भन्छन् ।
नेपाली सिनियर राष्ट्रिय टोलीको अहिले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले पनि गुल्शनले यू-१९ खेल्ने मौका पाएका हुन् । निकट भविष्यमै नेपालले आईसीसी विश्वकप लिग-२ खेल्नेछ । यू-१९ राष्ट्रिय टोलीले आगामी जनवरीमा आईसीसी यू-१९ विश्वकप खेल्नेछ ।
गुल्सनले सन् २०२१ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसै वर्ष उनले यू-१९ राष्ट्रिय टोलीबाट एसिया कप पनि खेलेका थिए । यसबीचमा उनले २४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै २१ विकेट लिएका छन् भने ३ अर्धशतकसहित ४८८ रन बनाएका छन् ।
यसै वर्ष भएको विश्वकप लिग-२ मा उनकै महत्वपूर्ण पारीमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता कायमै राख्न सफल भएको थियो । हालै भएको टी-२० विश्वकप एसिया छनोटको फाइनलमा गुल्शनले विस्फोटक अर्धशतक प्रहार गरेका थिए । उक्त फाइनल नेपालले सुपर ओभरमा हारेको थियो ।