राजसंस्थाको समर्थनमा खुल्दै सौरभको प्रस्ताव : ज्ञानेन्द्र-पारस खोजेको होइन, हृदयन्द्र भए पनि हुन्छ – Nepal Press

राजसंस्थाको समर्थनमा खुल्दै सौरभको प्रस्ताव : ज्ञानेन्द्र-पारस खोजेको होइन, हृदयन्द्र भए पनि हुन्छ

‘हामीले चाहेको यत्ति हो कि हाम्रो राष्ट्रप्रमुख विदेशीले तोक्न नसकुन्’

काठमाडौं । सार्वजनिक कार्यक्रममा निकै कम देखिने फरक छविका बुद्धिजिवी हुन् सौरभ । उनी बेलाबखत टेलिभिजन अन्तरवार्तामा झुल्किने गर्छन् र तरंग ल्याउने खालका अभिव्यक्ति दिन्छन् । उनका अभिव्यक्ति-विचारहरूलाई पछ्याउने र चाख मानेर सुन्ने जमात देशमा ठूलै छ ।

हिजो काठमाडौंमा ‘नागरिक आवाज’ शीर्षकमा एउटा कार्यक्रम आयोजना गरिएको थियो, जसमा राष्ट्रवादी धारका केही बुद्धिजिवीहरूबीच सौरभ प्रकट भए । आफ्नो स्वभावविपरीत उनले आक्रामक भाषणसमेत गरे । दुर्गा प्रसाईंले गणतन्त्रको विरोधमा काठमाडौंमा भिड उरालेपछिको परिस्थितिलाई सौरभले आफ्नो ढंगले विश्लेषण गरेका थिए । उनी प्रसाईंको समर्थनमा स्पष्ट खुले । आन्दोलनले नेता जन्माउने भन्दै सौरभले प्रसाईंको व्यक्तिगत कमजोरीलाई उछालेर उनीप्रति शंका-उपशंका गर्नु नहुने धारणा राखे ।

यति मात्र होइन, उनले राजसंस्था पुन:स्थापना पक्षमा स्पष्ट झुकाव पनि देखाए ।

‘यस्तो कानूनी व्यवस्था होस् कि हाम्रो हेड अफ स्टेट विदेशीले फेर्न नसकुन् । ज्ञानेन्द्र पारस खोजेको होइन, हृदयन्द्र भए पनि हुन्छ,’ सौरभले भने ।

सौरभको सम्बोधनको मुख्य अंश उनकै शब्दमाः

हामी किन मिल्न सकेनौं भन्ने सवालमा… मेरो सुरूदेखिकै प्रश्न के हो भने कोठामा बसेर कोठाकोठै गफ गर्ने हो, युट्युवमा गएर इन्टरभ्यू दिइरहने हो भने दिइरहुँ, म त्यसमा सामेल हुन्न । अरु मसित किन मिल्न आएनन् मलाई मतलब छैन । तर, म मिल्न जान्न । किनभने कोठामा कुरा गरेर काम छैन । बरु गाउँमा गएर काउली खेती गरेर बसौं । कि सडकमा जाने सामर्थ्य छ भने म साथ दिन्छु । आज कोही मान्छे सडकमा गयो । त्यसैले मैले भनेको हो, अब सडकमा जाऊँ । ल आउनुस् मिल्न ।

अहिले प्रसाईंको ब्याकग्राउन्ड के हो, कसो हो, ह्याँ हो, त्याँ हो मलाई मतलब छैन । गिरिजाको पछाडि के थिएन ? वीपीको पछाडि, महेन्द्रको पछाडि के थिएन ? नेपालका अहिले भएका प्रधानमन्त्रीको पछाडि के छैन ? कसको पछाडि के छैन ? त्यसैले व्यक्तिगत कुरा गरेर हुँदैन । सडकमा सार्वजनिकरूपमा जे आएको छ त्यही मान्ने हो ।

उसले २० लाख मिनाहा गर्नुपर्छ भन्दा म गलत मान्दिनँ । दुई-दुईपटक जर्मनीले नेपाललाई दिएको ऋणराशी माफी गरेको होइन ? देशको ऋण माफी हुन्छ, जनताको ऋण माफी हुन सक्दैन ? त्यो कुनै गलत कुरा होइन । माफी हुन्छ । साउदर्न अमेरिकाका बैंकहरू डुबे, अमेरिकाले ३ सय बिलियन डलर छापेर दियो बैंकहरूलाई । त्यो मिनाहा बराबर होइन ? त्यसैले त्यो कुरा होइन । व्यक्तिगत कुरा नगरौं । को मान्छे सडकमा आएको छ, त्यो मुख्य कुरा हो ।

अहिले कुरा के भयो भन्दा नेपालमा प्रतिपक्ष नै भएन । देशमा प्रतिपक्ष चाहिन्छ । हामीले संसदीय व्यवस्था चाहेकै हो । तर, अपोजिसन भएन । माथिका तीन दल मिले । स्वतन्त्र भन्ने शब्दलाई भजाए र पार्टी खडा गरे । आज उनीहरूलाई हाम्फालेर सरकारमा जान हतार भएको छ । गृह नपाए पनि हुन्छ भन्ने भइसक्या छ ।

राप्रपा र स्वतन्त्र मात्र मिलेर हुँदैन, एमाले पनि मिल्नुपर्छ । एमाले सुनकाण्डमा मिलेको छ, ललिता निवास काण्डमा पनि मिलेको छ । सत्तामा उनीहरू बस्या छन्, प्रतिपक्ष खाइदिए । त्यसैले जनता सडकमा आउनुपर्‍यो ।

पैसाको कुरा गर्नुहुन्छ, ८-१० वर्षअघि इन्डियामा ८० हजारजना भारतीयको स्वीस बैंकमा खाता थियो । एउटा अकाउन्ट खोल्न १० करोड डलर लाग्छ । नेपालको मोटामोटी क्याल्कुलेसन, जुन विदेशीले गरेको हो, तीन हजारको खाता छ । लगभग एक करोड मान्छे सिधै वा अप्रत्यक्ष नेपालको राजनीतिमा संलग्न छन् । ८५ लाखजति जनता देशबाहिर होलान । बाँकी एक करोड स्वतन्त्र मान्छेको काँधमाथि ‘पोलिटिकल्ली मोबिलाइज्ड प्यारासाइट’ पस्या छ । पब्लिक पूर्णरूपमा राजनीतिकरण भएको छ ।

राजाको एउटा कुरा गरौं । कसैले के शब्द भन्नुहुन्छ कसैले के शब्द । कति मान्छेको कुरा सुन्न चाहिँन मैले । अब दुई महिनामा राजा नारायणहिटी पस्छन् भनेर अन्तरवार्तामा सुनिएको हो । जब एकपटक बोलेको कुरा पूरा हुँदैन, ५० पटक त्यही कुरा बोल्ने ? त्यस्तो मान्छेको कुरा मैले किन सुन्ने ? युट्युवरले पनि ध्यान दिनुहोला, आफ्नो टीआरपी र भ्यूअर बढ्छन् भनेर नचाहिँदो कुरा हालेर सेन्सेटाइज गरिदिन भएन । तपाईंको कर्तव्य छैन देशप्रति ? नभएको कुरा, नभएको हेडलाइन हालिदिने टीआरपीको लागि ?

दरबारको कुरा गरौं । हामीले वास्तवमा खोजेको, मेरो व्यक्तिगत इच्छाको कुरा गर्नुहुन्छ भने, हाम्रो हेड अफ स्टेट विदेशीले फेर्न नसकोस् । चाहेको कुरा यत्ति हो । ज्ञानेन्द्र-पारसको कुरा खोज्या होइन । हृदयन्द्र भए पनि हुन्छ । हिजो कम्बोडियामा रनरिद्दले सिंहानुकपछि म राजा हुन्न भनेपछि न सिहामुनिलाई फ्रान्सबाट कम्बोडिया लगेर राजा बनाएको हो । अनि ‘बेबि किङ’ कुरा आउँदा बेबि किङ अपन माइ डेड बडी भन्ने ? गलत कुरा भएको छैन ? भएको छ । हामीले त एउटा संस्थाको कुरा गर्‍या हो । शाह भए पनि भयो, मल्ल भए पनि भयो, लिच्छवी भए पनि भयो जे भए पनि भो । इन्स्टिच्यूसनको कुरा गरेको हो हामीले ।

नेपाल पूरै अव्यवस्थामा छ । हामी नागरिकको भूल के हो भने ३० वर्ष जेलनेल खाएका, संघर्ष गरेका, बन्दूक बोकेका, ज्यान फालेर लडेका यी मान्छेहरूसँग देश बनाउने योजना होला भनेर हामीले ठान्यौं । तर, वास्तवमा यिनीहरूसँग केही पनि रहेनछ । यिनीहरू भयंकर खोक्रो मान्छेहरू हुन् । कुनै पनि योजना छैन । बाँदर र कुकुरको बच्चालाई पौडिन सिक्नै पर्दैन । यिनीहरूलाई घुस खान सिक्न पर्दैन । यिनीहरूले जानेको यत्ति हो । त्यही गर्छन् । अरु जानेकै छैन, थाहै छैन ।

मलाई जे जानकारी आएको छ, ७ गते ३ बजेतिर ठूलै स्तरमा मिटिङ बस्यो । त्यो वास्तवमा पारीको देश होइन, धेरै परका देशहरूका टीम डराएको स्थिति थियो । डराएकै छन् । तर, सडकमा मान्छे घटे । मान्छे बढेपछि भाग्ने स्थिति भएको छ । कुनै पनि हालतमा यसलाई सिध्याउने भन्ने योजना छ । केही सीप लागेन भने यो मुभमेन्टको लिडरलाई बैंक डिफल्टरको रूपमा जेल हाल्ने भन्ने छ । लेट देम डु इट । गरे हुन्छ । केही फरक पर्दैन । अरु डिफल्टरको कुरा पनि उठ्ला । एकजनालाई हालेपछि अरुलाई पनि हाल्नुपर्ने अवस्था आउँछ । अरु पनि थुप्रै छन् ।

अहिले एउटा व्यक्तिको के कमजोरी छ, के बोल्छ, कस्तो बोल्छ, व्यक्तिगत कुरा बोल्छ कि यो कुरा, त्यो कुरा बोल्छ कि भन्ने तपसिलका कुरा लिएर शंका-उपशंका गरेर होइन, आन्दोलनले मान्छे जन्माउने हो । संसारका सबै नेताका व्यक्तिगत कमजोरी छन् । जर्ज वासिङ्टनले आफ्नो जीवनभरि तलव लिएनन् राष्ट्रपति हुँदा । तर, तलब नलिए बापत जति भत्ता पाउँथे, त्यो तलवभन्दा बढी हुन आउँथ्यो भन्ने अहिलेको फाइन्ड आउट छ । भने, त्यस्तो हुन्छ । सबैको पछाडि फल्ट हुन्छन् । त्यो कुरा गर्नु हुँदैन ।

साँच्चै कुरा गर्दा एउटै ड्याङको मूला भएर यो कुरा किन धेरै बोल्ने भनेर नबोल्या हो । अहिले नागरिक समाज भनिएको छ, त्यो उनीहरूले नै बनाएको हो । म नागरिक समाज भन्दिनँ, नागरिक प्रतिपक्ष भन्छु । नागरिक समाज भनेको धेरै घिनलाग्दो शब्द भइसक्यो । यसमा ठेकेदारहरू धेरै छन् । ओपनली पैसा आउँछ । कहाँबाट कसरी आउँछ थाहा भएकै कुरा हो ।

हिजो इन्सेकका मान्छेले हल्यान्डमा गएर त्यहाँको स्पिकरलाई, प्रधानमन्त्रीलाई भेटेर नेपाललाई कुनै पनि सहायता नदिनु भनेर भनेकै हो । आज उनीहरूले त्यो कुरा भनिरहन मिल्दैन । नेपालको कार्पेट डुबाउने पनि उनीहरू नै हो । एमनेस्टी इन्टरनेसनलमा ५० लाख आउने, ४५ लाख सिविनलाई पठाउनुपर्ने, ५ लाख आफूले पाउने भएर नेपालको कार्पेट सकियो । जानीजानी सबै कुरा भएको छ । गेरुवस्त्र लगाएर भडुवा मानवअधिकारवदी भएर हिँड्या छन् । ५० लाखमा ४५ लाख उसैले ट्रान्सफर गरेको हो ।

अहिले हामी एउटा ठाउँमा आइपुग्या छौं । चुप लागेर बस्दैनौं । तर सडकमै जान्छन् भनेर आशा नगर्नुस । त्यो हाम्रो नेचर होइन । हामीलाई पदको पछाडि लाग्नु परेको छैन । त्यो अब्जेक्टिभ होइन । होइन भने उहिले पाटी ज्वाइन गर्ने थिएँ । कमसेकम देशका मान्छे सुखी-सम्पन्न हुन् । सबैभन्दा ठूलो कुरा के हो भने कमसेकम इन्टरनेसनल एरिनामा नेपालीले टाउको ठाडो गर्न सकुन् । त्यो मात्रै हाम्रो उद्देश्य हो । त्यसैका लागि लाग्या हो । त्यसैका लागि मिल्या छौं, मिल्छौं । धन्दा नमान्नुस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर