बंगलादेशका कप्तान सकिब अल हसनले संसदीय चुनाव लड्ने – Nepal Press

बंगलादेशका कप्तान सकिब अल हसनले संसदीय चुनाव लड्ने

काठमाडौं । बंगलादेश क्रिकेट टोलीका कप्तान सकिब अल हसनले संसदीय चुनाव लड्ने भएका छन् । सत्तारुढ अवामी लिगले सकिबलाई मागुरा-१ बाट चुनाव लड्न टिकट दिएको हो ।

सकिबले आफ्नै गृहजिल्लामा संसदीय चुनाव लड्न लागेका हुन् । जनवरी ७ तारिखमा त्यस ठाउँमा चुनाव हुँदैछ । भारतमा सम्पन्न एकदिवशीय विश्वकप दौरान सकिब घाइते भएका थिए । अहिले उनी निको हुने क्रममा छन् ।

विश्वकपमा कप्तानी गरेका सकिबले त्यसपछि टी-२० मा भने कप्तान कायमै रहने घोषणा गरेका थिए । यसअघि पूर्वकप्तान मस्राफा मोर्ताजा पनि गत चुनावमा उठेर सांसद निर्वाचित भएका थिए । मोर्ताजाले यसपटक पनि टिकट पाएका छन् । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाजमुल हसन पनि सांसद हुन् । उनी सन् २००९ यता लगातार सांसद रहेका छन् ।

सकिब बंगलादेशी क्रिकेटका लिजेन्ड छवी बोकेका खेलाडी हुन् । उनी केहीपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीको विश्व वरियतामा नम्बर एक अलराउन्डर रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *