एमाले सांसद यादवको टिप्पणी : मधेश सरकारको गति जयनगर-जनकपुर ट्रेनको भन्दा पनि कम
जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशसभाका संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको गति ‘जयनगर-जनकपुर’ ट्रेनभन्दा पनि सुस्त भएको टिप्पणी गरेका छन् ।
झण्डे डेढ महिनापछि आज बसेको प्रदेशसभा बैठकमा उनले सरकारमाथि आक्रोश पोखे । उनले भने, ‘एमाले सरकारको बेथिति, अनियमित र बिचोलियाविरुद्ध आवाज उठाएको छ । मुख्यमन्त्री बुलेट ट्रेनको गतिमा सरकार र विकासको काम अगाडी बढ्ने भन्नुभ एको थियो । साँच्चै त्यो गतिको भएन ।’
सांसद यादवले संसारमै सबभन्दा कम गतिको ट्रेन जनकपुर-जयनगरको भन्दा पनि प्रदेश सरकारको गति कम भएको अनुभूति भएको बताए । उनले अहिलेको व्यवस्थाविरुद्ध नै आवाज उठ्दा पनि सरकार केहि गर्न/बोल्न नसकेकोमा दुःख व्यक्त गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सबै राजनीतिक दलले भुमिका खेलेको छ, हामीले सबैले योगदान गरेका छौं’, उनले भने, ‘तर व्यवस्थामाथि नै प्रश्न उठेपछि हामी सबैको परीक्षाको घडी आएको छ ।’
उनले अहिलेको व्यवस्थाविरुद्ध केहि पात्रहरु नारा घन्काइरहँदा एमाले प्रतिपक्षमा भएपनि सरकारभन्दा एक कदम अगाडी भएर गम्भीर बनेको बताए ।
उनले सरकार र सबै राजनीतिक दललाई गम्भीर हुन आग्रह पनि गरे । संघीय लोकतान्त्रिक गणतन्त्र टिकाउन दुई/तीन दिनभित्रै प्रदेशसभामा संकल्प प्रस्ताव ल्याउने र त्यसमा सबै दलका र स्वतन्त्र सांसदहरुलाई एकजुट भएर सहयोग गर्न अपिल गरे ।