अनि रामोसले एकै खेलमा दुई पटक रातो कार्ड पाए – Nepal Press

अनि रामोसले एकै खेलमा दुई पटक रातो कार्ड पाए

काठमाडौं । स्पेनका डिफेन्डर सर्जियो रामोस जति सफल छन्, फलका कारण त्यति नै बदनाम पनि । उनी यो शताब्दीकै सर्वाधिक रातो कार्ड पाउने खेलाडी हुन् ।

३७ वर्षको उमेरमा पनि उनले रातो कार्ड पाउने क्रम रोकिएको छैन । आइतबार राति स्पेनिस ला लिगाको खेलमा रियल सोसिडाडविरुद्ध रामोसले रातो कार्ड पाएका थिए ।

यसै सिजन फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)बाट घरेलु शहरको सेभिलमा आबद्ध रामोसलाई रेफ्रीले सोसिडाडविरुद्ध दुई पटक रातो कार्ड देखाए । सोसिडाडको मैदानमा भएको यस खेलमा सेभिल पहिलो हाफमा २-० गोलले पछाडि थियो । खेलको ६०औं मिनेटमा गोल गरेपछि सेभिलले खेलमा पुनरागमन गर्ने सम्भावना कायमै राखेको थियो ।

तर, अन्तिम समयमा भ्रमणकारी टोली दबाबमा आयो । डिफेन्डर रामोसले ८२औं मिनेटमा पहेंलो कार्ड पाए । ८८औं मिनेटमा विपक्षी खेलाडी ब्राइस मेन्डेसलाई फल गरेको भन्दै रेफ्रीले उनलाई दोस्रो पटक पहेंलो कार्ड देखाउँदै रातो कार्ड निकालेर मैदान बाहिर पठाउने निर्णय गरेका थिए । सेभिलका खेलाडीहरुले उक्त निर्णयको विरोध गरिरहेका थिए ।

तत्कालै भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को मद्दत लिइयो । रेफ्रीले भिडियो हेरेर मैदानमा आउँदै गर्दा रामोसलाई सोझै रातो कार्ड देखाए । अघिल्लो पटक उनले दोहोरो पहेंलो कार्डबापत रातो कार्ड देखाएका थिए । भीएआरपछि रेफ्रीले रामोसलाई फेरि सोझै रातो कार्ड देखाएका हुन् ।

रामोसले खेलाडी जीवनमा हालसम्म २९ पटक रातो कार्ड पाएका छन् । यो शताब्दीमा उनी सर्वाधिक रातो कार्ड पाउने खेलाडी बनेका छन् । राफायल मार्क्वेजले २१ पटक र फेलिप मेलोले २० पटक रातो कार्ड पाएका थिए ।

रामोसले ला लिगामा मात्र २१ पटक रातो कार्ड पाएका छन् । रामोसले खेलाडी जीवनमा २ पटक युरो कप, एक पटक विश्वकप, ४ पटक युरोपियन च्याम्पियन्स लिग र पाँच पटक ला लिगाको उपाधि जितेका छन् । उनले चार पटक फिफा क्लब विश्वकप पनि जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *