कांग्रेस प्रदेश सम्मेलनमा संघीयता कार्यान्वयनबारे विशेष छलफल गरिने – Nepal Press

कांग्रेस प्रदेश सम्मेलनमा संघीयता कार्यान्वयनबारे विशेष छलफल गरिने

रुपन्देही । नेपाली कांग्रेसले पार्टी केन्द्र तथा संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार नदिएका कारण संघीयता कार्यान्वयनमा चुनौती थपिएको भन्दै प्रदेश सम्मेलनमा यो विषयमा गम्भीर छलफल गर्ने भएको छ ।

काँग्रेस लुम्बिनी प्रदेशले पहिलो पटक गर्न लागेको प्रदेश सम्मेलनमा पार्टी केन्द्रीय समितिले आयोजना गर्न लागेको नीति अधिवेशनमा पेश हुने एजेण्डामै छलफल गराउने गरी संघीयता कार्यान्वयननका विषयमा विशेष छलफल गरिने सो पार्टीले जनाएको छ ।

बुटवलमा यही मंसिर १६ र १७ गते हुन लागेका सम्मेलनमा सहभागी प्रतिनिधिहरु बीच पार्टीको रणनीतिक एजेण्डाका बारेमा छलफल हुने भएको हो । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुनले जानकारी दिए ।

‘संघीयता कार्यान्वयनमा पार्टी केन्द्र र संघीय सरकार खुला मनले आएको अवस्था छैन, एकातिर संघीयताको विषयमा प्रश्नचिन्ह उठेको छ अर्कोतिर पार्टी र संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनै खोज्दैनन् अनि कसरी हुन्छ संघीयता कार्यान्वयन ? यो विषयमा हामीले सम्मेलनमा विशेष छलफल गर्नेछौं’, पुनले भने ।

उनले माओवादी र एमालेले प्रदेश समितिलाई विशेष जिम्मेवारी दिएपनि कांग्रेसमा भने त्यो स्थान नदिइएको बताए । ‘माओवादीले प्रदेश अध्यक्षलाई पोलिटब्यूरो, पदाधिकारीलाई केन्द्रीय सदस्यसहित प्राथमिकतामा राखेको छ, एमालेले पनि प्रदेश अध्यक्षलाई पोलिटब्यूरो सदस्यमा राखेको छ, हाम्रोमा सामान्य आमन्त्रित केन्द्रीय सदस्य मात्र बनाइएको छ’ उनले भने ।

मंसिर १६ गते उद्घाटनसत्र तथा १७ गते बन्दसत्र आयोजना गर्ने कार्यतालिका रहेको सम्मेलनमा पार्टीभित्र ‘गुट’राजनीतिको धेरै प्रभाव रहेको हुँदा त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुका साथै काम गर्नेहरुलाई सम्मान गर्नेबारे छलफल हुने उनले बताए । यसैगरी संघीयता कार्यान्वयका विषयमा भम्भीर छलफल हुने बताए ।

सम्मेलन बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले पार्टीभित्र प्रदेश र स्थानीय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको उल्लेख गरे । प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडातहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको उल्लेख गरे ।

काँग्रेसले लुम्बिनीमा सबैभन्दा पहिले सम्मेलनको आयोजना गरी पदेश सम्मेलनको सुरुवात गर्न लागेको हो । अधिवेशनमा संघीयता कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघ सरकारलाई जिम्मेवार बनाउने गरी छलफल हुने सभापति पुनले जानकारी दिए ।

सम्मेलनमा करिब ६७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुने बताइएको छ । सम्मेलनमा समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने काँग्रेसले जनाएको छ ।

सम्मेलनका लागि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन लेखनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ भने तयारीका लागि प्रचारप्रसार समिति, अतिथि सत्कार समिति लगायतका उपसमिति गठन गरिएको सभापति पुनले जानकारी दिए ।

उप समितिले तयार पारेका प्रतिवेदनहरुलाई मंसिर १३ गते बस्ने लुम्बिनी प्रदेश कमिटीको बैठकले अन्तिम रुप दिने उनले बताए । सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर