संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह मर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन् । कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले तत्कालीन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्तावेजका रूपमा संविधान आएकाले यसको सफल कार्यान्वयन नै अहिले प्राथमिक विषय भएको बताए ।
‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन्। सबैका विचार अटाएका छन् । यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन । त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ। देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ। यसतर्फ पनि कांग्रेसलगायत ठूला दल सजग बन्नुपर्छ’, उनले भने ।
दुर्गा प्रसाईंमात्र वर्तमान परिवर्तनको बाधक नभएको टिप्पणी गर्दै नेता महरले त्यसको अपनत्व लिन नसक्ने राजनीतिक दलहरू पनि दोषि हुन् कि भन्ने प्रश्न जनतामा उठिरहेको बताए ।
’संविधान निर्माण गर्ने, संविधान ल्याउन आन्दोलन गर्ने राजनीतिक दलका केही नेता संविधानमा व्यवस्था गरिएका प्रावधानको पक्षमा बोल्न र त्यस्को संरक्षण गर्न नलागेको देखिन्छ’, उनले भने, ‘यी र यस्ता कमजोरीहरूलाई पनि हामीले सच्याउँदै अगाडि बढ्नुपर्छ ।’ उनले संवैधानिक रूपमा मुलुकलाई अगाडि बढाउन नेताहरू चुक्न नहुने टिप्पणी गरेका छन् ।
नेताहरू आफैँ संवैधानिक रूपमा अगाडि बढ्न नसके त्यस्को असर मुलुकलाई पर्ने र जनतामा निराशा छाउने महरको भनाइ छ ।
‘नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूले गरेको संघर्षबाट प्राप्त संविधानलाई पूर्ण कार्यान्वयन गराउन हामी चुक्नु हुँदैन । संशोधन भन्ने कुरा आवश्यकता अनुसार भइनै रहन्छ । तर, यसकाे पूर्ण कार्यान्वयन नहुँदै अर्को विकल्प खोज्ने कुरा राम्रो होइन’, महरले भने ।
यस्तै, प्रतिनिधि सभामा मिश्रित समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था हटाउनुपर्ने उनको तर्क छ । त्यसको कुनै पनि दललाई बहुमत पुगाउन बाधा गरिरहेको र त्यसले विकासमा समेत असर पुगाइरहेको उनको बुझाइ छ । समानुपातिक प्रणाली राष्ट्रिय सभामा गर्नुपर्ने महले बताए ।
‘संविधानका निर्माण गर्दा नेताहरू नै संविधानप्रति बढी जिम्मेवार हुनुपर्छ। दुर्गा प्रसाईं र पूर्वराजा प्रवृतिमात्र संविधानको बरखिलापमा होइनन् । परिवर्तनधारी दलको क्रियाकलाप पनि संविधान बचाउने खालको भएन ।
यसका साथै उनले जाजरकोट भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन पनि सरकार र ठूला राजनीतिक दल चुकिरहेको टिप्पणी गरे । राज्यले भूकम्पपीडितका लागि अभिभावकको जिम्मेवारी निर्वाह गर्न नसकेको उनको भनाइ छ ।
‘आजमात्रै एक हजार ७६ सुत्केरीको त्रिपालमुनी बास भन्ने समाचार आएको छ । धेरै जनाले चिसोका कारण ज्यान गुमाइसके । उनीहरूका लागि राज्य नभए जस्तो देखिएको छ । यसप्रति राज्य गम्भीर र जिम्मेवार बन्नुपर्छ’, महर भन्छन् ।