मुख्यमन्त्री कार्कीले मनलाग्दी योजना कटौती गरेकाे भन्दै काङ्ग्रेसकै सांसदहरुको आपत्ति
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजनामन्त्रीको हैसियतमा अध्यादेशबाट ल्याएको बजेटको काङ्ग्रेसकै सांसदहरुले विरोध गरेका छन् ।
प्रदेशसभाको बैठकमा बोल्ने काङ्ग्रेसका सांसदहरूले मुख्यमन्त्री कार्कीले मनलाग्दी योजना कटौती गरेको भन्दै आपत्ति जनाए ।
प्रदेशसभामा विनियोजन विधेयकमाथि जारी छलफलमा भाग लिँदै उनीहरूले बजेटप्रति तीव्र असन्तुष्टिसमेत जनाए ।
कांग्रेस सांसद खगेनसिंह हाङ्गामले आफ्नो हातमा डाडुपन्यु भएको जसरी मुख्यमन्त्रीले कार्यक्रम हालेको बताए ।
उनले आवश्यकता र प्राथमिकताअनुसार बजेट नआएको बताए । प्रदेश सांसद हाङ्गामले भने, ‘पाकेको खाना सेलाएको थियो, त्यसमा उहाँले केही तातो खाना बनाएर मोलेर जथाभावी डाडुपन्यु चलाउनु भयो, स्वाद राम्रो आएन ।’
उनले सङ्खुवासभाको गुफा पोखरी र ताप्लेजुङ जोड्न सडक ट्र्याक खोल्न ३ किलोमिटर बाँकी रहेको भए पनि बीचमा कालोपत्रे गर्न ४ करोड ५० लाख बजेट विनियोजन गरिएको बताए ।
पहिले बाटो खोलेर कालोपत्रे गर्नुपर्नेमा बीचमा कालोपत्रे गर्नुको अर्थ नहुने उनले बताए । ताप्लेजुङलाई बजेटमा पछि पारिएको उनको गुनासो छ ।
कांग्रेसका अर्का सांसद गोपाल तामाङले यसअघि अध्यादेशबाट आएको बजेटको आफ्नो क्षेत्रका १३ योजना अहिले काटिएको बताए । उनले मनलाग्दी योजना हटाउने र थप्ने काम गरेको भन्दै मुख्यमन्त्रीलाई बजेट सच्याउन आग्रह गरे ।
उनले पहुँचको भरमा शौचालय निर्माणको लागि ५ करोड बजेट छुट्टिएको भन्दै आपत्ति जनाए ।
कांग्रेसकै सांसद गोविन्द गिरीले खल्तीका योजना धेरै आएको बताए । उनले आफू जनताको बीचमा गएर जवाफ दिन नसक्ने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘इलाममा भएका दुई सङ्घीय निर्वाचन क्षेत्रमध्ये अर्को निर्वाचन क्षेत्रमा धेरै बजेट विनियोजन भएको छ, मेरोमा छैन । मेरो निर्वाचन क्षेत्रमा यसअघि भएका योजना किन कटौती भयो ?’