एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ?
जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक लखन दासलाई हटाइएको छ ।
एमाले मधेश प्रदेश संसदीय दलको बैठकले हरिनाराण महतोलाई प्रमुख सचेतक नियुक्त गरेको हो । महतो धनुषा क्षेत्र नम्बर ४ (२)बाट निर्वाचित सांसद हुन् ।
गुटबन्दीमा लागेपछि दासको पद खोसिएको एमाले स्रोतले जनाएको छ । दास धनुषा २(१)बाट निर्वाचित सांसद हुन् ।
धनुषा क्षेत्र नम्वर २ मा एमालेबाट उमाशंकर अरगरिया चुनाव लडेका थिए । तर उनलाई बेवास्ता गरी क्षेत्र ४ बाट निर्वाचित सांसद तथा पार्टी सचिव रघुवीर महासेठलाई बोलाएर कार्यक्रम गरी गुटबन्दी गरेको सांसद दासमाथि आरोप छ ।
मधेश प्रदेशमा एमालेमा दुई गुट सक्रिय छन्, यसको पुष्टि पार्टीको प्रदेश अधिवेशनमा समेत भइसकेको छ ।
प्रदेशमा रघुवीर महासेठलाई हावी हुन नदिए एमालेको एक समूह सक्रिय छन् । जसमा एमाले प्रदेश संसदीय दलका नेता रामसरोज यादव, केन्द्रीय सदस्य संजीव झा, उमाशंकर अरगरिया लगायतका नेता छन् ।
पूर्वमन्त्री अरगरिया एमालेमा प्रवेश गरेदेखि नै पार्टी सचिव महासेठ असन्तुष्ट छन् । स्रोतका अनुसार महासेठले अरगरियाको विकल्प खोज्न उनको क्षेत्रमा गतिविधि बढाएका छन् ।
महासेठले सांसद दासलाई प्रयोग गरी गुट बनाउन खोजेको एमाले क्षेत्र २ का नेताहरुको आरोप छ ।
एमाले मधेशका संसदीय दलका नेता यादवले गुटबन्दीमा लागेपछि दासलाई प्रमुख सचेतकबाट हटाएको कुरामा सत्यता नरहेको दावी गरे । उनले भने- पार्टीमा जिम्मेवारी हेरफेर भइरहन्छ ।