अन्तिम ४ बलमा १८ रन जोड्दै म्याक्सवेलले जिताए अस्ट्रेलियालाई, विशाल लक्ष्यमा भारत स्तब्ध – Nepal Press

अन्तिम ४ बलमा १८ रन जोड्दै म्याक्सवेलले जिताए अस्ट्रेलियालाई, विशाल लक्ष्यमा भारत स्तब्ध

काठमाडौं। अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले फेरि एक पटक शानदार ब्याटिङ गरेका छन् ।

म्याक्सवेलले अविजित एक सय ४ रन बनाएपछि अस्ट्रेलियाले भारतलाई पाँच खेलको टी-२० शृङ्खलाको तेस्रो खेलमा मङ्गलवार ५ विकेटले हरायो।

भारतले दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गरेको थियो।

अस्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि २२ रन चाहिएको थियो। म्याक्सवेलले अन्तिम चार बलमा तीन चौका र एक छक्का प्रहार गर्दै अस्ट्रेलियालाई जिताएका हुन् । २० औँ ‌ओभरको सुरुका दुई बलमा म्याथ्यु वेडले चौका र त्यसपछि एक रन जोड्दै म्याक्सवेललाई स्ट्राइक दिएका थिए ।

म्याक्सवेलले खेलभर ४८ बलमा ८ छक्का र ८ चौका प्रहार गरेका थिए। वेड १६ बलमा एक छक्का र ३ चौका प्रहार गरेर २८ रनमा अविजित रहे । उनीहरुबीच छैटौँ विकेटका लागि ७.३ ओभरमा ९१ रनको साझेदारी भएको थियो ।

त्यसअघि भारतले रुतुराज गाइक्वाडको एक सय २३ रनको पालीमा विशाल लक्ष्य दिएको थियो । गाइक्वाडले ५७ बलमा ७ छक्का र १३ चौका प्रहार गरेका थिए ।

यो नतिजापछि भारत शृङ्खलामा २-१ ले अगाडि छ । भारतले सुरुका २ खेल लगातार जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *