कांग्रेसको निष्कर्ष- जनताबाट स्थापित व्यवस्थालाई कमजोर बनाउन खोज्दैछन्
काठमाडौं । नेपाली कांग्रेसले आफू लोकतान्त्रिक मूल्य मान्यता र कानूनी शासनमा विश्वास गर्ने स्पष्ट पारेको छ । देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासप्रति लागिरहेको बताए ।
उनले भने, ‘विभिन्न बहानामा यो सिस्टम धेरै ठूलो मेहनत र प्रयासबाट स्थापित छ । यसमा प्रश्न उठाउन लक्ष्यका साथ अनेकौ बहानाबाजी गरेर कमजोर गर्ने कोसिस विभिन्न कोणबाट प्रकट भएकै छ । तर, जनताबाट स्थापित भएको व्यवस्था यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । विविध कारणले कुनै समस्याहरु आउन सक्छन् ।’
यस्तै, उनले बैठकमा महासमितिको बैठकको तयारीबारे छलफल भएको समेत बताए ।
उनले भने, ‘महासमितिको बैठक जनसरोकारको विषय र राष्ट्रिय महत्वको विषयलाई कसरी प्रस्तुत गराउने र छलफल गराउँने भन्नेबारे भयो । अब कार्यसम्पादन समिति केन्द्रीय समितिको बैठक बसेर सुझाव दिन्छ ।’