सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने
सिन्धुली । जिल्लाकोे फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको छ । गाउँपालिकाले पत्रकार सम्मलेन गर्दै सुनकोशी मावि खाङसाङबेसीमा यही मंसिर १३ र १४ गते लगानी सम्मेलन गरिने बताएको होे ।
लगानी सम्मेलनको पहिलो दिन बिहान प्रभातफेरी, झाँकीहरुसहितकोे परिक्रमा, सरसफाइ गरिने छ । दिउँसो अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । उनका अनुसार सम्मेलनको दोस्रो दिन कार्यपत्रे प्रस्तुति, छलफल गरिनेछ ।
गाउँपालिकाको दीर्घकालीन विकासको जग बसाउन प्रस्थान विन्दु बनाउने गरी सम्मेलन आयोजना गरिएको अध्यक्ष सुनुवार बताइन् ।
‘उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, रोजगारीको अवसर वृद्धि गर्ने र आमजनतालाई आयआर्जनमा उत्प्रेरित गर्ने उद्देश्यले लगानी सम्मेलन आयोजना गर्न लागेका हौं’, उनले भनिन् ।
अध्यक्ष सुनुवारले गाउँपालिकामा ५० अर्ब लगानी भित्र्याउने र फिक्कलवासीलाई स्वरोजगार बनाउने लक्ष्यसहित लगानी सम्मेलन आयोजना गरिएको बताइन् ।
लगानीका लागि कृषि, जलविद्युत, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, पर्यटन, साहसिक पर्यटन, औद्योगिक क्षेत्र, हस्पिटालिटीलगायतका १० वटा परियोजना क्षेत्रको पहिचान गरिएको पनि अध्यक्ष सुनुवारले बताइन् ।