एन्टिबायोटिकको प्रयोग नियन्त्रण बाहिर- मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरुको चेतावनी – Nepal Press

एन्टिबायोटिकको प्रयोग नियन्त्रण बाहिर- मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरुको चेतावनी

रुपन्देही । पछिल्लो समय प्रतिजैविक प्रतिरोधको अत्यधिक र अनियन्त्रित प्रयोगले मानिसको स्वास्थ्य, पशुपन्छी र वातावरणमा गम्भीर असर गरिरहेको विज्ञहरुले औंल्याएका छन् ।

उनीहरुले उत्पादन बढी लिने लोभमा प्रयोग हुने एन्टिबायोटिकका अवशेषले वातावरण तथा सबै जीवलाई असर गरेको भन्दै समयमै यसलाई नियन्त्रण गर्न नसके ठूलो असर थपिँदै जाने चिन्ता व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले बुधबार बुटवलमा आयोजना गरेको प्रतिजैविक प्रतिरोध सचेतना विषयक कार्यक्रममा विज्ञहरुले यस विषयमा सम्बन्धित निकायलाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

विज्ञहरुका अनुसार संक्रामक रोगहरुमध्ये करिब ६१ प्रतिशत वन्यजन्तु र घरपालुवा पशुपन्छीहरुमा उत्पत्ति भएर मानिसमा सर्ने गरेको अध्ययनले देखाएको छ । यस्ता जुनोटिक रोगलाई कम गर्न एन्टिबायोटिकको प्रयोग कम गर्नुपर्ने वरिष्ठ पशु चिकित्सक डाक्टर परवेज आलमले बताए ।

‘पशुपालन, माछापालन र कृषिमा एन्टिबायोटिकको अत्यधिक प्रयोग भएको छ । चिकित्सकहरुले एन्टिबायोटिकको प्रयोग घटाउनुको साटो स्वीकृति बढाएका छन्’, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक प्रबेश सिंह कुँवरले भने, ‘जैविक सुरक्षाका उपायहरु धेरै कमजोर भएकाले मानिसको स्वास्थ्य, पशुपन्छी र वातावरणमा एन्टिबायोटिकको प्रयोगले गम्भीर असर गरिरहेको छ ।’

एन्टिबायोटिक प्रयोगको बारेमा चेतनाको अभाव हुनु तथा बिरामीहरूले एन्टिबायोटिकको सम्पूर्ण पाठ्यक्रम पूरा नगर्दाले पनि त्यसको असर बढिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सक प्रियंका उप्रेतीले बताइन् ।

एन्टिबायोटिक प्रयोग गर्दा चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्ने उनको भनाइ छ ।

विश्वमा मृत्युको कारणमध्ये एन्टिबायोटिक प्रयोग दश नम्बरमा आउने अध्ययनले देखाएको छ । यसको अत्यधिक प्रयोग नरोके केही वर्षभित्रै पहिलो नम्बरमा आउने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रत्येक वर्ष पाँच वटा नयाँ रोग मानवमा देखापर्ने र त्यसमा तीन वटा जुनोटिक रोग रहेको अध्ययनले देखाएको छ । जैविक सुरक्षालाई मध्यनजर गरी सबै नागरिक तथा सरोकारवालाहरुले सबै जीवको स्वास्थ्यका लागि एन्टिबायोटिकको प्रयोग कम गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई छुट्टाछुट्टै रुपमा भन्दा एकीकृत रुपमा हेर्नुपर्छ भन्ने अवधारणासहित पछिल्लो समय एक स्वास्थ्य अवधारणालाई लिइएको छ । एन्टिबायोटिकको नियमनका लागि सबै पक्ष लाग्नुपर्ने कृषि विकास निर्देशनालयका निर्देशक राम पाण्डे बताउँछन् । नियमनसँगै सचेतना र शैक्षिक पाठ्यक्रममा जोड्नुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *