रास्वपाको विकल्प- चार वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ?
रवि लामिछानेकाे निर्देशन- मिसन ८४ को नारा फेरिनसक्छ, पार्टी संरचना स्ट्यान्ड बाइ राख्नू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही अवस्थामा चलिरहे ०८४ सम्ममा मुलुकले ठूलो नोक्सानी व्यहोर्नुपर्ने निष्कर्ष निकालेको छ । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको बैठकमा सभापति रवि लामिछानेले पेश गरेको प्रतिवेदनमा मध्यावधि हुनसक्ने औंल्याएका हुन् ।
प्रतिवेदनमा भनिएको छ, ‘एकातिर मुलुक झन् झन् उँधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ? सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं । यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ?’
उनले मिसन ८४ को नारा फेरिनसक्ने भन्दै पार्टीको सबै संरचना लाई स्ट्यान्ड बाइ रहन निर्देशन दिएका छन् ।
प्रतिवेदनको अंश जस्ताको तस्तै
मिसन ८४ को नारा फेरिन पनि सक्छ
सरकारको नेतृत्वकर्ता दल नै ८४ को चुनावमा यसो गर्छु भन्दैछ । सत्ता साझेदार दलका शीर्ष नेताहरू सरकारको कामबाट व्यापक असन्तुष्ट छन् । अर्को चुनावमा गठबन्धन हुँदैन भन्दै ८४ कै चुनाव ताकिरहेका छन् । प्रमुख प्रतिपक्षी दल पनि मिसन ८४ नै भन्दैछ । अन्य दलपनि ८४ तिरै हेरिरहेका छन् ।
अर्थतन्त्र ओरालो लागेको छ । नागरिकहरू सडकमा आइसके, सरकार स्वेच्छाचारी ढंगले अपराधीलाई समेत खुल्ला छोड्ने निर्णय गर्छ, चलखेलमा अनेकौं इजाजत बाँड्छ, राज्यका महत्त्वपूर्ण पद भागबन्डामा दिन्छ, रोजगारी सिर्जना गर्ने योजना ल्याउँदैन जसका कारण दैनिक हजारौं मानिस देश छोडेर विदेश जाँदैछ्न् । यही सिलसिला अझै ४ वर्ष चल्ने हो भने मुलुकले बेहोर्ने घाटा हिसाब गरी साध्य छैन ।
एकातिर मुलुक झन् झन् उँधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ? सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं ।
हैन भने यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ? पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचनालाई स्ट्यान्ड बाइ रहन निर्देशन दिन्छु ।