ओली भन्छन्- अहिले श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेका छन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा अहिले नेपाली जनतालाई विभाजित गर्न खोजिएको बताएका छन् ।
झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले पहिचानको सवालमा एमालेले सबैभन्दा धेरै सम्बोधन गरेको बताए ।
उनले भने, ‘संविधानमै समानुपातिक समावेशिताको सिद्धान्त सामेल गरेका छौं । पहिचानको राजनीति भनेको हिंसा फैलाउने, अराजकता र आतंक मच्चाउने हुन सक्दैन । यो देशलाई अनेकतामा लाने कुरा हो, एकताबद्ध हुन नदिने कुरा हो । आज देशमा लोकतान्त्रिक प्रणाली छ । यसमा गम्भीर समस्या आइरहेका छन् । लोकतान्त्रिक प्रणालीको उचित सम्बोधन हुन सकेको छैन ।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अहिले प्रतिक्रिया र प्रतिगामी शक्तिहरु मौका आउँछ कि भनेर दुलाबाट टाउको उठाएर फेरि सलबलाउन खोजेको बताए ।
अध्यक्ष ओलीले भने, ‘अहिले हामी देखिरहेका छौं, उहिले राजतन्त्र थियो । अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको छ ।