एपीएफलाई हराउँदै मधेस प्रदेश केपी ओली कपको फाइनलमा
पोखरा । विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको हो ।
मधेसले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रनमात्र बनाउन सक्यो ।
२२ रनमा २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले शतकीय साझेदारी गरेका थिए । जोरा ५४ रन बनाएर आउट भए । प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्कीले १३, सुमित महर्जनले १३, असिफ शेखले ४ र पुरन विकले ४ बनाउँदा अरुण ऐरी र अमर रौटेला शून्य रनमा आउट भए ।
बलिङतर्फ मधेसका विशाल पटेलले ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले समान २-२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धशतक प्रहार गरेका थिए । शाह ३६ बलमा ५७ र शेख ३२ बलमा ५० रन बनाएर आउट भएका थिए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमांशु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाएका थिए ।
बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ र पुरन विकले १ विकेट लिएका थिए ।
यसअघि बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।