अमेरिकामा शिख पृथकतावादीको हत्या गर्ने भारतको षड्यन्त्र असफल पारेको ह्वाइट हाउसको दाबी – Nepal Press

अमेरिकामा शिख पृथकतावादीको हत्या गर्ने भारतको षड्यन्त्र असफल पारेको ह्वाइट हाउसको दाबी

अमेरिकामा बसिरहेका शिख पृथकतावादी नेताको हत्या गर्न भारतले भाडाका हत्यारालाई १ लाख डलरको सुपारी दिएको आरोप

काठमाडौं । अमेरिकाले भारतमाथि न्युयोर्कमा बसिरहेका शिख पृथकतावादी नागरिकको हत्याको षड्यन्त्र रचेको आरोप लगाएको छ । यद्यपि भारतको यो प्रयासलाई असफल पारिएको समेत अमेरिकाले जनाएको छ ।

भारत सरकारको निर्देशन र योजनाबमोजिम निखिल गुप्ता नामका व्यक्तिले ती शिख पृथकतावादीको हत्या गर्न खोजेको अमेरिकी अधिकारीहरुले अदालतमा पेश गरेको अभियोजनमा उल्लेख छ ।

अदालतमा पेश भएका कागजातअनुसार जसको अमेरिकामा हत्या गर्न खोजियो, ती व्यक्ति गत जुन १८ मा क्यानडामा हत्या गरिएका हरदीप सिंह निज्जरका सहयोगी हुन् ।

निज्जरको हत्या भारतले गरेको क्यानडाले बताएपछि अहिले दुई देशबीच तनाव छ र भारतले क्यानडाको उच्च आयुक्तसहितलाई देशबाट निकाला गरेको छ ।

अमेरिकाले लगाएको आरोपको भने भारतले जवाफ दिएको छैन । शिखहरुको अलग्गै खालिस्तान राज्यका लागि पञ्जाबका शिखहरुले धेरै वर्ष अगाडि पृथकतावादी आन्दोलन गरेका थिए ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यासमेत शिख मूलका सुरक्षा गार्डबाट भएको थियो । खालिस्तान राज्यको माग गर्ने पृथकतावादी हरदीप क्यानडामा निर्वासित थिए ।

भारतीय सरकारकै योजना र सहभागितामा उनको हत्या भएको क्यानडाले जनाएको छ । यस्तै घटना अमेरिकामा हुन लाग्दा असफल पारिएको अमेरिकाको बयानले भारत फेरि विवादमा आएको छ ।

यसअघि पनि अमेरिकामै रहेका अर्का शिख पृथकतावादी गुरपतसिंह पन्नुको हत्याको षड्यन्त्र असफल पारिएको अमेरिकाले जनाएको छ । पन्नु पनि अमेरिकी नागरिक बनिसकेका छन् । उनीमाथि भारतमा आतंकसँग सम्बन्धित विभिन्न मुद्दा छन् ।

यसपटक भारतीय नागरिक निखिल गुप्ताले पैसा लिएर भारतमै बनेको योजनाअनुसार ती अमेरिकी शिखको हत्या प्रयास गरेको भने पनि नाम उल्लेख गरिएको छैन ।

ह्वाइट हाउसले यो विषय भारत सरकारसमक्ष पुर्‍याइसकिएको जनाएको छ । गुप्ताले एक लाख डलरमा भारतले आतंकवादी सूचीमा राखेका ती शिख नेताको हत्याको ठेक्का लिएको अमेरिकाले जनाएको छ ।

कतिपयले यस पटक पनि गुप्ताले पन्नुकै हत्याको लागि सुपारी लिएको चर्चा गरेका छन् । उनी भारतमा आतंकवादी घोषित छन् र अमेरिकामा बसिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर