नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ: महाराष्ट्रका उपमुख्यमन्त्री
मुम्बई । भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघको संयोजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण र व्यवसायिक क्रिकेटमा अवसर दिन सकिने बताएका हुन् ।
‘नेपाल क्रिकेट संघ (क्यान)ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिस्पर्धा गर्न सकिन्छ’, उनले भने ।
छलफलका क्रममा नेपाली पत्रकारहरुले नेपाल-भारत सम्बन्ध, मुम्बईमा रहेका नेपाली श्रमिकहरुको अवस्थालगायतका विषयमा चासो राखेका थिए ।
नेपाली पत्रकारहरुले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएको भ्रमणमा रहेका नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिए ।