छोरीमा किन नगर्ने लगानी ?
नेपाल प्रहरीले अघिल्लो वर्षको लैङ्गिक हिंसाको विवरणमा एउटा ग्राफसहितको चित्र प्रस्तुत गर्यो । नीलो रंगको सय प्रतिशतको घेरामा कालो लगाएर अर्को ८० प्रतिशतको घेरा बनाएको छ । जसमा लेखिएको छ, घरेलु हिंसा ।
यो घेराले घरभित्र हुने हिंसाको स्वरुप देखाएको हो । जहाँ २२ वर्षीया महिला मीना (नाम परिवर्तन) जस्ता कैयौंले यो लेख लेखिरहँदा पनि हिंसा खेपिरहेका छन् ।
माडीकी दुई सन्तानकी आमा उनको नाम सायद प्रहरीको अभिलेखमा समेटिएको छैन । किनकि दुई वर्षयता उनले उजुरी गर्न पनि छोडिसकेकी छन् ।
१७ वर्षमा रोजेर विवाह गरेकी उनले पहिलो वर्ष दिनमै छोरी जन्माइन् । त्यसयता लगातार श्रीमानबाट भोगेको हिंसाको पछिल्ला दिनमा उजुरी कतै अभिलेख छैन ।
हुन त एकदुई पटक प्रहरीको शरणमा पनि उनी पुगेकी थिइन्, छोरी जन्मिएपछि श्रीमानले कुटपिट गरेको निलडाम लिएर । प्रहरीमा पुगेपछि मेरो बेइज्जत गर्ने भन्दै अझ कुट्न सुरो भएको श्रीमानसँगै बसेर अर्को सन्तान पनि उनले जन्माइन् ।
उनलाई लागेको थियो, छोरा जन्मिएपछि श्रीमानले कुट्न छोड्लान् । तर, कुटाइ निरन्तर छ । मन लागेको समयमा शारीरिक सम्पर्क राख्न तयार नभए श्रीमानले कुट्न छोड्दैनन् ।
१८ वर्षमा पहिलो र २१ वर्षमा दोस्रो सन्तानको आमा बनेकी उनलाई श्रीमानको घर छोडे फर्किने ठाउँ कतै छैन । हुन त माइती माडीमै छ । तर, बुबाआमाको इन्कारीमा आफैंले रोजेर विवाह गरेपछि फर्किएर माइती कसरी जानू ? यहि प्रश्नले सताउँछ ।
त्योमात्रै पनि होइन, बीचमै छुटेको पढाइ र हातमा कुनै आर्थिक उपार्जनको सीप नभएकाले त्यही ओत लाग्ने घर छोडे दुई सन्तान र आफ्नो बिचल्ली हुने चिन्तासमेत छ उनलाई ।
अहिले विश्वभर मनाइरहेको अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको दिवसबारे कुरा गरौं । हरेक वर्ष फरक फरक नारा तय गरेर विश्वभर महिलामाथि हुने हिंसाविरुद्ध फरक फरक कार्यक्रम गरिन्छ । यस वर्ष पनि गरिएको छ, गरिँदैछ ।
यो वर्ष महिला र बालिकामाथिको हिंसा नियन्त्रणको लागि बालिकामा एकीकृत लगानी गरौं भन्ने नारा तय गरिएको छ । यो नाराबारे चर्चा गर्नुअघि देशमै चर्चित चितवनको भरतपुर महानगरको अघिल्लो वर्ष महालेखा परीक्षकको कार्यालयले उठाएको प्रश्नमा छलफल गर्नु उपयुक्त होला ।
महिलामाथि परिवारका सदस्यदेखि राज्यका निर्णय तथा नीति निर्माणकर्तासम्मले धेरै पक्षबाट लगानी गर्न जरुरी छ । घर भान्छाको सत्तादेखि राज्यसत्तासम्मले बालिका तथा महिलामाथि सही समयमा लगानी गर्न सक्यो भने समानताको अर्को बलियो जग बन्नेछ । हामी सबै समानताको जगमा उभिएर समतामूलक समाज बनाउन सक्नेछौं ।
महानगरभर चिल्ला सडक त्यो पनि ६ सय किलोमिटरभन्दा बढी निर्माण गरेर सबैभन्दा महत्वपूर्ण विकासको पूर्वाधार बनाउन अघि छौं भनेर पटक पटक भरतपुर महानगरले आफ्नो चर्चा गरिरहेको थियो । सोही समयमा महालेखाले भन्यो, ‘तिम्रो पालिकाले मानव विकासमा किन लगानी गरेन ? भौतिक पूर्वाधार निर्माणमात्रै विकासको मूल पक्ष होइन, मानवीय विकासमा न्यूनतम खर्च पनि भएको देखिँदैन ।’
चितवनको भरतपुर त अझ महिलाले नै हाँकेको महानगर । जहाँ महिला सशक्तीकरणको लागि भनेर युद्ध लडेको दलको नेतृत्व छ । तर, विकासका सूचक कहाँ कसरी निर्माण गर्नुपर्छ भन्ने कुरा मनभित्रबाट नेतृत्वले मनन गर्नुपर्ने रहेछ ।
अहिले विश्वव्यापी रुपमा बालिकामाथि लगानी गर भन्नुको तात्पर्य देशका नीति निर्माण गर्नेले मात्रै होइन परिवारले हुर्काउने क्रममा नै छोरीमाथिको लगानीमा कटौती नगर भन्नु पनि हो ।
हामी कसरी छोरी हुर्काइरहेका छौं ? एकपटक मनन गरौं । लगानी पैसाले मात्रै हुँदैन, उसलाई दिने समय अनि उसमा भर्ने आँटको लगानी पनि आत्मबल बढाउने पूँजी हो । पूँजी त्यो हो, जसले लगानी गरेपछि प्रतिफल दिन्छ । एक पटक परिवारका बुबाआमाले मनन गरौं त, हुर्कंदै गरेकी छोरीलाई आफूमाथि हुने हिंसाको प्रतिकार गर भनेर सिकाउन सके ८० प्रतिशत हिंसा भोग्नेको लिष्टमा ती छोरी पक्कै समेटिने छैनन् । हो, छोरीले गर्न सक्ने प्रतिकार नै उनीमाथि गरिएको लगानीको प्रतिफल हो ।
तर, आजसम्म हामी कुन मानसिकतामा बाँचिरहेका छौं भन्ने अर्को एउटा तथ्याङ्क पनि हेरौं । सन् २०२२ को राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले एउटा नेपाली समाजमा रहेको महिला हिंसाप्रतिको मानसिकताको पनि सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालका १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषमा अझै पनि महिलालाई श्रीमानले कुट्नु जायज लाग्छ । प्रतिवेदनले कारण पनि उल्लेख गरेको छ । जसमा भनिएको छ, ‘श्रीमानलाई नभनी बाहिर गएमा, छोराछोरीलाई बेवास्ता गरेमा, श्रीमानसँग झगडा गरेमा र यौन सम्पर्क गर्न इन्कार गरेमा श्रीमानले कुट्नु जायज हो भन्ने विश्वास गर्छन् ।’
मानिस स्वतन्त्र अस्तित्वको मानक हो । महिला होस् वा पुरुष वा अन्य लैंगिक समुदायका । उनीहरुले यस धर्तीमा जन्म लिएपछि सम्मानपूर्वक बाँच्न पाउने नैसर्गिक हक हुन्छ । तर, अझै पनि सामाजिक सोचाइ त्यसरी विकास भइसकेको छैन, जहाँ महिलाको स्वतन्त्र अस्तित्व स्वीकार गरियोस् ।
महिला स्वतन्त्रताको उपभोगमा अझै पनि संक्रमणकालीन यो समय राज्यले विभिन्न सन्धि सम्झौतामा गरेको हस्ताक्षरलाई बाध्यकारी ठानेर लैङ्गिक छुट्याइदिँदैमा हुँदैन । सबैभन्दा पहिला त त्यहाँ बस्ने मानिसले आआफ्नो मानसिकता परिवर्तन गर्नुपर्छ, जो लगानी गर्ने ठाउँमा छन् ।
उनीहरु छोरीहरुमाथि बौद्धिकता लगानी गर्न सक्छन्, जीवनस्तर उकास्न पूँजी लगानी गर्न सक्छन्, आर्थिक सशक्तीकरणको लागि सम्पत्तिमा बराबरी हक माग्न सक्नेगरी न्याय प्राप्तिको लागि चेतनामा लगानी गर्न सक्छन् । महिला जन्मदेखि कमजोर होइनन् । तर, हाम्रो हुर्काइ र सामाजिकीकरणको अवस्थाले कमजोर धरातल खडा गरिदिएको हो ।
त्यसलाई अन्त्य गर्न महिलामाथि परिवारका सदस्यदेखि राज्यका निर्णय तथा नीति निर्माणकर्तासम्मले धेरै पक्षबाट लगानी गर्न जरुरी छ । घर भान्छाको सत्तादेखि राज्यसत्तासम्मले बालिका तथा महिलामाथि सही समयमा लगानी गर्न सक्यो भने समानताको अर्को बलियो जग बन्नेछ । हामी सबै समानताको जगमा उभिएर समतामूलक समाज बनाउन सक्नेछौं ।